कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शृंखलाबद्ध आक्रमणले सुरक्षा चिन्ता

काशीराम डाँगी

रोल्पा — यहाँ शृंखलाबद्ध व्यक्ति आक्रमणले सुरक्षा चिन्ता बढेको छ । दुई साताअघि मगर संघका केन्द्रीय सल्लाहकार नन्दबहादुर घर्तीमगरको दाङमा हत्या भयो ।

गत मंसिर १३ गते साँझ जिल्लाको माडीखोलास्थित पुलछेउ हतियार सहितका युवाले व्यवसायीमाथि खुकुरी प्रहार गरे । सदरमुकाम लिबाङस्थित आफ्नो होटल फर्किंदै गरेका व्यवसायीमाथि खुकुरी प्रहार भएको थियो । उक्त स्थान लिबाङदेखि आधा घण्टाको दूरीमा छ ।


जिल्लाका विभिन्न स्थानमा आक्रमण र हिंसाका घटना बढिरहेका छन् । जिल्ला सदरमुकाममा सुरक्षाकर्मीको उपस्थिति बाक्लो भए पनि आसपासका गाउँमा सुरक्षाको उचित व्यवस्था छैन । भित्री गाउँमा स्थानीयले सुरक्षा अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जलजला बहुमुखी क्याम्पसका सहायक प्रमुख गोकर्ण पुनले ग्रामीण भेगमा सर्वसाधारणले असुरक्षित महसुस गरिरहेको बताए ।


सदरमुकाममा सुरक्षा चासो र व्यवस्थाबारे बेला–बेला चर्चा भइरहे पनि गाउँको अवस्थाबारे चासो नदिइएको उनले बताए । सदरमुकाममा प्रहरीले सीसीटीभी मार्फत सुरक्षा निगरानी गरिरहेको छ ।


शान्ति प्रक्रियाअघि जिल्लाभर लुटपाट र चोरी डकैतीका घटना हुन्थेनन् । त्यसबेला फरक सुरक्षा चुनौती थियो । शान्ति प्रक्रियापछि व्यक्तिमाथि आक्रमण र लुटपाटका घटना वृद्धि भएको स्थानीयले बताए । सशस्त्र द्वन्द्वमा बेला ग्रामीण भेकमा तत्कालीन विद्रोही माओवादी कार्याकर्ताको चलहलपहल हुन्थ्यो ।


सदरमुकाम लगायतका बजार क्षेत्रका राज्यको उपस्थिति भएकाले चोरी र लुटपाटका घटना हुन्थेनन् । प्रहरीका अनुसार शान्ति प्रक्रियापछि सडक विस्तार भएकाले त्रास र लुटपाट वृद्धि भएको पाइएको छ । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जिल्लाभर मातहतका प्रहरी इकाईलाई सक्रिय पारिएको बताए । ‘प्रहरी सक्रिय भएकाले लुटपाट, चोरी र तस्करी कम भएको छ,’ उनले भने, ‘शान्ति प्रक्रियापछि अवैध सामानको चोरी निकासी समेत बढेको छ ।’ कुनै पनि घटना भएमा तत्कालै जिल्ला प्रहरीको टेलिफोन नम्बर १०० मा फोन गरी प्रहरीलाई खबर गर्न र सहयोग माग्न आग्रह समेत गरे ।


शान्ति प्रक्रियापछि जिल्लाका करिब तीन दर्जन स्थानमा प्रहरी इकाई विस्तार गरिएको छ । सदरमुकाम लिबाङसहित भित्री गाउँका प्रहरी इकाईबीच दैनिक रूपमा सञ्चार, सडक र सुरक्षा रणनीतिले सम्पर्कमै रहेको प्रहरीको भनाइ छ ।


जिल्लाका प्रहरी प्रमुख दीपक खड्काले आवश्यक परेका थप स्थानमा प्रहरी इकाई थपेर सुरक्षा कायम गर्न गम्भीर रहेको बताए । उनका अनुसार रोल्पा नगरपालिकाका दारबोट र परिवर्तन गाउँपालिकाको केन्द्र पुत्लाचौरमा थप इकाई स्थापना गर्ने तयारी भइरहेको छ ।


प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीका अनुसार जिल्ला सुरक्षा समिति मार्फत सबै क्षेत्रको सुरक्षा स्थितिबारे चासो दिइएको छ । ‘व्यवसायीमाथि खुकुरी प्रहार भएको घटनाबारे जानकारी पाएपछि सबै क्षेत्रमा प्रहरीलाई सचेत र सक्रिय रहन निर्देशन गरेको छु ।’ जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ एमसीले भने, ‘गाउँमा रहेका प्रहरी इकाईहरूमा त्यसबारे खबर पुगेको छ ।


सतर्कता अपनाउन र ‘प्रोएक्टिभ’ हुने निर्णय भएको छ ।’ नयाँ व्यवस्थाअनुसार हरेक स्थानीय तहका प्रमुखले आन्तरिक सुरक्षा व्यवस्थाको समेत नेतृत्व गर्न सक्ने प्रावधान छ । रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका छन् ।

प्रकाशित : मंसिर २७, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?