कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाले मनाए चैतलो मेला

मेलामा महिला मात्र जम्मा भएर लय मिलाउँदै धार्मिक गीत गाउने र नाच्ने गरिन्छ
जयबहादुर रोकाया

हुम्ला — सदरमुकाम सिमकोट र आसपासका महिलाले शनिबार चैतलो मेला मनाएका छन् । महिला स्थानीय वेशभूषामा सिँगारिएर नाच्दै र गाउँदै चैतलो मेला मनाएका हुन् । 

महिलाले मनाए चैतलो मेला

सिमकोट गाउँपालिकाको सिमकोट र ठेहे गाउँकी क्षत्री महिलाले प्रत्येक फागुन १२ गते परम्परागत चैतलो मेला मनाउँदै आएका छन् । मेलामा वसन्त ऋतुको स्वागतका लागि महिला मात्र जम्मा भएर लय मिलाउँदै धार्मिक गीत गाउने र नाच्ने गरिन्छ । मेलामा सहभागी भएर नाच्ने महिलाले स्थानीय परम्परागत पहिरन लगाउने र पुराना गहनामा सजिने गरेका छन् । पहेंलो, रातो तथा रंगीचंगी कपडाले शरीर ढाकेर गाउँको निश्चित धार्मिक स्थानमा गाउने र नाच्ने प्रचलन छ । वसन्त ऋतुलाई स्वागत गरेको भन्दै मंगल गानबाट मेला मनाइन्छ । गीतमा महिलाहरूबीच नै दोहोरी चल्ने गरेको छ । मेलामा गाइने गीत पौराणिक कथामा आधारित हुने स्थानीय बासिन्दाको कथन छ । मेलाको सुरुवात ठेहेगाउँबाट भएको स्थानीय अगुवा बताउँछन् ।


सिमकोट गाउ‘पालिका ६ लादेवाडाका कर्ण दमाईका अनुसार ठेहे गाउ‘मा प्रत्येक वर्षको फागुन १२ गते राक्षसले एउटी महिलालाई भगाएर लिने गरेको किबंदन्ती छ । महिलाहरूले राक्षसबाट बच्न रंगीचंगी कपडा लगाएर नाँचगान गर्ने गरेको उनको भनाई छ । छिमेकी गाउँका महिलाले चैतलो मेला मनाउने गरेको देखेपछि केही बर्षपछि सिमकोटमा पनि मनाउन सुरु गरिएको उनले बताए ।


मेला सुरु हुने स्थानमा पहिले नै लिङ्गो ठड्याइन्छ । लिङ्गो ठडाएको स्थानमै महिलाले नाचगान गर्छन । वेलुका धामीले कामेर सिला राखेपछि चैतलोको अन्त्य हुन्छ । मेलाको विधिवत अन्त्य भएलगतै युवा युवती देउडामा रमाउने गर्छन् । चैतलोको दोस्रो दिन पनि युवा नाच्छन् । दोस्रो दिन युवाबीच आफ्नो शक्ती प्रदर्शन गर्न ढुङ्गा फ्याक्ने, गह्रौं ढुङ्गा उठाउने जस्ता खेलहरूले आयोजना गरिन्छन् ।


मेला हेर्न ठेहे गाउँ र सिमकोटमा छिमेकी गाउ‘बाट समेतको ठूलो संख्यामा स्थानीयबासीको उपस्थिति हुने गरेको छ । ठेहे गाउ‘मा हुने मेलाको समयलाई ख्याल गर्दै घरघरमा मिष्ठान्न खाने र खुवाउने चलन थालिएको छ । महिलाले मात्र नाच्ने भएकाले मेला महत्वपूर्ण मानिन्छ । चैतलो मेलाका लागि पुरुषले नयॉ कपडा खरिद गरिदिने, मिष्ठान्न भोजन बनाउने र आबश्यक सामग्रीको किनमेल गर्छन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?