कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्सले गाउँमा दियो खुसी

एलपी देवकोटा

जुम्ला — पातारासी गाउँपालिकामा पहिलो पटक एम्बुलेन्स पुग्दा स्थानीयले खुसियाली मनाएका छन् । एम्बुलेन्स पुगेसँगै स्थानीय बिरामीलाई सहज भएको छ । यसअघि स्टेचरमा घण्टौं लगाएर बिरामी लैजानुपर्ने समस्याबाट मुक्ति पाएको स्थानीयले जनाए । 

एम्बुलेन्सले गाउँमा दियो खुसी

स्थानीय धर्म बोहराले गाउँपालिकाले गाउँमा एम्बुलेन्स ल्याएपछि दैनिकी सहज बनेपछि खुसी लागेको बताए । उनका अनुसार दुई महिनाअघि गाउँका एक आफन्त बिरामी हुँदा उनीसहित पाँचजनाले पाँच घण्टा लगाएर स्ट्रेचरमा बोकी शिक्षण अस्पताल खलंगा पुर्‍याएका थिए । ‘गाउँदेखि अस्पतालसम्म पुग्न ६ देखि ८ घण्टासम्म लाग्छ,’ उनले भने, ‘अब एम्बुलेन्स आएपछि बिरामीलाई अस्पताल पुर्‍याउन सास्ती नहुने भयो ।’

भारतीय राजदूतावासले गणतन्त्र दिवसका अवसरमा पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार सहयोग गरेको थियो । दूतावासले गाउँपालिका अध्यक्ष लछिमन बोहरालाई काठमाडौंमै बोलाएर एम्बुलेन्स हस्तान्तरण गरेको थियो । ‘एम्बुलेन्सले यहाँका बिरामीलाई समयमै अस्पताल पुर्‍याएर मृत्युबाट बचाउनेछ,’ अध्यक्ष बोहराले भने ।

पातारासी गाउँपालिकामा चार स्वास्थ्यचौकी छन् । बिरामीलाई सदरमुकाम खलंगा ल्याउन एउटा स्वास्थ्य चौकीबाट न्यूनतम चारदेखि छ घण्टा समय लाग्छ । सदरमुकामदेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका बिरामीलाई एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्‍याउन सहज भएको छ । बिरामीलाई सहजै सुविधासम्पन्न अस्पताल पुर्‍याउन सकिने पातारासी स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए । ‘यहाँ मातृशिशु मृत्युदर बढी छ,’ उनले भने, ‘स्थानीय तहमा सुविधासम्पन्न स्वास्थ्य संस्था छैनन् । महिलाहरू असुरक्षित घरमै सुत्केरी हुन्छन् र त्यसले गर्दा मातृशिशु मृत्युदर बढी भएको हो ।’

यसअघि साबिकको मालिकाबोता गाविस र नेपाल रेडक्रस सोसाइटीले दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याएका थिए । तर मर्मत–सम्भारका अभावमा थन्किएका छन् । अहिले सिञ्जा क्षेत्रमा पनि एम्बुलेन्सको अभावका कारण बिरामीहरूलाई समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीय रमन उपाध्यायले बताए ।

पुल नहुँदा समस्या

गाउँपालिकाले पाएको एम्बुलेन्सले उर्थुदेखि माथि मात्रै सेवा दिने भएको छ । उर्थुदेखि खलंगा बजारसम्म बिरामी ल्याउनका लागि रेडक्रस र प्रतिष्ठानको एम्बुलेन्स प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । पातारासी गाउँपालिकाको सबै गाउँमा सडक पुगे पनि उर्थु नजिकै नदीमा पुल तयार नभएकाले एम्बुलेन्सले उर्थुसम्म मात्रै बिरामी ओसारपोसार गर्न सक्ने भएको छ । डोजर लगाएर एम्बुलेन्सलाई नदीपारि गाउँमा पुर्‍याइएको छ ।

घाइतेको बेहाल

मुगु–खत्याड गाउँपालिका–११ का ४२ बर्षीय गोर्कणबहादुर कार्कीका दुवै हत्केला छैनन् । आँखाको चोटका कारण सधैं आँसु बगिरहन्छ । कार्कीको दाहिने हात र पिँडुलामा गोलीका छर्रा छन् । अर्काको सहारामा खाना खान र हिँडडुल गर्न बाध्य छन् उनी । २०५८ साल माघ २९ गते रोवा गाउँमा बम बनाउने क्रममा पड्काएर उनका दुवै हातका हत्केला चुँडिएका हुन् । छर्रा र बारुदले चोट लागेर उनी गम्भीर घाइते भए । घरको आर्थिक अवस्था कमजोर भएकाले बिहान– बेलुका छाक टार्न कठिन छ उनलाई । तर उनले अहिलेसम्म सरकारी राहत पाएका छैनन् । ‘मलाई जीवन धान्न गाह्रो भयो,’ कार्कीले भने, ‘जनयुद्ध लडेर हामी घाइते भयौं । अहिले अरूले फाइदा लिए । न त पार्टीले सहयोग गर्‍यो, न सरकारले नै ।’

पार्टीका अधिकांश नेताहरू सरकारमा पुगे पनि आफूहरूलाई बेवास्ता भएको उनले गुनासो गरे । जनयुद्धको नाममा टाठाबाठाले स्वार्थ लिएको उनको आरोप छ । २०६० सालमा जनयुद्धकै क्रममा भाइ पाण्डव कार्कीको मृत्यु भएको उनले बताए । राहतको निम्ति दुई पटक जिल्ला शान्ति समितिमा फाइल पेस गरेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ११, २०७४ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?