कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको बास गाउँमा

काशीराम डाँगी

रोल्पा — दुई गाउँपालिकाका कृषक समूह र सहकारीको निम्तोमा प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल एक साताअघि जिल्लाको रुन्टीगढी र त्रिवेणी पुगिन् ।

मन्त्रीको बास गाउँमा

गाउँपालिकाबाट छानिएका कृषक समूह र सहकारीले एकै दिन उनीसमक्ष दर्जनौं समस्या सुनाए । गुनासा सुनेपछि उनको दिन उद्घाटनमै सकियो ।


रुन्टीगढीको होलेरीबाट आएकी मन्त्री पौडेलले त्यसपछि त्रिवेणी, तिला र नन्दीखोलाका कृषक समूहसँग अन्तरक्रिया र भेटघाट गरिन् । जिल्लालाई कृषिमा नमुना बनाउन पहल थालेका प्रदेशका आन्तरिक मामिला र कानुनमन्त्री कुलप्रसाद केसीले निम्त्याएपछि कृषि मन्त्री पौडेलले स्थलगत भ्रमण गरेकी हुन् । मन्त्री केसीले पौडेललाई ‘बाटो देखाउँदै’ विगतको सशस्त्र द्वन्द्वको प्रभाव मेटाउन कृषि क्षेत्रको विकास गर्न आग्रह गरे ।


थकान मेट्न मन्त्रीद्वय गाउँमै बास बसे । रोल्पा नगरपालिका ६ नन्दीखोला गाउँस्थित कानुनमन्त्री केसीकै गाउँमा एक रात बिताए । कृषिमन्त्री पौडेल स्थानीय मानबहादुर केसीको घरमा बास बसिन् । कानुनमन्त्री केसी आफ्नै घरमा बसे । पौडेल बसेको घर कानुनमन्त्री केसीका काँइला दाइको हो । दुवैको सुरक्षाका लागि रातभर नेपाल र सशस्त्र प्रहरी खटिएको थिए । उनीहरूका लागि आइती केसीले खाना पकाइदिएकी थिइन् ।


‘मन्त्रीका लागि सागको तरकारी र चामल पकाइयो,’ उनले भनिन्, ‘मन्त्री पौडेल शाकाहारी भएकाले त्यसै प्रकारको खानाको व्यवस्था मिलाइएको थियो ।’ पहाडमा मावलीघर भए पनि नेपालगन्जमा हुर्केकी पौडेल सहयोगी पूर्वमहिला लडाकु गोमा खनालका साथ गाउँकै घरमा सुतिन् ।


गाउँले गुनासा राख्न जुटेका थिए । उनीहरूले कृषिको विकास गर्न, उद्योग स्थापना गर्न, सहकारीको विकास गर्न र मकैको बीउ उत्पादनमा पकेट क्षेत्र बनाइदिन आग्रह गरेको स्थानीय अर्जुन डाँगीले बताए ।


मन्त्री भेट्न पुगेका पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य गोकुल घर्तीले गाउँको घरमै बास बसेकोमा मन्त्रीलाई धन्यवाद दिए । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले पनि तडकभडक नगरी मन्त्री गाउँमै बास्दा खुसी लागेको बताए ।

प्रकाशित : मंसिर १, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?