कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौंरीपालनमा किसानको आकर्षण

कान्तिपुर संवाददाता

हुम्ला — सिमकोट गाउँपालिका– १ दोजाम गाउँका विजय लामाले व्यवस्थित खोर बनाएर ५५ वटा चौंरी पालेका छन् । चौंरीजन्य बस्तुको बिक्रीबाट वार्षिक आठ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनले तीन जनालाई रोजगारीसमेत दिएका छन् । नाम्खा गाउँपालिकाका–६ लिमीका पाल्ज्योर तामाङसँग ६५ चौंरी छन् ।

चौंरी पालनबाट वार्षिक सात लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको उनको भनाइ छ । उनीहरू मात्र होइन चौंरीपालनमार्फत राम्रो आम्दानी हुन थालेपछि यहाँको उच्च हिमाली भेगका किसानहरूमा चौंरीपालनप्रति आकर्षण बढ्दै गएको छ ।


किसानको आकर्षण बढेपछि सरकारले हिमाली आयोजना सुरु गरी जिल्ला पशु सेवा कार्यालयमार्फत आर्थिक अनुदान उपलब्ध गराउन थालेको छ । हिमाली आयोजनाका कृषि व्यवसायविज्ञ कमल छन्त्यालले जिल्लामा ७० वटा चौंरी पालन व्यवसायीलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । छत्यालका अनुसार यहाँका अगुवा चौंरीपालक किसानहरूले वार्षिक दुई लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् ।


चौंरीबाट उत्पादन हुने छुर्पी, घिउ र बाछाबाछी बिक्री गरेर वार्षिक आठ लाख रुपैयाँ आम्दानी गरेको र तीन जनालाई नियमित रोजगारी दिएको व्यवसायी विजय लामाले बताए । अर्का व्यवसायी तामाङले चौंरी आम्दानीको राम्रो स्रोत भएकाले व्यावसायिक रूपमा पाल्दै आएको बताए । हुम्लाको उच्च हिमाली भेगका बस्तीमा मात्र चौंरी पालन हुने गरेको छ । चौंरीका लागि उच्च हिमाली क्षेत्रमा पाइने बुकी घाँस उत्तम मानिन्छ । नाम्खा गाउँपालिकाको पूरै बस्ती र सिमकोट गाउँपालिकाको दोजाम, लिमाटाङ, चेखेली गाउँपालिकाको नेप्कमा चौंरी पाइन्छ ।

चौंरीबाट नौनी, घिउ र छुर्पी उत्पादन हुन्छ । चौंरीको पुच्छर पूजाका लागि उत्तम मानिने भएकाले उच्च मूल्यमा बिक्री हुने गर्छ ।

प्रकाशित : फाल्गुन ४, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?