कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शान्ति र करुणाका लागि त्रिपिटक’

बुद्ध जन्मस्थलमा ग्रन्थ पाठ भएको पहिलो पटक हो
मनोज पौडेल

लुम्बिनी — विभिन्न मुलुकको सहभागीतामा बुद्धजन्मस्थल लुम्बिनीमा पहिलो पटक आयोजत अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (बौद्ध धर्मग्रन्थ पाठ) शुक्रबार सकिएको छ । शान्ति, करुणा र सद्भावको वातावरण कायम गर्नका लागि यस्तो पाठ आयोजना गरिएको थियो ।

‘शान्ति र करुणाका लागि त्रिपिटक’

बुद्ध जन्मस्थलमा ग्रन्थ पाठ भएको पहिलो पटक हो । यसले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने आयोजकको विश्वास छ । मायादेवी मन्दिर उत्तर छेउमा भिक्षु/भिक्षुणीले सामूहिक पाठ गरेका थिए ।


‘पाठ गर्दा आत्मजागरण भयो,’ जापानका भिक्षु सात्वो तत्सुमाले भने, ‘जसरी पोखरीमा एउटा ढुङ्गा हान्दा त्यसको छाल परपरसम्म पुग्छ, त्यस्तै भयो ।’ जन्मस्थलमा पवित्र ग्रन्थ वाचन गर्ने अवसरबारे नचिताएको बताए । ‘यो अवसरले उत्साहित बनायो, उनले भने ।’ यसले लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश पुर्‍याउने बताए ।


यहाँ अपराह्न विषेश समारोह गरेर पाठको अन्त्य गरियो । पाठ गर्न आएका सबै भिक्षु/भिक्षुणीले बत्ती बालेर मायादेवी मन्दिर परिक्रमा गरेका थिए । साँझ मन्दिरमा दीप प्रज्वलन गरिएको थियो । नजिकैको पुष्करणी पोखरीमा पनि सबै भिक्षु/भिक्षुणीले बत्ती बालेका थिए । बत्ती बालिएपछि मन्दिर धपक्क बलेको थियो । बुद्धम् शरणम् गच्छामीको नाराले मन्दिर गुञ्जायमान भयो ।


उत्साह र उमंगसाथ पाठ गर्न आएका भिक्षु/भिक्षुणीले बत्तीको प्रकाशजस्तै बुद्धको सन्देश फैलिएर मानव कल्याण हुनेमा विश्वस्त रहेको बताए । पवित्र त्रिपिटकलाई नमन गर्दै जन्मस्थलमा वाचन गर्न पाउनु गौरबको कुरा भएको भिक्षु महासंघका पूर्वअध्यक्ष बोधीसेनले बताए । विभिन्न १८ मुलुकका भिक्षु एकै ठाउँमा भेला भएर गरिएको पाठले लुम्बिनीबारे धेरै ठाउँमा जानकारी पुगेर बुद्ध दर्शनले अझ व्यापकता पाउँदा हामी गौरवान्वित भएको उनले बताए ।

नेपाल, थाइल्यान्ड, म्यान्मार र श्रीलंकाका भिक्षुले नेतृत्व गर्दै पाठ गरेका थिए । चीन, जापान र भियतनाम र कम्बोडिया भिक्षु पाठ गरेका थिए । कोरिया, क्यानाडा, अस्ट्ेरलया र हिमाली बौद्ध भिक्षुले पाठको नेतृत्व गरेका थिए । प्रत्येक दिन बिहान ८ देखि ४ बजेसम्म पाठ हुन्थ्यो । साँझ ४ देखि ६ बजेसम्म बौद्ध विद्वान्, संघनायक र रिम्पोछेले पाठका सहभागीलाई धर्मदेशना गर्ने गरेका थिए ।


‘लुम्बिनी फोटो मात्र खिचाउने ठाउँ होइन’ भिक्षु महासंघ अध्यक्ष मैत्री महाअस्थविरले भने, ‘पवित्रता र अध्यात्मिक ऊर्जा फैलाई शान्ति र भ्रातृत्वको सन्देश फैलाउने ठाउँ पनि भनेर चारैतिर सन्देश गयो ।’ त्रिपिटक बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण हुन्छ । त्यसमाथि लुम्बिनीमा गर्न लागेको पाठको विषेश महत्त्व रह्यो ।


यहाँ बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको वेस्सन्तर जातक सूत्र पाठ गरिएको थियो । त्यस्तै शाक्य र कोलीयबीच युद्ध हुन लाग्दा कपिलवस्तुमा देशना गर्नुभएको महासमय सुत्त पाठ गरियो । यहाँ पाठ गरिने सुत्त थाई, देवनागरी र अंग्रेजी लिपिका पुस्तकमा समेत प्रकाशित गरी वितरण गरिएको थियो ।


‘१५ वर्षअघि अमेरिबाट सुरु भएको त्रिपिटक पाठ अहिले बल्ल आएर बुद्धकै जन्मस्थलमा गर्न पाउँदा निकै खुसी भएको अमेरिकी बौद्ध एसोसियसन अध्यक्ष वाङबो डिक्सेले बताइन् । ‘बुद्धकै कारण नेपाल र नेपालीको विश्व ऋणी बनेको छ,’ उनले भनिन्, ‘मानव जातिलाई बुद्धले प्रदान गर्नुभएको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि नेपालको जति प्रशंसा गरे पनि कम हुन्छ ।’ ‘पवित्र ग्रन्थ पाठ हुनु गौरव र खुसीको कुरा हो’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले भने, ‘च्यान्टिङलाई अब प्रत्येक वर्ष यहाँ आयोजना गर्नुपर्छ ।’


यसलाई शान्ति र अध्यात्मिकतातिर पनि जोडेर शान्तिप्रेमी पर्यटकको आकर्षण थप्नुपर्छ उनले भने । कार्यक्रममा १८ देशका ५ सय विदेशीसहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७ सय सहभागी थिए । बुधबारदेखि सुरु भएको पाठ शुक्रबार सम्पन्न भयो ।

प्रकाशित : मंसिर १, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?