कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलब नपाएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित 

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अस्पताल विकास समिति अन्तर्गतका ६२ कर्मचारीले ६ महिनादेखि तलब नपाएपछि आन्दोलन थालेका छन् । 

तलब नपाएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित 

उनीहरुले आकस्मिक बाहेकका काम रोकेर बुधबारदेखि प्रतिष्ठानमा धर्ना दिइरहेका छन् । कर्मचारी आन्दोलित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । बिरामीहरु उपचार नपाएर फर्किरहेका छन् ।


राप्ती उपक्षेत्रीय अस्पताल हुँदा विकास समिति अन्तर्गत नियुक्त कर्मचारीले साउनदेखि तलब सुविधा पाउन नसकेको संघर्ष समितिका अध्यक्ष हिमराज गौतमले बताए । असोज १२ मा अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि कर्मचारी पनि प्रतिष्ठान मातहत आएका थिए । सरकारले अस्पताल विकास समिति खारेज गरेपछि असार यता कर्मचारीको म्याद थप भएको थिएन । अस्पताल प्रतिष्ठानमा गाभिएपछि कर्मचारी व्यवस्थापन झनै समस्या भएको छ ।


प्रतिष्ठानले समायोजन हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको थियो । सबै कर्मचारीले समायोजनका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै प्रक्रिया नथालिएको गौतमले बताए ।


पुराना कर्मचारीको व्यवस्थापन नगर्दै नयाँ कर्मचारी भर्ना थालिएको उनले बताए । अस्पतालमा ३० बर्षदेखि कार्यरत कर्मचारी रहेको र उनीहरुको पेशागत सुरक्षा र तलब सुविधामा प्रतिष्ठानले कुनै चासो नदिएको संघर्ष समिति सदस्य कमानसिंह पुनले बताए ।


अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीको म्याद असारयता नथपिएका कारण तलब खुवाउन समस्या भइरहेको प्रतिष्ठानकी उपकूलपति डा. संगिता भण्डारीले बताइन् ।

नियुक्तीपत्र बिना तलब खुवाउन समस्या भएको तर हाजिर गरेर नियमित काम गरिरहेका कर्मचारीलाई तलव खुवाउनुपर्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिरहेको उनले बताइन् ।

प्रकाशित : मंसिर २७, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?