कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव ओसारपसारमा चोर नाका

नवीन पौडेल

परासी — ठूला नाकामा कडाइपछि मानव ओसारपसारमा संलग्नले छोटी भन्सार र चोर बाटो प्रयोग गर्न थालेका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित सुनिता गुरुङको घरबाट प्रहरीले विहिबार तीन महिलाको उद्धार गरेपछि यस्तो तथ्य खुलेको हो ।

रुपन्देहीको बेलहिया नाकामा बढी सोधपुछ र निगरानीपछि गुरुङले महिलालाई आफ्नै घरमा राखेर उपयुक्त समयमा भारत लैजाने तयारी गरेको अनुसन्धानबाट खुलेको छ ।


गुरुङको घरमा सिन्धुपाल्चोक र बाँकेका तीन युवती १० दिन देखी बसिरहेका थिए । गुरुङको घर भारतीय सिमा नजिक छ । उद्धार गरिएका महिलाले पक्लिहवा नाकाबाट भारत पुर्‍याएर कुवेत पठाउने भन्दै आफुहरूलाई त्यहाँ राखेको प्रहरी समक्ष बताएका छन् । जिल्लास्थित छोटी भन्सार र खुला नाकामा रहेका सुरक्षाकर्मीलाई छलेर चेली भारत पुर्‍याउन थालिएको छ ।


यसअघि पनि पक्राउ परेकी गुरुङले महिला ल्याउने र १०/१५ दिन राखेर भारत पठाउने गरेपछि गाउँलेले उनलाई निगरानीमा राखेका थिए । धेरै दिनसम्म यस्तो क्रम चलेपछि गाउँलेको सुराकीको आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद भट्टले घरमा ल्याएर राख्ने अनि भारत हुँदै कुवेत तथा खाडी मुलुकमा पठाउने आश्वासन दिएर नाका पार गराउने सुचनाका आधारमा पक्राउ गरिएको बताए । ‘सुरक्षाकर्मीको आँखा छलेर चोरबाटो हुँदै नेपालीचेली भारत पुर्‍याईने रहेछ,’ उनले भने, ‘कुबेत पठाउन भनेर ल्याईएका महिलासँग पासपोर्ट र भिसा केही छैन ।’ मानव बेचविखनको शैली फेरिएपछि संलग्नलाई कारवाहीको दायरामा ल्याउन चुनौती थपिएको उनले बताए ।


खुल्ला सिमानाले भारतीय बजारमा सामान किनमेल, जागिर र अन्य ब्यापार व्यवसायको बहाना बनाउँदै नेपाली चेली भारत लैजानेक्रम बढो छ । प्रहरी र मानव बेचविखन विरुद्ध काम गर्दै आएका संस्थाले सोधपुछ गर्दा जागिर तथा व्यापारका लागि जाने भन्दै प्रहरीलाई नै झुटो बयान दिँदा दोषि उम्किने गरेका छन् ।


माईती नेपाल जिल्ला संयोजक माया केसीका अनुसार जनचेतना बढेको भएपनि प्रलोभनको कारण नेपाली चेली भारतमा पुर्‍याउने क्रम रोकिएको छैन । ‘पहिले जस्तो यौनकर्मीको रुपमा लैजाने अवस्था नभएपनि आर्कषक जागिर र भारतबाट अन्य तेस्रो मुलुक जाने आश्वासन दिएर दलालले भारत लैजानेक्रम उस्तै छ,’ उनले भनिन्, ‘सुचना र संचारको माध्यमबाट सुरक्षाकर्मी र माईती नेपालका कर्मचारीलाई समेत झुक्याउने गरिन्छ ।

प्रकाशित : मंसिर १, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?