कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक संस्कार नबदलिँदा महिला हिंसा : सभामुख महरा

दुर्गालाल केसी

दाङ — संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सामाजिक संस्कार परिवर्तन हुन नसक्दा महिला हिंसा हुने गरेको बताएका छन् ।

सामाजिक संस्कार नबदलिँदा महिला हिंसा : सभामुख महरा

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिहीबार घोराहीमा गरेको ‘लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तर्क्रियामा बोल्दै उनले समाजमा रुढिवादी सोच र विश्वासहरु अझै पनि कायम भएकाले हिंसा भइरहेको बताए ।


‘मानिसहरुमा अझै पनि विभिन्न विभेद्पूर्ण संस्कार र परम्पराप्रति विश्वास छ । समाज यस्ता सोचबाट माथि उठ्न नसक्दा महिलामाथि विभेद र हिंसा भएको छ,’ उनले भने, ‘यस्ता गलत प्रचलन हटाउन सामाजिक चेतनाको जरुरी छ । सामाजिक जागरण फैलाउन आवश्यक छ ।’


महिला हिंसाविरुद्ध कडा कारबाहीका कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयनमा समस्या भइरहेको उनले बताए । ‘नीति नियमहरु राम्रा बनेका छन् । त्यसको कार्यान्वयन गर्न सकेमा महिला हिंसा न्यूनिकरणमा धेरै मद्दत पुग्छ,’ उनले भने,‘प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको छ । हिंसाका दोषीलाई कारवाही गर्न सबैले सहयोग गर्नुपर्छ ।’


महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरुको सहभागितामा अन्तर्क्रिया आयोजना गरिएको बताइन् । प्रदेशका विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख कार्यक्रममा उपस्थित भएका छन् । दुई दिनसम्म महिला हिंसाबारे छलफल गरी न्यूनिकरणको कार्ययोजना तयार गरिने उनले जानकारी दिइन् ।


कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले महिला हिंसा न्यूनिकरणका लागि समाजका सबै सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रकाशित : मंसिर २०, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?