कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सञ्जालले जोडिँदै डोल्पा

काठमाडौँ — डोल्पा– राष्ट्रिय सडक सञ्जालले डोल्पा सीमा छोएपछि माघ महिनाभित्रै खदाङ्गसम्म जिप चलाउने तयारी सुरु भएको छ । सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यदलका प्रमुख सेनानी विश्वबन्धु पहाडीले त्रिवेणीबाट करवगार्ड हुँदै खदाङ्गपारि हरियापानी पुलसम्म जिप सञ्चालन हुने गरी काम भइरहेको बताए ।

सडक सञ्जालले जोडिँदै डोल्पा

डोल्पा र रुकुम सीमा त्रिवेणीसम्म गत वर्षदेखि जिप सञ्चालनमा छन् । यसले डोल्पालीलाई आउजाउमा निकै सहज भएको छ । खदाङ्गसम्मै जिप चले ठूलो राहत मिल्ने प्रदेशसभा सांसद नन्दसिंह बुढाले बताए । सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्‍याउन सरकारले नेपाली सेनाको नेतृत्वमा २०६० देखि जाजरकोट–डोल्पा मोटरबाटो खन्दै आएको छ । सेनाले त्रिवेणीदेखि डोल्पा र रुकुम सीमा साङले खोला हुँदै डोल्पाको खदाङगसम्म मोटरबाटो निर्माण गरिसकेको छ ।

उक्त सडकमा जिप सञ्चालनका लागि पहल भए पनि करबगार खोलामा पानीको सतह बढी भएकाले सम्भव हुन सकेको थिएन । ‘अब माघभित्रै जिप चलाउने प्रयास गरिरहेका छौं,’ सेनाका प्रमुख सेनानी पहाडीले भने । यो खण्डमा जिप सञ्चालन भए डोल्पालाई राष्ट्रिय सडक सञ्जालले छुनेछ । यसले सिमाना नजिकका स्थानीयलाई आउजाउमा निकै सुविधा पुग्नेछ । ‘जिप सञ्चालनमा आए दैनिक उपभोग्य वस्तुको ढुवानीमा सजिलो हुनेछ । यात्रा पनि साढे २ घण्टा छोटिन्छ,’ स्थानीय डिलबहादुर बुढाले भने । जिप सञ्चालनको खबरले स्थानीय उत्साहित छन् । जिप चले आर्थिक गतिविधिमा वृद्धि हुने, यात्रा सहज हुने, ढुवानी सस्तिने र महँगी घटनेलगायत फाइदा हुनेछ ।

जाजरकोट–डोल्पा मोटरबाटोको सिरिबिन्डेदेखि त्रिपुराकोटसम्मका कडा चट्टान काट्न बाँकी छ । १६ किलोमिटरको यो सडक खण्डका बीचका सजिला पाटाहरूमा बाटो बनिसकेको छ । ३ किलोमिटर जति कडा चट्टान मात्र काट्न बाँकी छ । सेनाले तीव्र गतिमा काम गरिरहेकाले बजेट पुगेमा यो आर्थिक वर्षभित्रै त्रिपुराकोटसम्म बाटो निर्माण सम्पन्न हुने प्रमुख सेनानी पहाडीले बताए ।

त्रिपुराकोटदेखि नदीपारि सुम्पानीसम्म सदरमुकाम दुनैबाट जिप सञ्चालनमा छन् । त्रिपुराकोटसम्मको मोटरबाटो निर्माण सम्पन्न भएमा डोल्पा सदरमुकाम दुनै पनि राष्ट्रिय सडक सञ्जालले जोडिनेछ । आगामी दसैंसम्म सदरमुकाम मोटरबाटो पुर्‍याउने दाबी सेनाको छ ।

जोडिए गाउँ

बाँके– हुलाकी, पूर्वपश्चिम र रत्न राजमार्गलाई जोड्ने ३९ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिएको छ । भारतीय सीमासँग जोडिएको खजुरा गाउँपालिकाको राधापुरदेखि च्यामा, सम्झनाचोक, खजुरा र सडकपुरसम्मको सडक कालोपत्रे गरिएको हो ।

ओटासिल प्रविधिको कालोपत्रे भएपछि चिसापानी, वनकटवा, टिटिहिरया, उढरापुर, रनियापुर, खजुरा, राधापुर र सीतापुरलगायतका गाउँ प्रत्यक्ष रूपमा सडक सञ्जालसँग जोडिएका छन् । बर्दिया जिल्लालाई पनि उक्त सडकले रत्न राजमार्गसँग जोडेको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर कमलकुमार अधिकारीले कालोपत्रे भएपछि ५० हजार बढी सर्वसाधारणलाई सुविधा पुगेको बताए । उनका अनुसार सडकले पितमारी, डिगिया, गनापुर, लालपुर, सम्झनाचोक, रनियापुर, मनकामना, खजुरा बजार, बी गाउँ, ए गाउँ, के गाउँ र चन्द्रनगर गाउँलाई जोडेको छ ।

‘सडक ओटासिलको काम करिब सकिएको छ । केही स्थानमा मर्मतको काम भइरहेको छ,’ प्रमुख इन्जिनियर अधिकारीले भने, ‘वैशाखसम्म सबै काम सकिन्छ । सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई आउजाउमा निकै सहज भएको छ । उक्त सडकले बाँकेका पश्चिम र उत्तरी क्षेत्रका गाउँहरू सडक सञ्जालमा जोडेको हो । करिब २२ करोड लागतमा कालोपत्रे भइरहेको छ । ०७२ कात्तिक ७ मा ठेक्का कबुल गरी ०७३ चैतमा पूरा गर्ने सम्झौता थियो । तर, भारतीय नाकाबन्दीका कारण काममा ढिलाइ भएको थियो । सडक कालोपत्रेको काम सकिएपछि कृषि उत्पादन नेपालगन्ज र कोहलपुरलगायत सहरमा सहजै पुग्ने विश्वास गरिएको छ ।

धूले सडक कालोपत्रे भएपछि सवारीसाधन चल्न थालेका छन् । तीनवटा राजमार्ग जोड्ने उक्त सडक निर्माणलाई जिल्ला समन्वय समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको थियो । खब चिसापानी र सुर्खेत क्षेत्रका सर्वसाधारणलाई खजुरा र बर्दिया जान नेपालगन्ज आउनुुपर्ने बाध्यता हट्नेछ । च्यामा हुँदै खजुरा र त्यहाँबाट बर्दियाको सदरमुकाम गुलरिया र नेपालगन्ज आउन सहज हुने भएको छ । यस्तै हिरमिनियादेखि नयाँबस्तीसम्मको साढे ५ किलोमिटर सडकमा पनि ओटासिल गरिएको छ । उक्त सडकले हिरमिनिया चोकदेखि बल्दीपुर्वा, महानपुर्वा, बाजीपुर्वा, जंगलपुर्वा र नयाँबस्ती गाउँलाई जोडेको छ ।

बेलिब्रिज जीर्ण

लमजुङ– हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकअन्तर्गत खुदीखोलाको बेलिब्रिज जीर्ण भएको छ । यही पुल भएर दैनिक सयभन्दा बढी सवारीसाधन गुड्छन् । जीर्ण भएको पुलमा आइपुग्दा सवारी चालक, यात्रु तथा स्थानीय वारपार गर्न डराउने गरेका छन् । सडक निर्माणका क्रममा एक दशकअघि सेनाले बनाएको उक्त बेलिब्रिजको पातामा खिया लाग्नुका साथै ठाउँठाउँमा प्वाल परेको छ । केही पाता उक्किनुका साथै कुच्चिएका पनि छन् । ती पातालाई धान्न प्रयोग गरिएका फलाम बांगिएका छन् । स्थानीय व्यवसायी लेखमान कतिलाका अनुसार पुल जोखिमपूर्ण भएको छ । पुलका प्वालमा मोटरसाइकलको टायर छिरेर बेला बेला दुर्घटना पनि हुने गरेको उनले बताए ।

अमर माविका प्रधानाध्यापक तीर्थ बस्नेतका अनुसार तल्लो झोलुंगे पुलबाट आवातजावत गर्न नमिल्ने भएपछि विद्यार्थी पनि उक्त बेलिब्रिजबाटै आउँछन् । कहिलेकाहीं विद्यार्थीको खुट्टा पुलमा अडिएर घाइते हुने गरेको उनले बताए । चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका लागि पनि यसको विकल्प छैन । सवारी गुड्दा पुलका फलामे पाता नै धकेलिएर अगाडि पुग्छन् कि झैं लाग्ने चालक बताउँछन् । पुल छेउमै रहेको ट्राफिक प्रहरी बिटका एक प्रहरीले पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको बताए । दिउँसो जोगिएर हिँड्ने भए पनि साँझपख र राति हिँड्नेहरू प्राय: दुर्घटनामा पर्ने गरेका छन् ।

माथिल्लो क्षेत्रमा निर्माण भइरहेका जलविद्युत् आयोजना र होटल तथा घरका लागि भारी सामान बोकेका सवारीसाधन पनि यही पुल भएर आउजाउ गर्छन् । उक्त पुलको अवस्था हेरेर ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ आयोजनाले अर्को अस्थायी पुल बनाएर सामान ल्याउने गरेको थियो । अहिले आयोजनाले जीर्ण बेलिब्रिजबाटै गह्रौं सामान ओसार्न थालेको स्थानीयले बताएका छन् ।

प्रकाशित : माघ १९, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?