कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिट्टी–बालुवा चोरी बढ्दो

प्यूठान — झिमरुक नदीबाट ढुंगा, गिट्टी र बालुवाको चोरी बढेको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का नखुलाएकाले चोरी बढेको हो । यसले लाखौं रुपैयाँ राजस्व गुमेको छ ।

गिट्टी–बालुवा चोरी बढ्दो

प्यूठान नगरपालिकाले प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आईई) पूरा गरेको छ । गत असोजमा यस्ता पदार्थ उत्खननका लागि ४० लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । निर्माण व्यवसायीले ठेक्का हालेनन् । ढिलाइले चोरी निकासी बढेको हो ।


नदीबाट आफूखुसी निर्माण सामग्री उठाएर पायक पर्ने स्थानमा डम्पिङ गरेर राखेका छन् । नगर कार्यपालिकाको बैठक नबसेकाले पुन: घटाएर ठेक्का निकाल्ने वा के गर्ने निर्णय गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर रायमाझीले बताए ।


टेन्डर नहुँदासम्मका लागि भनेर वडा कार्यालयहरूलाई रसिद दिएर कर उठाउन लगाइए पनि न्यून मात्र कर उठेको उनले बताए । उनले मंसिर १० गतेभित्र कार्यपालिकाको बैठक बोलाएर निर्णय गर्ने तयारी भएको बताए ।


नगरपालिकाको राजस्व शाखाका अनुसार ४ नम्बर वडाको क्षेत्रमा मात्र ५९ हजार रुपैयाँ कर संकलन भएको छ । त्यस्तो रकमको २५ प्रतिशत उठाउने व्यक्तिलाई नै दिने गरी रसिद दिन लगाइएको छ । प्रतिट्रयाक्टर २ सय रुपैयाँको रसिद काटिन्छ ।


नगरपालिकाका ११ वटा नाकाबाट जसले पायो त्यसले ढुंंगा, गिट्टी, बालुवा निकालिरहेका छन् । भरपर्दो अनुगमन संयन्त्र नबनाउँदा चोरी निकासी भइरहेको प्यूठान नगरपालिका ४ बिजुवारका केशव कार्कीले बताए । सित्तैमा लैजान पाएपछि कसैले पनि टेन्डर नहालेको एक कर्मचारीले बताए । ‘जहाँ पायो त्यहींबाट निकाल्न नदिने भएको भए ठेक्का पर्ने थियो,’ उनले भने, ‘जसले जे गरे पनि केही छैन । सित्तैमा

उठाउन पाए किन ठेक्का हालेर दाम तिरून् ?’


प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनका अनुसार झिमरुक नदी क्षेत्रका ९ स्थानबाट ६ लाख ४९ हजार ४ सय १० घनमिटर ढुंगा, गिट्टी, बालुवा वार्षिक निकाल्न सकिन्छ । साबिकको जिल्ला विकास समितिले तय गरेको मूल्य अनुसार न्यूनतम ४ करोड रुपैयाँ नगरपालिकाले बर्सेनि कर असुलउपर गरी आन्तरिक आय जम्मा गर्न सक्छ । तर, नगरपालिकाले हालसम्म २ लाख रुपैयाँ पनि कर संंकलन गर्न सकेको छैन ।

नगरपालिकाभित्रका निर्माणका काममा मात्र नभएर जिल्लाका अन्य स्थानीय तहहरूमा समेत नगरपालिकाबाटै निर्माण सामग्री गइरहेको छ । जिल्लामा दुई दर्जनभन्दा बढी मोटरबाटो ग्राबेल, २ वटा सडक कालोपत्रे, दर्जनाैं बहुवर्षीय योजनाअन्तर्गत कार्यालय भवनहरू निर्माण भइरहेका छन् । यस्तै हजारौंको संख्यामा निजी पक्की घर, सयौं विद्यालय भवनलगायत संरचना निर्माण भइरहेका छन् । यी भौतिक संरचना निर्माण गर्दा हजारौं घनमिटर निर्माण सामग्री खपत हुने नगरपालिकाका प्राविधिकहरू बताउँछन् ।


‘नगरपालिका क्षेत्रभित्रकै नाकाहरूबाट हिजोआज दैनिक सयाैं ट्रिप निर्माण सामग्री गइरहेको छ,’ भर्खरै नगरपालिकाबाट सरुवा भएर सडक डिभिजन कार्यालयमा गएका लेखा अधिकृत तुल्सीराम रिजालले भने, ‘तर, नगरपालिकाले कर उठाउन सकेको छैन ।’ उनले अहिले मात्र नभएर साबिकको जिल्ला विकास समिति हुँदादेखि नै प्यूठानमा ढुंगा, गिट्टी, बालुवाबाट व्यवस्थित कर ल्याउने कुरामा कमजोरी भइरहेको बताए ।


ढुंगा, गिट्टी, बालुवाको बोलपत्र आह्वान गर्दा कुनै पनि व्यक्ति वा फर्मले टेन्डर नहाल्दा समस्या भएको राजस्व शाखाका नायब सुब्बा रामकृष्ण शर्माले बताए । ‘सुरुमा एकमुष्ट ४० लाख रुपैयाँमा टेन्डर माग्यौं । कसैले पनि टेन्डर हालेनन्,’ उनले भने, ‘अब नाका छुट्याएर पुन: टेन्डर गर्ने तयारी भइरहेको छ ।’


नगरपालिका क्षेत्रको दम्ती, खपरेङखोला, मरन्ठाना, बाग्दुला, पूण्यखोला, बिजुवार, जुम्री, दाखाक्वाडीलगायत ११ नाकाबाट खोलाको निर्माण सामग्री ओसारपसार भइरहेको शर्माले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?