कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपीडितद्वारा रिले अनशन

बर्दिया — बाढीले पूर्ण क्षति पुर्‍याएका पीडितले ठाकुरबाबा नगरपालिकाको मूलद्वारमा पुन:स्थापनाको थप रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन सुरु गरेका छन् । 

बाढीपीडितद्वारा रिले अनशन

६ दिनदेखि रिले अनशनमा बसेका पीडितले आफ्ना माग पूरा नभए कार्यालय बन्द र यातायात ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । सरकारले पुन:स्थापनाका लागि विनियोजन गरेको बजेट गत आवमा निकासा नगर्दा ५ वर्षदेखि बाढीपीडितको पुन:स्थापना हुन सकेको छैन ।


०७१ साउन अन्तिम साता आएको बाढीले जिल्लाका ३ हजार ८ सय ५९ को पूर्ण र १३ हजार जनाको घरमा आंशिक क्षति पुर्‍याएको थियो । ठाकुरबाबा नगरपालिकामा मात्र बाढीले ५ सय ८९ जनाको घर पूर्ण क्षति भएको पीडितले बताए ।


बाढीपीडितमा सूचीकृत भएकालाई परिचयपत्र दिनुपर्ने, परिचयपत्रका आधारमा सहुलियत ब्याजमा ऋण दिनुपर्ने, अनुदानको रकम ३ लाख रुपैयाँ उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै रिले अनशनमा बसेको ठाकुरबाबा ४, बाउनपुरकी फूलमती थारूले बताइन् ।


बाढीले क्षति पुर्‍याए पनि जग्गा भएकालाई ३ लाख र जग्गा नै नभएकालाई ३ लाख ५० हजार रुपैयाँ अनुदान दिने सरकारी निर्णय कागजमै सीमित भएको बाढीपीडितको गुनासो छ । जग्गा खरिदका लागि करिब २ वर्षअघि प्रतिपरिवार ५० हजारका दरले पहिलो किस्ता उपलब्ध गराइएको थियो ।


दोस्रो किस्ता जग्गा खरिद गरेपछि २ लाख दिने भनिएको थियो । तेस्रो किस्ता घर निर्माण भएपछि ५० हजार रुपैयाँ उपलब्ध गराउने भनिए पनि बजेट अभाव देखाउँदै रकम उपलब्ध नगराएको भन्दै बाढीपीडित आन्दोलित भएका हुन् ।

प्रकाशित : पुस १, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?