कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा तटबन्धजस्तो सडक : सुरक्षा अधिकारीद्वारा निरीक्षण

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपाल–भारत दशगजा छेउमा भारतले निर्माण गरिरहेको तटबन्धजस्तो सडकमा सशस्त्र प्रहरीले सीमा सुरक्षा बढाएको छ ।

सीमामा तटबन्धजस्तो सडक : सुरक्षा अधिकारीद्वारा निरीक्षण

बाँकेका सुरक्षा अधिकारीले निर्माण भइरहेको सडकको निरीक्षणपछि सशस्त्र प्रहरी परिचालन गरिएको बताए । उनीहरूले सडक निर्माण गर्दा नेपाल–भारत सीमाको संवेदनशीलता बुझ्न आग्रह गरेका छन् ।


भारतले सीमा छेउमै एकतर्फी रूपमा सडक निर्माण गर्दै कालोपत्रे गर्ने क्रमलाई तीव्रता दिइरहेको छ । सडक निर्माण गर्दा केही स्थानमा नेपाली सीमातर्फको माटो खनिएको पाइएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सशस्त्र प्रहरी ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलगायतका सुरक्षा अधिकारीले बुधबार साँझ सीमा सडकबारे बुझ्न पुगेका थिए । बिहीबार पनि सशस्त्र प्रहरी उपरीक्षक शाहको टोली त्यहाँ पुग्यो ।


उनले त्यस क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकृतहरूसँग जानकारी लिएका थिए । एसएसबीका अधिकारीहरूले दुई मुलुकका सरकारबीच छलफल गर्न सुझाए ।


सडक निर्माण गर्ने भारतरीय कम्पनीलाई सुरक्षाको संवेदनशीलता बुझ्न आग्रह गरेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए । भारतले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको उनले बताए । ‘दशगजादेखि करिब १० मिटर आफ्नो क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको छ । उसले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेकाले हामीले रोक्न मिल्दैन,’ उनले भने, ‘तर सडक निर्माण भइरहँदा हामी संवेदनशील छौं । सीमाको सुरक्षाका लागि सुरक्षा बढाएका छौं ।’


सशस्त्र प्रहरीको कालाबन्जड पोस्टबाट सीमामा सुरक्षा बढाइएको हो । उनले सीमा सडकबारे माथिल्लो निकायलाई जानकारी गराएको बताए । नेपालगन्ज १५ पिप्रहवा क्षेत्र हुँदै जमुनाहासम्म माटो पाटन गर्दै सडक निर्माणको काम जारी छ । पूर्वतर्फबाट सडकलाई कालोपत्रे गरिँदै लगिएको छ ।


नेपालगन्ज—जमुनाहासम्मको सीमा अतिक्रमण हटाएर सडक निर्माणलाई तीव्रता दिइएको हो । यसअघि भारतीय पक्षले हिरमिनिया क्षेत्रमा सडक निर्माण गर्दा नेपाली सीमातर्फ गहिरो खाडल खनेको छ । अनुगमन हुन नसक्दा भारतले खाडल खनेको हो ।


सशस्त्र प्रहरी उपरीक्षक शाहले खाडल खनिएको ठाउँमा माटो पाटन गरिदिन एसएसबीलाई आग्रह गरेको बताए । एसएसबीका अधिकारीहरूले पनि माटो पाटनका लागि ठेकेदारलाई आग्रह गर्ने प्रतिबद्धता जनाएका छन् ।


यसअघि पूर्वी–दक्षिण नरैनापुर क्षेत्रमा तटबन्धजस्तो सीमा सडक निर्माण गरी कालोपत्रे गरिसकेको छ । नेपाल सरकारले भने सडकबारे कुनै प्रतिक्रिया जनाएको छैन । भारत सीमासँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रलाई जोडेर तटबन्धजस्तो सडक निर्माण भइरहेको छ ।

प्रकाशित : पुस १३, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?