कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नियत नफेरिँदा लैंगिक हिंसा’

अमृता अनमोल

बुटवल — लामो समयदेखि विभिन्न क्षेत्रमा क्रियाशील महिला नेतृले नीतिभन्दा नियत बदल्न नसक्दा लैंगिक हिंसा बढेको बताएका छन्।

जानीजानी हिंसा गर्ने र जानेको कुुरा व्यवहारमा लागू नगर्दा हिंसाका घटना बढेको उनीहरूले बताए । नियत र व्यवहार बदल्ने अभियान थाल्नुपर्ने उनीहरूको सुझाव छ ।


महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार यहाँ आयोजित ‘लैंगिक हिंसा र कारण’ विषयक अन्तर्कियाका सहभागीले अगुवा व्यक्ति नै यस्ता घटनामा संलग्न हुने र महिलाको अस्तित्व नस्वीकार्ने समस्या रहेको बताए ।


विद्यालयको पाठ्यक्रममा लैंगिक हिंसा कसरी हुन्छ भन्ने समेटिनु पर्ने उनीहरूले बताए । नेकपाकी केन्द्रीय सदस्य राधा ज्ञवालीले मूल नीति राजनीतिमा समेत महिलामाथि विभेद रहेको र त्यसले हिंसा जन्माएको बताइन् । योगदान र हैसियतमा समान रहेका महिला र पुरुषमध्ये अवसर पुरुष नेताले पाएको उनले बताइन् । यस्तो परिपाटीविरुद्ध चनाखो हुन र बोल्न उनले आग्रह गरिन् ।


‘पितृसत्ता, कुरीति र कुसंस्कार लैंगिक विभेदको मूल जरो हो । यसले व्यक्ति, घरपरिवार, समाज, दल र राज्यलाई प्रभावित गरेको छ,’ उनले भनिन्, ‘लैंगिक समानताका लागि यी संस्कारलाई बदल्नुपर्छ ।’ लैंगिक विभेदको व्यवहार बदल्न महिला एक्लै होइन, महिला–पुरुष सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने उनले सुझाव दिइन् ।


घटनाभन्दा त्यसको कारण खोजेर समाधान गर्नपट्टि लाग्न अगुवाले आग्रह गरे । महिला हिंसाको कारण खोजे समाधान भेटिने भएकाले त्यसमा केन्द्रित हुन सुझाव दिए । प्रदेश सभा सदस्य थानकुमारी थापाले पछिल्लो समय घटना धेरै सार्वजनिक भइरहेको बताइन् ।


घटना सार्वजनिक गर्ने क्रमलाई बढाउन र महिलाका कुरा महिलाका लागि मात्रै होइन, महिला–पुरुष दुवैका हुन् भन्ने संस्कार सिकाउन उनले सुझाव दिइन् । यसले महिला हिंसा रोक्न र सहअस्तित्व कायम राख्न सकिने उनले बताइन् । ‘अब आफ्नो कस्तो व्यवहारले महिला हिंसा भएको छ भन्ने कुरा पुरुषलाई बुझाउनुपर्छ,’ उनले भनिन्, ‘महिला हिंसा रोक्न पुरुषले के गर्नुपर्छ भन्ने सिकाउन र सिकेकालाई पनि व्यवहारमा ढाल्न प्रतिबद्ध पारिनुपर्छ ।’


लैंगिकमैत्री भाषा प्रयोग नहुँदा पनि कतिपय स्थानमा महिला लज्जित र अपमानित हुनुपरेको उनीहरूले गुनासो गरे । यसका लागि सबैभन्दा पहिले सरकारी कार्यालय र विद्यालयमा लैंगिकमैत्री शब्दको प्रयोग सिकाउनुपर्ने उनीहरूले बताए । नेकपा प्रदेश सदस्य सावित्रा अर्यालले लैंगिकमैत्री बोली र व्यवहार सिकाउन स्थानीय, प्रदेश र केन्द्र ३ तहकै सरकारले कार्यक्रम ल्याउनुपर्ने बताइन् ।


‘लैगिक हिंसा रोक्न सबैभन्दा पहिले दलका नेता र सरकार सञ्चालकले पितृसत्तात्मक सोचलाइ त्याग्नुपर्छ,’ उनले भनिन्, ‘यसपछि मात्रै नागरिकमाझ महिला–पुरुषबीच लैंगिक समविकास र साझेदारीका कार्यक्रम

सञ्चालन गर्नुपर्छ ।’

प्रकाशित : मंसिर २५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?