कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतमा आगो लगाउँदा प्रदूषण

कृषि विशेषज्ञ कार्यरत अनुसन्धान कार्यालयद्वारा नै वर्षमा दुईपटक खेतमा आगो
माधव ढुंगाना

भैरहवा — खेतमा धान र गहुँ काटेपछि त्यसको पराल र ठुटा जलाउँदा माटोको उर्वरा शक्ति घट्छ । किसानलाई बारम्बार यही कुरा सिकाउने प्राविधिकले नै खेतमा बारम्बार आगो लगाउने गरेका छन् ।

किसानलाई पर्यावरण र उत्पादकत्वका बारेमा शिक्षा दिने राष्ट्रिय गँहु बाली अनुसन्धान कार्यक्रमले नै कार्यालय परिसरको खेतमा धानको पराल र गँहुको छाली जलाउँदै आएको छ । त्यसले स्थानीय बस्तीमा वातावरणीय प्रदूषणसमेत बढाएको छ । खेतछेउका बस्ती धूवाँको कालो मुस्लोमा बस्न बाध्य छन् ।


वातावरण संरक्षण ऐनले सार्वजनिक तथा खुला स्थानमा कुनै पनि चिज जलाएर प्रदूषण फैलाउन रोक लगाएको छ । दर्जनभन्दा बढी कृषि विशेषज्ञ कार्यरत अनुसन्धान कार्यालयले आफ्नो स्वामित्वमा रहेको ५२ बिघा खेतमा धान र गहुँ काटेपछि वर्षको दुईपटक मजदुर खोजेर खेतमा पराल जलाउने गर्छ ।


कार्यालय परिसर र कर्मचारी आवास क्षेत्रबाहेक उक्त क्षेत्रफलको पूरै खेतमा धान र गँहु लगाइन्छ । ‘अनुसन्धान कार्यक्रमले खेतमा पराल जलाउँदा वरिपरिको बस्तीमा धूवाँले स्वास्थ्यमा असर गर्ने गरेको छ,’ केन्द्र नजिकै बसोवास गर्ने सिद्धार्थनगर नगरपालिका ९ की मीना कार्कीले भनिन्, ‘जलेको कालो खरानी हावाले उडाएर घरभित्र आउने गर्छ ।’ उनका अनुसार धूवाँले खोकी र श्वास प्रश्वासमा समस्या देखिन थालेको छ ।


खेत मलिलो हुने विश्वासले तराईमा धान र गहँु काटेपछि थुपारिएको पराल र ठुटा जलाउने चलन छ । गँहु काटेपछि खेतमा थुपारिएको छाली जलाउने बेला गर्मीयामको समय हुने र उक्त बेलामा तराईमा चल्ने तातो हावासँगै धूवाँ चारैतिर मडारिँदा वातावरणसमेत प्रदूषित बन्छ । बस्तीमा आगलागीको जोखिम पनि उत्तिकै हुन्छ । गड्यौलालगायत माटोमा रहेका लाभदायक जैविक पदार्थ जलेर नष्ट हुने गर्छन् ।


कृषि विकास निर्देशनालय भैरहवाका वरिष्ठ वागवानी अधिकृत दीपक भट्टराईले खेतमा पराल वा छाली जलाउनु पर्यावरण र माटोको उत्पादकत्वको हिसाबले अति हानिकारक हुने बताए । उनका अनुसार धान र गहुँका ठुटा खेतमा राख्दा वा जोतेर माटोमा मिलाइदिँदा कुहिएर मलिलो हुन्छ ।


माटोमा कार्बनको मात्रा जति धेरै रह्यो, उति राम्रो हुन्छ । जलाउँदा माटोको कार्बन उडेर जाने उनले बताए । ‘जलाउँदा राम्रो चिज पनि कार्बनडाइ अक्साइड बनेर आकाशमा जाने हुँदा वातावरण प्रदूषित भई जलवायु परिवर्तन हुन्छ,’ उनले भने, ‘अहिले धान र गहुँका ठुटालाई जलाउनुको सट्टा जोतेर माटोमा मिलाएर खेती गर्ने जिरोटिलेज प्रविधि आएको छ ।’


वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले नेपालको तराई र सीमावर्ती भारतमा समेत किसानले खेतमा पराल र ठुटा जलाउने व्यापक प्रचलनले गर्दा नेपालको तराईको वातावरण प्रदूषित बन्दै गइरहेको र त्यसको असर विस्तारै राजधानीमा समेत परिरहेको बताए । ‘यसरी खुला रूपमा जलाइँदा प्रदूषकले क्षतिूर्ति तिर्नुपर्छ भन्ने कानुनमा भए पनि कार्यविधि नबनेकाले कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले बताए ।


राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्यायले खेतमा रहेको पराल र छाली जलाउँदा वातावरण प्रदूषित र खेत रुखो हुने भए पनि बटुलेर व्यवस्थापन गर्न जनशक्तिको अभाव भएकाले बाध्य भएर जलाउनु परेको बताए । ‘जनशक्ति नपाइएको र सित्तैंमा दिँदा पनि नलगेकाले जलाउनु परेको हो,’ उनले भने, ‘अर्को पटकबाट नजलाई व्यस्थापन गर्छौं ।’


१० दिनमा ८ लाखको धान नष्ट

कपिलबस्तु – धान स्याहार्न कम्बाइन हारभेस्ट मेसिनको प्रयोगले यहाँका खेतमा आगलागीका घटना बढेका छन् । मेसिन प्रयोगले धान भित्र्याउन सजिलो भएको छ । लागत घटेको छ ।


उक्त मेसिनले धान काटेपछि खेतमा बचेका ठुटा र छाली नष्ट गर्न आगो लगाउने चलनले समस्या थपिएको हो । कात्तिक र मंसिरमा ठुटा जलाउँदा ८ लाखभन्दा बढीको धान जलेर नष्ट भएको छ । हावाले लप्का उडाउँदा आगलागी बढेको प्रहरीले जनाएको छ ।


जिल्लाका विभिन्न ५ ठाउँमा आगलागी हुँदा १० बिघाभन्दा बढी खेतमा भित्र्याउने तयारी भइरहेको धान बाली जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । खेतमा बचेको पराल जलाएपछि मल हुन्छ भन्ने धारणा स्थानीयको छ ।


शुद्धोदन गाउँपालिका–४ मुडफुटवामा १० कट्ठा, मायादेवी गाउँपालिका–४ सिमरहवामा ५ बिघा ९ कट्ठामा रहेको धानबाली जलेर नष्ट भएको हो । महाराजगन्ज नगरपालिका ९ मा धान खेतमा आगो लाग्दा ढेड बिघा, शुद्धोदन गाउँपालिका–३ असुरैनामा १ बिघा तथा कपिलवस्तु नगरपालिका–८ कचरिहवामा एक बिघा धान खेतमा आगो लागेर धानबाली नष्ट भएको थियो ।


कृषकले खेतलाई सफा राख्ने नाममा आगो लगाउँदा मित्रजीव नाश गरिरहेको कृषि प्राविधिक बताउँछन् । धान र गहुँ बाली काटेपछि कृषकले खेतमा आगो लगाउने गरेका छन् । आगोले खेतमा रहेका गँडयौलालगायतका मित्रजीव नासिने गरेका छन् ।


जिल्लामा अन्नबाली स्याहार्न प्रविधिको प्रयोग बढेको छ तर सही प्रयोग नहुँदा नोक्सानी पनि उत्तिकै छ । खेतमा आगो लगाउँदा माटोको उर्वराशक्ति नाश हुने कृषि ज्ञान केन्द्रका प्रमुख सहसराम कुर्मीले बताए । ‘उर्वराशक्ति घट्दा उत्पादन पनि कम हुन्छ,’ उनले भने, ‘किसानलाई बुझाउन नसक्दा समस्या भइरहेको छ ।’


आगोले खेतमा रहेका मित्रजीव, घाँसपात र हरियाली जलेर नष्ट हुँदा माटोलाई चाहिने पोषक तत्त्वसमेतलाई नोक्सानी हुने गरेको उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?