कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको तलब सामाजिक काममा

ठाकुरसिंह थारू

नेपालगन्ज — मुलुकभर जनप्रतिनिधिले महँगा गाडी र व्यक्तिगत सुविधाभोगमा मात्र ध्यान दिएको गुनासो बढिरहेको छ । स्थानीय तहमा महँगा गाडी खरिद गर्ने लहर चलेकाले पनि त्यस्तो आरोप लागेको हो ।

मेयरको तलब सामाजिक काममा

यहाँको पुरानो र ठूलो नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा भने मासिक पारिश्रमिक र भत्ता बुझ्दैनन् । त्यस्तो पारिश्रमिक सामाजिक काममा खर्च गर्दै आएका छन् ।


यसै क्रममा सोमबार उनले आफ्नो पारिश्रमिक र भत्ताबापत प्राप्त ५० हजार रुपैयाँ अनाथालय गौसिया माध्यमिक विद्यालयलाई उपलब्ध गराएका छन् । उक्त विद्यालयमा मुस्लिम समुदायका अनाथ बालबालिका अध्ययनरत छन् । शुक्रबार उनले सन्त निरंकारी सत्संग मण्डल नेपालगन्जलाई ५० हजार सहयोग गरेका थिए ।


‘राज्यबाट प्राप्त तलब/भत्ता कहिल्यै पनि व्यक्तिगत प्रयोजनमा लगाउने छैन,’ उनले भने, ‘त्यसैले आफूले पाउने पाश्रिमिक सामाजिक कार्यका लागि दिने गरेको छु ।’ खजुरा गाउँपालिका–४ डी गाउँकी प्रतिमा शर्मालाई एमबीबीएस पढ्नका लागि ५० हजार सहयोग गरे ।


शर्माले सरकारी कोटामा महिलाका तर्फबाट एक नम्बरमा नाम निकालेकी थिइन् । आर्थिक अभावका कारण उनी नामसमेत लेखाउन सक्ने अवस्थामा थिइनन् । उनकी आमा पानी कम्पनीमा काम गर्छिन् । बुबा अशक्त छन् । पारिवारिक अवस्था कमजोर देखेपछि मेयर राणाले तलबभत्ताको रकम सहयोग गरेको बताए ।


‘अत्यन्तै गरिबी र विपन्न परिवारबाट सरकारी स्कुलमा अध्ययन गरी एमबीबीएस पढाइका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल खजुराकी प्रतिमालाई सहयोग गर्न पाउनु सुखद कुरा हो,’ उनले भने, ‘उनकै निवासमा गएर सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु । सहयोग रकमले उनको पढाइमा सहयोग पुग्ने विश्वास लिएको छु ।’


नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्र, बाल्मीकि सेवा समाजलाई मन्दिर निर्माणका लागि र ब्रह्मकुमारी विश्वास विद्यालयलाई ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मेयर राणाको सचिवालयका अनुसार उनले अहिलेसम्म आधा दर्जन सामाजिक संघसंस्थालाई तलबभत्ताको रकम सहयोग गरिसकेका छन् । तलबभत्ता गरी उनको मासिक पारिश्रमिक ५० हजार रुपैयाँ हुने गरेको छ ।


स्थानीय तहको निर्वाचनकै समयमा उनले आफूले सरकारले दिने पारिश्रमिक सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । ‘उहाँले पाउने पारिश्रमिक रकम सामाजिक कार्यमै खर्च गरिने योजना छ । त्यसका लागि प्राथमिकता क्रम ताकेका छौं,’ मेयर राणाको सचिवालयका विकास गौतमले भने, ‘कुन स्थानमा रकम सहयोग गर्ने हो, त्यसका लागि तत्कालीन आवश्यकतालाई मापदण्ड बनाएका छौं ।’


राणा तत्कालीन नेपालगन्ज नगरपालिकाका पनि मेयर भएका थिए । उनले त्यसबेला पनि पाएको पाश्रिमिक सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । त्यतिबेला भेरी अञ्चल अस्पतालको इमरजेन्सी कक्षअगाडि खानेपानीको व्यवस्था मिलाएका थिए ।


राजनीतिमा लागेयता सरकारबाट पाउने पारिश्रमिक र भत्ता सामाजिक कार्यमा खर्च गरी राणाले लोकप्रियता कमाएका छन् । उनलाई नेपालगन्जवासीले विकासप्रेमी नेताका रूपमा लिने गरेका छन् ।

प्रकाशित : मंसिर २५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?