कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिचयपत्र नहुँदा गुम्यो अवसर

मुक्त कमलरी
सरकारले ०७० असार १३ गते देशलाई कमलरीमुक्त घोषणा गरे पनि विभिन्न समस्याका कारण अहिले पनि पश्चिम तराईमा ७८ बालिकाले कमलरी जीवन बिताइरहेका छन् 
दुर्गालाल केसी

दाङ — परिचयपत्र नहुँदा मुक्त कमलरीको जीवन कठिन हुँदै गएको छ । परिचयपत्र नभएका कारण उनीहरूले कमलरीबापत पाउनुपर्ने कुनै पनि सेवा सुविधा पाउन सकेका छैनन् ।

परिचयपत्र नहुँदा गुम्यो अवसर

शिक्षाका लागि छात्रवृत्ति, जीवन उपयोगी सीप, आयआर्जनका तालिमजस्ता सुविधाबाट मुक्त कमलरी वञ्चित भइरहेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले बताइन् ।


‘पढ्नका लागि सरकारले दिएको मासिक छात्रवृत्ति पाउनसमेत कठिन भएको छ । अब कसरी विद्यालय जाने ?,’ उनले भनिन्, ‘कमलरी भएको प्रमाण नहुँदा कसैले पनि सेवा दिँदैन । सबैले परिचयपत्र खोज्छन् तर सरकारले दिँदैन ।’


उद्धार भएका १२ हजार ८ सय ६९ मुक्त कमलरीमध्ये हालसम्म दाङमा ७ सय ६५, बर्दियामा १ सय ५८, कञ्चनपुरमा १८ र बाँकेमा १ जना गरी ९ सय ४८ जनाले मात्रै परिचयपत्र पाएको उनले जानकारी दिइन् । ११ हजार ९ सय २१ मुक्त कमलरी परिचयपत्रकै अभावमा समस्यामा परेको उनले बताइन् ।


घरको दयनीय अवस्था र आर्थिक अवस्था कमजोर भएका कारण मुक्त कमलरी फेरि पनि मालिकका घरमा फर्कन थालेको चौधरीले बताइन् । स्रोतसाधन र सीपको अभावमा कतिपय मुक्त कमलरी जोखिमपूर्ण काममा लाग्न बाध्य भई श्रमशोषण र यौनशोषणमा परिरहेको उनले बताइन् ।


‘धेरै कमलरी मालिकको परिवारका सदस्यहरूबाट हिंसामा परेका छन् । फेरि कमलरी जीवन बिताउन बाध्य भइरहेका छन्,’ उनले भनिन्, ‘विद्यालयमा छात्रवृत्ति नपाउँदा पढाइ छोड्न थालेका छन् । पढाइ छाडेकाहरू अलपत्र परेका छन् ।’ अहिले पश्चिम तराईमा २ हजार ५ सय ८९ मुक्त कमलरी विभिन्न तहमा अध्ययनरत छन् ।


सरकारले ०७० असार १३ गते देशलाई कमलरीमुक्त घोषणा गरे पनि विभिन्न समस्याका कारण अहिले पनि पश्चिम तराईमा ७८ बालिकाले कमलरी जीवन बिताइरहेको चौधरीले जानकारी दिइन् । अझै कमलरी जाने क्रम जारी रहेको र यसको नतिजा डरलाग्दो हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरिन् ।


पश्चिम तराईका ६ कमलरी काम गरिरहेको घरबाटै बेपत्ता भएको र अहिलेसम्म केही पत्ता नलागेको उनले बताइन् । छात्रावासमा रहेका अभिभावक र घरविहीन मुक्त कमलरीलाई बसोबास र पठनपाठनको समस्या भएको उनले बताएकी छन् । सरकारले छात्रावासमा बस्न १० महिनाको मात्रै खर्च दिने भएकाले बाँकी दुई महिना कष्टकर अवस्था रहेको उनले बताइन् ।


कमलरीका यी सबै समस्या तत्काल समाधान नभए कमलरीमुक्त देश घोषणाको व्यावहारिक कार्यान्वयनमा समस्या आउने भन्दै मञ्चका तर्फबाट उनले मंगलबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएकी छन् ।


कमलरीको उद्धार गर्न सरकारी पक्षले चासो नदेखाउँदा र मुक्त कमलरीका लागि कुनै पनि तहका सरकारले कुनै नीति तथा कार्यक्रम तय नगर्दा कमलरीको समस्या बढ्दै गएको उनले बताइन् ।


प्रमुख जिल्ला अधिकारी रिजालले मुक्त कमलरीका माग जायज रहेको र जिल्लामा सम्बोधन गर्न सकिने विषयलाई तत्कालै अगाडि बढाइने बताए ।


उद्धार, पुन:स्थापना, परिचयपत्र वितरणजस्ता विषयलाई तत्काल सम्बोधन गरिने र नीतिगत विषयलाई सम्बन्धित सरोकारवालासमक्ष अनुरोध गरी पठाइने उनले जानकारी दिए । ‘कमलरीको तत्कालै उद्धारको काम थाल्छौं । परिचयपत्र वितरण गरी सेवासुविधा उपलब्ध गराउन पनि पहल गर्छौं,’ उनले भने, ‘कमलरीमुक्त देश घोषणा भइसकेको सन्दर्भमा यसको व्यावहारिक कार्यान्वयन गर्न हामी तत्पर छौं ।’

प्रकाशित : मंसिर २६, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?