कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जितगढीमा उजिरसिंहको सालिक

घनश्याम गौतम

रूपन्देही — तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्ला अब प्रदेश ५ को राष्ट्रिय धरोहरका रूपमा विकास गर्न थालिएको छ ।

जितगढीमा उजिरसिंहको सालिक

बुटवल उपमहानगरपालिकाले जितगढीमा उजिरसिंहको पूर्णकदको सालिक र नेपालकै ठूलो आकारको राष्ट्रिय झन्डा निर्माण गर्न सुरु गरेको छ ।


प्रदेश सरकार र उपमहानगरले छुट्टाछुट्टै योजना गराएर विकास सुरु गरेका छन् । उपमहानगरले गुरु योजना नै तयार गरेर काम अघि बढाएको छ । जितगढी किल्ला नेपाली फौजले अंग्रेजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल हो ।


नेपाली फौजले विजय प्राप्त गरेको इतिहास उजागर गर्दै प्रदेशकै मुख्य ऐतिहासिक धरोहरका रूपमा विकास गर्न उपमहानगरपालिकाले ९ फिट उचाइको तामाको पूर्णकदको सालिक र ९ फिट उचाइकै झन्डा निर्माण सुरु गरेको हो ।


अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो सालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको अर्को सालिक बन्नेछ । सालिकको नजिकै विशाल राष्ट्रिय झन्डा फरफराउने छ । दुवै संरचनाका लागि उपमहानगरले ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा हेभेन कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेर शुक्रबार नगरप्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।


‘जितगढी किल्ला राष्ट्रियताको प्रतीक र सिंगो प्रदेश एवं बुटवलको पहिचानका रूपमा विकास गर्न लागिएको छ,’ उनले भने, ‘यहाँको संरक्षण र संवद्र्धनका काममा स्थानीय समुदायले पनि अग्रसरता देखाउनु जरुरी छ ।’


दुवै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाले सम्झौता गरेको उनले बताए । सम्झौताअनुसार सालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५ दशमलव ७६ वर्ग मिटर उचाइको बेसमेन्ट बन्नेछ ।


झन्डा राख्न २५ वर्गमिटर उचाइको बेस बनाइने इन्जिनियर धर्मराज ढकालले बताए । नेपालको राष्ट्रिय झन्डा ४२ फिटको उचाइमा फहराउनेछ । सालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इँटाको आवरण झल्किने गरी बनाइने छ । झन्डाको माथिल्लो टावर स्टिलबाट र भुइँको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।


जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्त्व भएकाले यसको संरक्षण, संवद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख बजेट छट्टयाएर काम थालेको र यसपटक एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए ।


जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्त्विक स्थलका रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना नगरपालिकाको छ ।


वि.सं. १८७२ वैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन सुरु गरेको छ ।


अहिलेसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको सालिक र नेपालकै ठूलो राष्ट्रिय झन्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी एवं बुटललका अगुवा समाजसेवी रवीन्द्रगोपाल लाकौलले बताए ।


वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्रमा अतिक्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाउन थालिएको बताए ।

प्रकाशित : पुस १, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?