कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ महिनाभित्रै ६ लेन सडक निर्माण

माधव ढुंगाना

भैरहवा — बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत भैरहवा–मणिग्राम खण्डको निर्माण ४ महिनाभित्र पूरा हुने भएको छ ।

बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत करिब १२ किलोमिटर दूरीको निर्माण चाँडो पूरा गर्न आयोजनाले आव ०७१/०७२ मा ४ वटा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदारको ढिलासुस्तीका कारण सम्झौता अवधिमा निर्माण सम्पन्न नहुँदा यस खण्डको यात्रा कष्टकर र जोखिमपूर्ण बनेको छ । धेरै यात्रुले दुर्घटनामा परेर ज्यान गुमाएका छन् । घाइते र अपांग पनि उत्तिकै छन् ।


धूलोले यात्रु र सडकदेखि २/३ किलोमिटर दायाँ–बायाँसम्मका स्थानीयले सास्ती खेप्नु परेको छ । मणिग्रामदेखि बुटवलको राजमार्ग चौराहा र भैरहवाको गोलिगढ चोकदेखि सीमावर्ती बेलहियाको बाइपास खण्ड करिब २ वर्षअघि नै निर्माण सम्पन्न भइसकेको छ ।


आयोजना प्रमुख जीवेन्द्र मिश्रले आउँदो फागुन र चैत महिनासम्ममा बाँकी सडक खण्डको निर्माण कार्य पूरा हुने बताए । ‘निर्माण सम्पन्न भएपछि बेलहियादेखि बुटवलसम्म पूरै ६ लेनकै सडक तयार हुनेछ,’ उनले भने, ‘सबैभन्दा अप्ठ्यारो र बढी समय लाग्ने काम सम्पन्न भइसकेको छ ।’ उनका अनुसार यस खण्डमा भौतिक प्रगति ८० प्रतिशत नाघेको छ ।


भैरहवा–मणिग्राम खण्डको ११ दशमलव ८ किमिको दूरीलाई ४ भागमा विभाजन गरेर ०७२ पुसमा ४ वटा ठेक्का सम्झौता गरिएको थियो । गत भदौसम्ममा सबै ठेक्का अनुरूपको निर्माण कार्य पूरा भइसक्नु पर्नेमा ठेकेदारले ‘काबु’ बाहिरको परिस्थिति देखाएर ७ महिनाको म्याद थप गराएका थिए । थपिएको म्याद अनुसार चैतसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । निर्धारित समयमा सम्पन्न गराउनेतर्फ प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप आयोजनामाथि लाग्दै आएको छ ।


भैरहवाको गोलीगढ चोकदेखि २ दशमलव ८ किमिका लागि ४३ करोड ६३ लाख रुपैयाँमा बिरुवा/श्रेष्ठ/एपेक्स जेभीले साउन १७ सम्म, लखनचोकदेखि ३ किमिका लागि ५४ करोड ६९ लाख रुपैयाँमा भारतको टेलिकम्युनिकेसन लिमिटेडले साउन १३, मदौलिया चोकदेखि ३ किमिका लागि ६० करोड २१ लाख रुपैयाँमा कालिका/रायमाझी जेभीले असार २७ सम्म र सुनयनापथदेखि मणिग्राम ३ किमिका लगि ४६ करोड ६१ लाख रुपैयाँमा भारतको टेलिकम्युनिकेसन लिमिटेडले असार २७ गतेसम्म निर्माण सक्ने गरी ठेक्का कबुल गरेका थिए ।


निर्माण सम्पन्न मिति थप गरिनुपर्ने कारणमा स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन, वर्षात्को मौसम, बन्द–हडताल र दसैं–तिहार पर्वलाई देखाइएको छ । एउटा निर्वाचनमा १५ दिनका दरले थप म्याद दिइएको छ ।


आयोजना प्रमुख मिश्रले चैतसम्ममा निर्माण सम्पन्न गर्नमा बिरुवा/श्रेष्ठ/एपेक्स जेभीको निर्माण कार्यमा केही कमजोरी देखिए पनि बारम्बार चेतावनी दिएको जनाए । ‘निर्धारित मितिमा सम्पन्न गर्न नसके जरिवाना गर्ने चेतावनी दिएको छु,’ मिश्रले भने, ‘अन्य तीनवटा ठेकेदार कम्पनीले सम्पन्न गर्नेमा कुनै शंका नभएकाले निर्धारित समयमा सम्पन्न हुनेमा आशावादी छु ।’


भन्सार नाका, औद्योगिक तथा व्यापारिक क्षेत्र, विमानस्थल, ठूला सहर र चलचल्तीको सीमा नाकालगायतका कारण अत्यधिक सवारी चाप रहेको बेलहिया–बुटवल सडक खण्ड लामो समयदेख निर्माण कार्य सम्पन्न नहुँदा दुर्घटना बढेका छन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीको तथ्यांक अनुसार भैरहवादेखि मणिग्रामसम्मको सडक खण्डमा आव ०७३/०७४ मा भएका ४० वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो । ५० जना घाइते भएका थिए ।


आव ०७४/७५ मा ३७ वटा दुर्घटनामध्ये १७ जनाको मृत्यु र ३९ जना घाइते भएका थिए । चालु आवको पुसको पहिलो सातासम्म १३ वटा दुर्घटनामा ७ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । यस खण्डको पडसरी चोक, कटैया, पत्थरडाँडा र मंगलापुरमा धेरै सडक दुर्घटना हुने गरेको ट्राफिक अधिकृत बताउँछन् ।


निर्माणाधीन सडकको ठूला खाल्टा जोगाउने क्रममा दुई सवारी साधन आपसमा ठोक्किएर र उछिनापाछिन गर्ने क्रममा पछाडिको साधनले ठक्कर दिँदा धेरै दुर्घटना हुने गरेका छन् । ‘त्यस सडक खण्डमा घाम लाग्दा धूलो र पानी पर्नासाथ हिलोले यातायात आवागमनलाई समस्यामा पारेको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदबहादुर पौडेलले भने, ‘हिलोमा चिप्लिएर, सडकमा ढुंगा उछिट्याएर, खाल्टा जोगाउने

क्रममा पल्टिएर र ठोक्किएर भएका दुर्घटनामा धेरैको ज्यान गएको छ ।’

प्रकाशित : पुस १०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?