कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

जाउलोले विद्यार्थी संख्या दोब्बर

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ६, थाप्लाकी मञ्जु विकलाई विद्यालय पुग्न हतार हुन्छ । ३ कक्षामा पढ्ने उनी गयल भएको दिन छैन ।

जाउलोले विद्यार्थी संख्या दोब्बर

सोही ठाउँका संगीता गौतम, कौशिला खड्का र सुभाष विकलाई नियमित विद्यालयमा उपस्थित नभए चित्तै बुझ्दैन । उनीहरू दिनभर विद्यालयको पठनपाठन क्रियाकलापमा सक्रिय हुन्छन् ।

उनीहरू सबैजना थाप्लास्थित निर्मल ज्योति आधारभूत विद्यालयका छात्रछात्रा हुन् । १ सय ५० पनि उपस्थित नहुने विद्यालयमा १ महिनायता ३ सय विद्यार्थी नियमित हाजिर हुने गरेका छन् ।

नलगाडको थाप्लास्थित विद्यालय मात्र हैन । जिल्लाका २ सय १२ विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या दोब्बर भएको छ । विद्यार्थीलाई दिवा खाजाका लागि पोषणयुक्त जाउलो खुवाउन थालेपछि नियमित विद्यालयमा आउने संख्या ह्वात्तै बढेको हो । षोणयुक्त जाउलोको आकर्षणले विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने क्रम बढेको हो ।

पोषणयुक्त जाउलो कार्यक्रम लागू भएपछि विगतको कक्षा छाड्ने दर घटेको निर्मल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भीमबहादुर वलीले बताए । जाउलो कार्यक्रमले विद्यार्थी उपस्थिति दर ह्वात्तै बढेको प्रधानाध्यापक वलीले बताए । जाउलो खुवाउने कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी र अभिभावक पनि निकै खुसी छन् । विद्यार्थीले भोगकै कारण विद्यालय छोड्नुपर्ने बाध्यता हट्नुको साथै कुपोषित हुनबाट समेत बचाउन टेवा पुगेको वलीले बताए । खाद्य अभाव तथा विपन्न समुदायका बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको प्रअ वलीले बताए ।

खाद्यान्न अभाव तथा शिक्षाको पहुँचबाट टाढा रहेका विपन्न समुदायका विद्यार्थीलाई आधारभूत शिक्षाको पहुँचमा वृद्धि गर्ने, विद्यार्थी पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त जाउलो कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । कार्यक्रमले विद्यार्थीको भर्ना दरमा वृद्धि गर्ने, उपस्थिति दर बढाउने, कक्षा छाड्ने दर घटाउने, अध्ययन क्षमतामा वृद्धि गर्नेलगायतका अल्पकालीन लक्ष्य लिएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।

यसअघि दिवा खाजाको रूपमा पिठो, तेल र चिनीबाट बनेको हलुवा खुवाउने गरिएको थियो । १७ वर्षसम्म सञ्चालित हलुवा खुवाउने कार्यक्रमबाट विद्यार्थीको पोषण स्थितिमा सुधार नआएपछि गत माघदेखि भिटामिन तथा मिनरलयुक्त चामल, दाल, तेल र नुनबाट निर्मित जाउलो खुवाउने कार्यक्रमको सुरुवात भएको सिंहले बताए । दिवा खाजा पोषणयुक्त जाउलो कार्यक्रमबाट यस जिल्लाका २९ हजार विद्यार्थी लाभान्वित भएको उनले बताए ।

दिवा खाजाअन्तर्गत एउटा विद्यार्थीलाई ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुनबाट बनेको जाउलो दैनिक १ सय १२ ग्रामका दरले खुवाउने व्यवस्था मिलाइएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ प्रमुख चेतबहादुर बमले बताए । विद्यालय हाताभित्र उक्त पोषिलो जाउलो पकाउने र खुवाउने गरिएको प्रमुख बमले बताए । पोषिलो नियमित जाउलो खानेमा १५ हजार छात्रा र १४ हजार छात्र छन् ।

जाउलो कार्यक्रम नलगाड नगरपालिका, छेडागार नगरपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका अन्तर्गतका विद्यालयमा मात्र सञ्चालन भएको छ । ८ वटा वितरण केन्द्रमार्फत दिवा खाजा जाउलोको लागि चामल, तेल, नुन र दाल वितरण हुने गरेको बमले बताए । जाउलोको लागि एक शैक्षिक सत्रमा ४ सय ५६ मेट्रिक टन चामल, १ सय १४ मेट्रिक टन दाल, ५६ मेट्रिक टन तेल, ११ मेट्रिक टन नुन र पकाउने भाडा उपलब्ध गराउने प्रमुख बमले बताए । जाउलोबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थी लाभान्वित भएका छन् । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम तथा शिक्षा मन्त्रालयको साझेदारीमा मध्य तथा सुदूरपश्चिमका ११ जिल्लामा कार्यक्रम लागू भएको उनले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७४ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?