प्रदेशस्तरीय औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन

प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सरकारले हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणाअनुसार उद्योग मन्त्रालयले सुर्खेतको साटाखानीमा सम्भाव्यता अध्ययनको काम थालेको हो । 

औद्योगिक क्षेत्रका लागि प्रस्तावित लेकबेंसी नगरपालिकाको साटाखानीमा प्राविधिक टोलीले स्थलगत अवलोकन गरिसकेको छ । जुन प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको नगरपालिका हो । औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरिसकेका थिए । सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो । जग्गा छनोट भएको करिब डेढ वर्षपछि अध्ययन सुरु गरिएको छ । प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुने भएपछि यहाँका उद्योगी/व्यवसायीहरू उत्साही छन् । यसले कर्णाली प्रदेशको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने व्यवसायीको अपेक्षा छ ।

उद्योग मन्त्रालयको प्राविधिक टोलीले उक्त प्रस्तावित क्षेत्रको भौगर्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ । प्राविधिक प्रतिवेदनका आधारमा सरकारले थप निर्णय लिनेछ । यो अध्ययन प्रतिवेदनपछि मात्र डीपीआरको प्रक्रिया अघि बढ्नेछ । केपी ओली नेतृत्वको पहिलो कार्यकालमा सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरेको थियो । सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक एक हजार बिघा जग्गा उपलब्ध गराइसकेका छन् । पश्चिममा झुप्रा खोला, उत्तरमा भेडाबारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ । टोलीका सदस्यसमेत रहेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका इन्जिनियर अमृत शाहीले जग्गाको नापनक्सा, भौगोलिक संकेत, वातावरणीय क्षति र भौगर्भिक अध्ययन गर्न थालेको बताए । ग्रिन राजदेवी कन्सल्टेन्सी प्रालि काठमाडौंले सम्भाव्यता अध्ययन थालेको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख किशोरकुमार पाण्डेले सम्भाव्यता अध्ययनको प्रतिवेदन सकारात्मक आएको खण्डमा औद्योगिक क्षेत्र स्थापनाको बाँकी काम अघि बढ्ने बताए । ‘सम्भाव्यता अध्ययनको काम सुरु भैसक्यो । अब अन्य प्रक्रियाहरू पनि अगाडि बढ्छन्,’ उनले भने, ‘प्राविधिक प्रतिवेदनले उपयुक्त छ भनेमा प्रस्तावित क्षेत्रमै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई बाटो खुल्नेछ ।’ हाल सुर्खेतको वीरेन्द्रनगरमा सानो औद्योगिक क्षेत्र छ । पर्याप्त स्थान, विद्युत् र कच्चा पदार्थको कमीका कारण यसले गति लिन सकेको छैन । ०३८ सालमा नेदरल्यान्ड सरकारको सहयोगमा सञ्चालित प्राइम मुभर्स इन्डस्ट्रिज प्रोजेक्ट केही वर्षपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा परिणत भएको थियो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो औद्योगिक क्षेत्र ९० रोपनीमा क्षेत्रफलमा फैलिएको छ । मुलुकका अन्य औद्योगिक क्षेत्रहरूमा विद्युत्को ‘सिंगल फिडर’ जडान छ । तर, वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा प्राधिकरणले ‘सिंगल फिडर’ जडान गरेको छैन् । त्यसले गर्दा पनि स्थानीय उद्योगीहरू संकटमा छन् । हाल २५ उद्योग सञ्चालित छन् । यहाँ ऊर्जा उपकरण, हस्तकलाका सामग्री, फर्निचर, सोयाबिन, खाद्य सामग्री, साबुन, कागजलगायतका वस्तुहरू उत्पादन गरिन्छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

सातामा तीन दुर्घटना, पाँचको मृत्यु

कान्तिपुर संवाददाता

जुम्ला — कर्णाली प्रदेश सरकारले ‘कर्णाली सडक सुरक्षा योजना’ लागू गरेको एक साता नबित्दै तीन छुट्टाछुट्टै सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । 

गत सोमबार सदरमुकाममाट्याक्टरले किचेर गर्भवती हीरा अधिकारीको मृत्यु भयो भने त्यसको भोलिपल्ट मंगलबार सिंजामा ट्याक्टर दुर्घटनामा परी तीन जनाले ज्यान गुमाए । आइतबार बिहान जुम्लाबाट काठमाडौ जाँदै गरेको ना४ख ७२४३ नम्बरको बसले लिताकोटमा तातोपानी गाउँपालिका २ की २७ वर्षीया माया नेपालीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भयो । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा गत शनिबार एकैसाथ ‘समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ मूल नारासाथ सुरक्षा अभियान सुरु गरेको थियो । एक हप्तामा सवारी दुर्घटनाबाट ५ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । सडक सञ्जालको विस्तारसँगै गाडीको संख्या बढ्दै जानु, ट्राफिक नियमबारे यात्रुलाई जानकारी नहुनु, चालकको लापरबाहीका कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

बढो दुर्घटना न्यूनीकरण गर्न स्थानीयस्तरमा ट्राफिक नियमबारे व्यापक जानकारी गराउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज माधवरावतले बताए ।

‘अब चाँडै स्थानीय तहसँग समन्वय गरी ट्राफिक नियम पालनाबारे अभिमुखीकरण चलाउने तयारी गरिरहेका छांै,’ उनले भने, ‘ट्राफिक प्रहरीको संख्या कम छ, सबैतिर चेकिङ गर्न भ्याइँदैन । अधिकांश गाडीहरू खलासीले चलाउँदा समस्या आउने गरेको छ ।’ नाग्म–गमगडी, जुम्ला विमानस्थल–उर्थु र विमानस्थलदेखि गुठीचौर हुँदै डोल्पासम्म जाने सडकमा चेकिङ प्रभावकारी हुन नसकेको
उनले जनाए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्