कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकांक्षी मिलाउनै सकस

प्रदेश सरकार गठन प्रयास

सुर्खेत — प्रादेशिक सरकार निर्माणको अन्तिम चरणमा रहेका एमाले र माओवादी केन्द्रलाई विगतमा प्रतिनिधिसभा पुगिसकेका प्रदेशका ‘हेभिवेट’ नेता र सांसदलाई पद व्यवस्थापन गर्न कठिनाइ भएको छ । दुवै पार्टीबाट पटकपटक केन्द्रीय संसद् पुगिसकेका नौ जना पूर्वसांसद अहिले प्रदेशसभा सदस्य छन् ।

एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेल सुर्खेत २ बाट तीनपटक निर्वाचित सांसद हुन् । उनी पर्यटनमन्त्रीसमेत भइसकेका छन् । त्यस्तै, अर्का पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यानबाट निर्वाचित पूर्वसांसद हुन् । उनी प्रतिनिधिसभामा अर्थ समितिका सभापति थिए । त्यस्तै, झलनाथ खनाल प्रधानमन्त्री हु‘दा उनी राजनीतिक सल्लाहकार थिए ।

कँडेल अहिले सुर्खेत २ (क) बाट र ज्वाला सल्यान (ख) बाट विजयी भई प्रदेशसभामा आएका छन् । वाम गठबन्धनबाट प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले उम्मेदवार बनाउने भएपछि यी दुवै नेताको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ । तैपनि ४० सदस्यीय प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता बन्न उनीहरूबीच रस्साकसी चलिरहेको छ । पार्टीको केन्द्रीय गुटबन्दीको प्रभाव दलको नेता छनोटमा पनि देखिएको छ । कँडेल अध्यक्ष केपी ओली र ज्वाला वरिष्ठ नेता माधव नेपाल पक्षका हुन् । ‘दुवै नेताले संसदीय दलको बैठकमा इच्छा जाहेर गर्नुभएको छ,’ एमाले प्रदेश ६ संयोजक एवं पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘सकेसम्म सहमतिमै छान्छौं, नभए प्रक्रिया त छँदै छ ।’

मुगुका चन्द्रबहादुर शाही र दैलेख १ का अम्मरबहादुर थापा प्रतिनिधिसभाबाट प्रदेशसभामा आएका छन् । शाही मुगु (ख) र थापा दैलेख १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनीहरू मन्त्री बन्न दौडधुपमा छन् ।

प्रदेश ६ को मन्त्रिपरिषद् सात सदस्यीय हुनेछ । गठबन्धनको ७०–३० को भागबन्डाअनुसार एमालेले प्रदेशसभा सभामुख र चार मन्त्री पाउनेछ । त्यसमा प्रतिनिधिसभा पुगिसकेका नेता र नयाँ अनुहारलाई समेट्न सजिलो छैन । मन्त्री पदमा पनि धेरै सांसदले इच्छा देखाएको एमाले उपाध्यक्ष ज्ञवालीले जानकारी दिए । ‘संसदीय दलको नेतामा जस्तो मन्त्री छनोटमा विधि बनेको छैन, स्थायी कमिटीले छान्ने कि प्रदेश कमिटीले भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनसँगै विधि बनाउनुपर्ला । केन्द्रसँग सल्लाह गरेरै सबै टुंग्याउँछौं ।’

भागबन्डामा मुख्यमन्त्री र दुई मन्त्री माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभा उपसभामुख पनि उसैले पाउनेछ । चार पदमा विगतमा प्रतिनिधिसभा पुगिसकेकासहित नयाँ सांसदलाई अवसर दिनु माओवादीका लागि चुनौती बनेको छ । माओवादी केन्द्रबाट कालिकोटका पूर्वमन्त्री महेन्द्रबहादुर शाही र जुम्लाका पूर्वसांसद नरेश भण्डारी मुख्यमन्त्री दाबेदार छन् । पार्टीलाई संसदीय दलको नेता छान्न कठिन भइरहेको छ । शाहीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रभावशाली नेता जनार्दन शर्माको साथ छ भने भण्डारीलाई वरिष्ठ नेता रामबहादुर थापाको समर्थन छ । संविधानसभाका पूर्वसदस्यद्वय सीता नेपाली र विमला केसी पनि मन्त्रीका आकांक्षी छन् । माओवादी केन्द्रका प्रदेश संयोजक शक्ति बस्नेतले राष्ट्रिय सभा निर्वाचनपछि संसदीय दलको नेता र मन्त्रीबारे छलफल गरिने बताए ।

प्रकाशित : माघ २४, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?