कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा कांग्रेस नेता खड्काको सालिक अनावरण

दाङ — लमही नगरपालिका–९ अमिलियामा निर्मित कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सालिक शुक्रबार अनावरण गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सालिक अनावरण गरेका हुन् ।

दाङमा कांग्रेस नेता खड्काको सालिक अनावरण

सालिक अनावरण गर्दै देउवाले खड्का देशकै होनहार नेता भएको बताए । खड्का विकासवादी नेता रहेको र उनको अभाव पार्टीमा खड्किरहने उनले बताए । खड्काले आफूलाई धेरै नै सहयोग गरेको स्मरण गर्दै देउवाले पार्टी र जनताका लागि खड्काले गरेको योगदान अविस्मरणीय रहेको बताए ।

लमही सतबरीया निवासी खड्का राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा स्थापित भएका थिए । उनी कांग्रेस महामन्त्रीका साथै धेरैपटक मन्त्री भएका थिए । सालिक निर्माण भएको धेरै समय बिते पनि अनावरण हुन सकेको थिएन । प्रमुख अतिथिको समय नमिल्दा अनावरणमा ढिलाई भएको हो ।

२०७६ चैत १९ गते कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शिलान्यास गरेको सालिक देउवाले अनावरण गरेका हुन् । २० लाख ४८ हजार रुपयाँमा सालिक निर्माण गरिएको हो । खड्काको २०७४ चैत १६ गते निधन भएको थियो । मृगौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थि अपोलो अस्पतालमा मृत्यु भएको थियो ।

खड्का भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित भएका थिए । भ्रष्टाचार मुद्दामा जेल सजाएपछि उनको राजनीतिक जीवनमा धक्का लागेको थियो । बीपी कोइराला मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्कदा खड्का पनि सोही टोलीमा थिए ।

२०४८ सालदेखि उनी अधिकांश सरकारमा मन्त्री भए । गृह, जलस्रोत, भौतिक योजना तथा निर्माण जस्ता मन्त्रालयमा कार्यरत हुँदा उनले २ करोड ५० लाख रुपैयाँ बढी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा विशेष अदलालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

सर्वोच्च अदालतले विशेष अदालतको फैसलालाई उल्टाउँदै खड्कालाई डेढ वर्ष कैद फैसला सुनाएको थियो । न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले उनलाई ९४ लाख ७४ हजार रुपयाँ भ्रष्टाचार गरेको भन्दै जरिवाना र त्यती नै बिगो तिर्ने फैसला सुनाएका थिए । जेलबाट मुक्त भएपछि उनले हिन्दु राज्यको अभियान चलाएका थिए ।

हठी र निडर स्वभावका खड्का जेल जीवनपछि पनि पार्टीभित्र प्रभावकारी भूमिकामा नै थिए । पछिल्लोपटक उनी २०६४ को संविधानसभा निर्वाचनमा सहभागी भइ पराजित भएका थिए । त्यसपछि उनले निर्वाचनमा सहभागी हुन पाएनन् ।

प्रकाशित : चैत्र १६, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?