कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ बेच्न ७ घण्टा पैदल

राजबहादुर शाही

मुगु — पिठ्युँमा स्याउको डोको, पटुकामा रोटी बोकेर उनी सदरमुकाम गमगढी ओर्लिन्छिन् । दिनभर स्याउ बेच्छिन् र कमाएको पैसाले उपभोग्य वस्तु किनेर साँझ घर फर्किन्छिन् । वाम गाउँकी ३६ वर्षीया धनसरा बुढा ७ घण्टा हिँडेर बारीको स्याउ बेच्ने गरेकी छन् ।

स्याउ बेच्न ७ घण्टा पैदल

डोकोभरि स्याउ बोकेर गमगढी पुग्न ४ घण्टा र फर्केर घर पुग्न ३ घण्टा गरी उनी एकै दिन ७ घण्टा हिँडछन् । दु:खको तुलनामा आम्दानी भने कम छ । उनी बिहानै हिँडेर गमगढी स्याउ बेच्न आउँछिन् । ‘गमगढी पुग्न ४ घण्टा लाग्छ । फर्किन अलि छिटो हुन्छ, ३ घण्टामै घर पुग्छु,’ उनले भनिन्, ‘नजिक बजार नहुँदा स्याउ बेच्न पनि पैताला खियाउनुपरेको छ ।’

उनी मात्र होइन, खेतीको समय नभएका बेला यहाँका महिला स्याउ, ओखर र तरकारी लिएर सदरमुकाम आउने गरेका छन् । स्थानीय बेलमती बुढा पनि उसैगरी थोरै सामान बेच्न धेरै मिहिनेत गरी सदरमुकामन पुग्छिन् । ‘यति नहिँडे घरका स्याउ घरैमा रै’जाने भए । त्यसैले बेच्नु परो । खर्च टार्नु परो,’ उनले भनिन् । दैनिक हजारदेखि १५ सय रुपैयाँसम्मको स्याउ उनीहरूले बेच्छन् । मौसम सकिएपछि गमगढीमा प्रतिगोटा ५ देखि १० रुपैयाँमा स्याउ बिक्छ । मौसम सकिएपछि अलि महँगो बिक्ने भएकाले किसानले स्याउ सुरक्षित राख्ने गरेका छन् । ‘स्याउ बेचेरै त घरखर्च चल्छ,’ बेलमती सुनाउँछिन् ।

छायानाथ रारा नगरपालिकाको चंखेली लेकको काखमै रहेका बाम, दर्खालबाडा, रिरुपाटा, फोइपाटामा स्याउ उत्पादन राम्रो हुन्छ । असोज/कात्तिकमा फलेको स्याउ भकारीमा भण्डारण गर्ने र पुसदेखि फागुनसम्म दैनिक डोकामा ल्याएर गमगढी बजारमा बेच्ने गरेका छन् । स्याउ ओसार्न पुरुषले पनि सघाउँछन् ।

तर, बेच्न भने लाज मान्ने गरेकाले महिलाले मात्र बिक्री गर्दै आएको बेलमतीले बताइन् । ‘दिनभर स्याउ बेच्छौं । साँझ श्रीमानलाई बुझाउँछौं,’ उनले भनिन् । उनीहरूले स्याउ बिक्रीबाट कमाएको पैसाले बालबच्चाको पढाइ, नुन तेल, खाद्यन्न, जुत्ता–चप्पल किन्ने गरेका छन् । स्याउले स्थानीयको जीविकोपार्जनमा सहज भएको छ ।

बामगाउँका बासिन्दा स्याउबाटै आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाभरिकै स्याउको भण्डारणका रूपमा चिनिने बाम गाउँमा वार्षिक १२ सय मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । गाउँमा सडकमा नपुग्दा उत्पादन गरेको स्याउ बेच्न कठिन भएको वाम गाउँका रत्नवीर बुढाले बताए । ‘टाढा भएकाले व्यापारी पनि जाँदैनन् । स्याउ बेच्नै गाह्रो छ,’ उनले सुनाए ।


फोन गर्नै दुई दिन

हुम्ला (कास)– नेपाल टेलिकमले बिग्रिएको टावर लामो समयसम्म मर्मत नहुँदा जिल्लाको उत्तरी भेगका बासिन्दा सम्पर्कविहीन जस्तै भएका छन् ।

तिब्बत सीमा जोडिएको नाम्खा गाउँपालिकाको इलिग डाँडामा रहेको टावर बिग्रिएको ५ महिना भइसकेको छ ।

टावर मर्मत नहुँदा यारी, यालबाङ, याङगार, चाला, तुम्कोट र मुचुका बासिन्दा सञ्चार सम्पर्कविच्छेद भएका छन् । स्थानीय छेपेल लामाका अनुसार अत्यन्त जरुरी काम परे २ दिन पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता छ । फोन सम्पर्ककै लागि जाउआउ गर्न ४ दिन र उत्तिकै खर्च लाग्ने लामाको भनाइ छ ।

टावर मर्मतका लागि धेरै पटक अनुरोध गर्दा पनि टेलिकमले वास्ता नगरेको जनप्रतिनिधिहरू बताउँछन् । ‘टावर बिग्रेपछि टेलिकमका सम्बन्धित निकायमा पटक–पटक भनें । म आफैं काठमाडौं पुगेर भनें । तर, कसैले सुनेन,’ नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले भने । टेलिकमको सिमकोटस्थित कार्यालयमा टावर मर्मत जस्ता प्राविधिक काम गर्ने कर्मचारीको दरबन्दी छैन ।

प्रकाशित : माघ २५, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?