३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

नेपालगन्जमा न्यायका लागि धर्ना

नेपालगन्ज — कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै नेपालगन्जका अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

नेपालगन्जमा न्यायका लागि धर्ना

सरकारले हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै सोमबार दिउँसो १२ देखि १ बजेसम्म दबाब दिन धर्ना दिएका हुन् ।


लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारकर्मीहरू प्रशासन पुगेका थिए । महिला मानव अधिकार रक्षक सञ्जाल, किशोरी सञ्जाल, अन्तरधार्मिक सञ्जाल र युवा महिला सञ्जालले सामूहिक रूपमै धर्ना कार्यक्रम गरेका हुन् ।


धर्नापछिको कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जाल बाँकेकी अध्यक्ष अक्षरी पोखरेलले सरकारले नै निर्मलाको हत्यारालाई जोगाउन खोजेको आरोप लगाइन् । उनले महिनौं बितिसक्दा पनि हत्याराको खोजी हुन नसक्नु राज्यकै कमजोरी भएको बताइन् ।


‘सरकारले चाहे जस्तोसुकै अपराधीलाई पनि खोज्न सक्छ तर निर्मलाको हकमा भने सरकार मौन छ,’ उनले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘यसले सरकारको नियत प्रस्ट हुन्छ ।’ निर्मलाको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा यसअघि पनि प्रदर्शन भएको थियो । तर, केही दिनको प्रदर्शनपछि न्याय अभियान रोकिएको थियो । १६ दिने लैंगिक हिंसाविरुद्धको सन्दर्भमा अभियानले निरन्तरता पाएको छ ।


धर्नापछि महिला अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निर्मला पन्तको बलात्कारपछि हत्या गरेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।


त्यस्तै, महिलामाथि हुने हिंसा रोक्न सरकारले प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका छन् । महिला हिंसा नियन्त्रणका लागि बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महिला अधिकारकर्मीहरूले उठाएका माग सम्बोधनका लागि सरकारलाई पठाउने प्रतिबद्धता जनाए । महिलामाथि हुने हिंसा रोक्न सबै पक्ष एकजुट भएर लाग्न उनले सुझाव दिए ।

प्रकाशित : मंसिर ११, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?