कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा जनशक्ति अभाव

१९ अस्पतालमा ४० प्रतिशत जनशक्ति अभाव छ । उपलब्ध जनशक्तिमा पनि विज्ञ कम छन् ।

बुटवल — प्रदेश ५ अन्तर्गतका दुई दर्जनभन्दा बढी अस्पतालमा जनशक्ति अभाव छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावित भएको छ । यहाँका १२ जिल्लाका २६ अस्पताल प्रदेश मातहत आएका छन् ।

तीमध्ये १९ अस्पतालमा ४० प्रतिशत जनशक्ति अभाव छ । उपलब्ध जनशक्तिमा पनि विज्ञ कम छन् ।सामाजिक विकास मन्त्रालयले यहाँ आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुखले तत्काल अस्पतालमा पदपूर्ति नगरिए सेवा र विश्वास थप घट्ने गुनासो गरे ।


यस्तो हुन नदिन संघले तत्काल कर्मचारी समायोजन गर्नुपर्ने र प्रदेशले वैकल्पिक कर्मचारीको व्यवस्थापन गर्न उनीहरूले सुझाव दिए । ‘अस्पतालमा जनशक्ति अभाव छ । भएकामध्ये पनि विज्ञको चरम अभाव छ,’ अस्पतालका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै राप्ती अञ्चल अस्पताल दाङका मेसु डा. सर्वेश शर्माले भने, ‘यसले सेवा प्रवाहमा निकै समस्या भएको छ ।’


अस्पतालका जनशक्तिलाई नियमित तालिम, सहजीकरण र प्रोत्साहन नगरिँदा कामको उल्लेख्य नतिजा दिन नसकेको उनले जनाए ।


आयुर्वेद अस्पतालका तर्फबाट बर्दिया अस्पतालका डा. आलोकले प्रतिवेदन प्रस्तुत गरे । आयुर्वेद अस्पतालप्रति बिरामीहरू आकर्षित भए पनि जनशक्ति र औषधि अभावले नतिजामुखी काम गर्न नसकेको उनले दुखेसो गरे । ‘अहिले विश्व नै रहनसहन परिवर्तन र आयुर्वेद पद्धतितिर लागेको छ,’ उनले भने, ‘तर, हाम्रा आयुर्वेद अस्पतालहरूलाई चिकित्सकविहीन बनाएर बिरामीलाई एलोपेथिकतिर जान बाध्य

बनाइएको छ ।’


अस्पतालमा बढेको जनशक्ति अभाव पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक कर्मचारी राख्ने तयारी थालेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञ चिकित्सकदेखि नर्ससम्मका प्राविधिक कर्मचारीलाई स्वयंसेवकका रूपमा राख्ने गृहकार्य थालेको जनाए । ‘विज्ञ र प्राविधिक जनशक्ति अभावमा सरकारी अस्पतालहरू रेफरल अस्पतालमा रूपान्तरण भएका छन्,’ मन्त्री बरालले भने, ‘यो हुन नदिन तत्काल स्वयंसेवक कर्मचारीको अवधारणा ल्याएका हौं ।’ दीर्घकालीन रूपमा प्रदेश लोकसेवा आयोग गठनपछि त्यसबाट पदपूर्ति गरिने उनले जनाए ।


संघले छात्रवृत्तिमा पढेका विद्यार्थी चिकित्सक सीधै अस्पतालमा पठाउनुको साटो अब प्रदेश मन्त्रालयमा पठाउने योजना बनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक गुणराज लोहनीले तिनलाई अब प्रदेश सरकारले अभाव भएका ठाउँमा खटाउने बताए ।


छात्रवृत्तिमार्फत वार्षिक करिब २ सय ५० चिकित्सक विद्यार्थी आउने गरेका छन् । प्रदेशमातहत ३ अञ्चल, ११ जिल्ला, १ सरकारी अस्पताल र ११ आयुर्वेद अस्पताल छन् ।

प्रकाशित : मंसिर ४, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?