कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउसी रकमले विद्यालय भवन निर्माण

हरि गौतम

रुकुमपूर्व — यहाँको एक विद्यालयले महोत्सव र देउसी–भैलोबाट संकलित रकमबाट विद्यालय भवन निर्माण गरेको छ । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविले ६ कोठाको पक्की भवन निर्माण गरेको हो ।

देउसी रकमले विद्यालय भवन निर्माण

भवन निर्माणका लागि ०७३ सालमा धार्मिक महोत्सव आयोजना गरेको थियो । ०७२ सालमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीले देउसी–भैलो खेलेर रकम संकलन गरेका थिए । संकलित रकमबाट भवन तयार भएको हो ।


कुल ४१ लाख रुपैयाँ लगानीमा भवन निर्माण भएको प्रधानाध्यापक कृष्ण गौतमले बताए । त्यसमध्ये ७ लाख रुपैयाँ देउसीेबाट संकलन भएको थियो । बाँकी रकम धार्मिक महोत्सवबाट संकलन भएको हो । भवन निर्माणको काम पूर्ण भइसकेको छ ।


झ्याल, ढोकासमेत जडान गरिसकेकाले रंगरोगनको काम मात्र बाँकी रहेको गौतमले बताए । त्यही रकमबाट रंगरोगनको काम सम्पन्न हुने उनले बताए । यो जिल्लाको सबैभन्दा पुरानो विद्यालय हो । अहिले ९ सय ३८ विद्यार्थीले अध्ययन गरिरहेका छन् । पुराना भवन जीर्ण बनेकाले नयाँ बनाइएको उनले जनाए । ‘हामीसँग विद्यार्थीको अनुपातमा भवन र कक्षाकोठा पुग्दो छैनन्,’ उनले भने, ‘संरचना पूरा गर्न विद्यालयको आन्तरिक स्रोत व्यवस्थापन गरेर भवन बनायौं ।’


नयाँ भवनमा आधारभूत तहका विद्यार्थीलाई पठनपाठन गराउने विद्यालयले जनाएको छ । तल्लो तलामा सबै कक्षा भएकाले अपांगमैत्री छ ।


साना विद्यार्थीलाई सजिलो होस् भनेर १ देखि ५ कक्षाको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले बताए ।


शैक्षिक सत्र ०७६ देखि नयाँ भवनमा कक्षा १–५ को पठनपाठन सुरु हुने उनले बताए । आफैंले केही गर्न सकिन्छ भन्ने उदाहरण विद्यालयले देखाएको छ । ‘कति ठाउँमा आग्रह गर्नु, बेला–बेला सहयोग भएकै हुन्छ, केही त हामीले गर्नुपर्छ भनेर आफैं भवन बनाइयो,’ उनले भने, ‘चाहेपछि गर्न सकिने रहेछ ।’


विद्यालयद्वारा एक वर्ष मात्र खेलिएको देउसीभैलोको रकम भवन निर्माण गर्न नपुग्ने भएपछि अर्को वर्ष धार्मिक महोत्सव गरिएको थियो । अभिभावक र गाउँलेको सहयोगमा देउसी–भैलोबाट अपेक्षाभन्दा बढी संकलन भएको धार्मिक महोत्सवमा त्योभन्दा धेरै सहयोग प्राप्त भए पनि स्थानीयकै सहयोगमा विद्यालय भवन बनेको अध्यक्ष समालले बताए ।


सरकारी नियकालाई नै नगुहारेर ६ कोठे पक्की भवन बनाइएको उनले बताए । देउसी–भैलोबाट संकलित सबै रकम विद्यालय भवनमा खर्च गरिए पनि धार्मिक महोत्सवबाट संकलन भएको अरू रकम विद्यालयको अन्य काममा लगाइएको विद्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?