कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुरुसले माया बुन्दै

मधु शाही

बाँके — झोलामा धागोका डल्ला । दुवै हातका औंला कुरुसमा व्यस्त । कोहलपुर–८ की देविका थापा स्वीटर बुन्दै यात्रा गरिरहेकी भेटिइन् । चालु साताभित्रै स्वीटर बुनेर छोरालाई न्यानो पार्ने योजना सुनाइन् ।

त्यसैले पैतला र औंलाको गति तीव्र छ । ‘हिँडदा–हिँडदै पनि बुन्न सक्छु,’ उनले भनिन्, ‘चिसो बढयो, छोरोलाइ स्वीटर चाहिएको छ ।’


सीप र जाँगर भएका देविकाजस्ता धेरैले फुर्सदको समय स्वीटर बुनेर बिताइरहेका छन् । यसरी बुनेका स्वीटरले परिवार न्यानो पारिरहेका छन् । उनले छोराछोरी, पति र आफूलाई गरी महिनामा ४ स्वीटर बुनिसकेकी छन् । बजार पुगेर न्यानो लुगा किन्नुपर्ने बाध्यता छैन । जाडोका लागि आफैं लुगा बुन्छिन् ।


यसरी बुनेको स्वीटरमा परिवारप्रतिको आत्मीयता मिसिने उनले सुनाइन् । ‘कुरुसमा स्वीटर होइन, माया बुनेकी हुँ’, उनले भनिन्, ‘फुर्सदमा खाली बस्न मन पर्दैन, कुरुस चलाउँदा आनन्द लाग्छ ।’


कोहलपुर–१४ की ज्ञानमती वर्णवाला कुरुस चलाउन सिपालु मानिन्छिन् । उनको हात छिटो चल्छ । १४ वर्षको उमेरदेखि उनले कुरुस चलाउन थालेकी थिइन् । बिहान भान्सा सकेर दिनभर घरमै बस्नुपर्दा पट्यार लाग्थ्यो । टेलिभिजन कति हेर्ने ? फुर्सदको सदुपयोग गर्ने कुरुस चलाउन थालेकी उनलाइ यही सीप फापेको छ । ‘कुरुस देखेपछि हात सल्बलाइहाल्छन्,’ उनले भनिन्, ‘परिवारलाई जाडोको लुगा किन्न बजार धाउनुपरेको छैन ।’ उनले स्वीटर, मोजा, मफ्लर, पञ्जा, गलबन्दीदेखि टोपीसम्म बुन्ने गरेकी छन् ।


१ किलो धागोबाट उनले २ स्वीटर बन्ने बताइन् । स्वीटर बुन्दा उनको आँखासमेत कमजोर भयो । हातले थकाइ मानेनन् । पावरवाला चस्मा लगाउँदै कुरुस चलाएको देख्दा आफन्तले उनलाई गाली गर्छन् । अहिले उनका लुगा बुन्नु ज्ञानमतीका लागि नशाजस्तै हो ।


उनको जाँगर देखेर छिमेकीसमेत सिक्न आउँछन् । टोपी नलगाएका साना नानी देखिन् भने ज्ञानमतीले आधा घण्टामा टोपी बुनेर उपहार दिइहाल्छिन् । ‘टोपी र मोजा बुन्न समय लाग्दैन,’ उनले भनिन्, ‘स्वीटर बुन्न अलि दिन लाग्छ, फुर्सद भए २ सातामा सकिन्छ ।’


बजारमा पाइने स्वीटरभन्दा हातले बुनेको स्वीटर तुलनात्मक न्यानो हुने ज्ञानमती बताउँछिन् । उनका अनुसार झट्ट नच्यातिने हुँदा टिकाउ हुन्छ । कोहलपुर १४ की नीमा थापा किराना पसलमा बस्छिन् । उनीसँग स्मार्ट फोन छ । उनी त्यो हेरेर समय खर्चिनन् । बरु कुरुस समाउँदै टोपी, मोजा र पञ्जा बुन्न थाल्छिन् । स्वीटर अलि गाह्रो लाग्छ उनलाई ।


त्यसैले टोपी, मोजा र पञ्जा बुनेर उनी जाडोभर घरपरिवार न्यानो पार्ने गर्छिन् । छोराछोरी स्कुल पठाएर फुर्सदको समय कुरुसमै सदुपयोग गर्न मन पर्छ उनलाई । ‘अझै सिक्दै छु,’ उनले भनिन्, ‘टोपी र मोजा किन्नै पर्दैन । आफैं बुन्छु ।’ क्रान्ति चौहान इन्टरनेट हेरेर स्वीटरको डिजाइन निकाल्न सिपालु छिन् । नेपालगन्ज–५ बस्ने क्रान्तिलाई इन्टरनेट हेरेर स्वीटर बुन्ने चुनौती उनका छोराछोरीले दिएका हुन् । पुरानो शैलीका स्वीटर लगाउन नचाहेपछि उनले छोराछोरी आकर्षित गर्न इन्टरनेट हेरेर कुरुस चलाउन थालेको बताइन् । गुगल सर्च गर्दा कसरी स्वीटर बुन्नेदेखि कस्ता डिजाइन बनाउने ? थुप्रै विकल्प आउँछन् ।


यसैलाई ध्यान दिएर हेरेर कुरुसमा नक्कल गर्दै क्रान्तिले राम्रा, आकर्षण र डिजाइनदार स्वीटर बुनेको बताइन् । ‘मैले बुनेका स्वीटर नातिनातिनाले समेत लाउन पाएका छन्,’ ५० वर्षीया उनले भनिन्, ‘उनीहरूले लगाएको देख्दा आफंै तातो भएको महसुस गर्छु ।’

प्रकाशित : पुस १६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?