९ हजारभन्दा बढी घरधुरी खानेपानी सुविधाबाट वञ्चित

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १५ ढारखानीकी देवकली घर्तीलाई एक गाग्री पानी ल्याउन दुई घण्टा खर्चिनुपर्ने बाध्यता छ । कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर बयालेकी डिल्ली भण्डारीलाई पनि खानेपानीको जोहो गर्न शारदा नदीको किनारसम्मै पुग्नुपर्ने बाध्यता छ ।

खानेपानीको समस्या भएपछि दुई घण्टा तल पर्ने मुहानबाट डोकोमा पानीमा बोलेर ल्याउँदै गरेका सल्यान माल्नेटा ढारखानीका महिलाहरू । तस्बिर : विप्लव/कान्तिपुर

उनलाई नदीमा गई पानी भरेर घरसम्म पुर्‍याउन तीन घण्टाभन्दा बढी समय लाग्छ । उनीहरू मात्र होइन यहाँका अधिकांश स्थानीयवासी खानेपानी समस्याका कारण लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । जिल्लामा करिब ९ हजारभन्दा बढी घरधुरी खानेपानी समस्याबाट प्रभावित रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

Yamaha

बन्गाड कुपिण्डे नगरपालिकास्थित मैदुकी आइती बोहराले साविकको जिविसले निर्माण सुरु गरेको खानेपानी योजना अलपत्र परेपछि आफूहरू डेढ दशकदेखि एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यतामा रहेको बताइन् । उनका अनुसार टाढाको मुहानबाट ल्याएको पानी अडलेर खानुपर्ने बाध्यता छ । जिल्लाका ४६ हजार ३ सय ४२ घरधुरीमध्ये ३७ हजार १४ परिवारलाई मात्र आधारभूत खानेपानी सुविधा पुगेको छ । ९ हजार ३ सय २८ परिवारलाई खानेपानीको समस्या रहेको कार्यालयले जनाएको छ । खानेपानी समस्याका कारण अधिकांश स्थानीयहरू खोलाको दूषित पानी उपभोग गर्न बाध्य छन् । विगतमा सञ्चालित योजनाहरू सबै जीर्ण भए पनि मर्मत गर्नेबारे सरकारी निकाय मौन रहेको स्थानीयको गुनासो छ । यहाँका दुई दर्जनभन्दा बढी बस्ती नजिकैका पानीका मुहानहरू सुकेका छन् ।

तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानका अधिकांश बस्ती डाँडामा भएकाले अधिकांशमा खानेपानी समस्या छ । जिल्लामा अहिलेसम्म ३५ वटा आयोजना र सात सयभन्दा बढी योजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख गुणनिधि पोख्रेलका अनुसार तीमध्ये धेरै जीर्ण भएका छन् । मर्मतमा कम बजेट विनियोजन हुँदा खानेपानीको समस्या भएको उनको भनाइ छ । जिल्लामा आर्थिक वर्ष २०४३/४४ सालमा विश्व बैंकको आर्थिक सहयोगमा ठूला योजना सञ्चालन भएका थिए । ती सबै मर्मतको अभावमा जीर्ण भएका उनले बताए । उनका अनुसार जिल्लाभर तीन सयभन्दा बढी योजना जीर्ण छन् । यो वर्ष कार्यालयले २४ वटा योजना सञ्चालनमा ल्याएको जनाएको छ । त्यसमध्ये पाँच योजना लिफ्ट सिस्टमका छन् ।

जिल्लाका अधिकांश ठाउँमा जथाभाबी सडक निर्माण गर्ने गरिएकाले समेत खानेपानीका मुहानमा असर परेको कर्मचारीको भनाइ छ । केन्द्रबाट खानेपानी योजनाका लागि आएको ३ करोड बजेट यो वर्ष स्थानीय तहमा गएको कार्यालयले जनाएको छ । शारदा नगरपालिकाभित्र खानेपानी योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार धेरै ठाउँमा योजना सम्पन्न हुने तयारीमा छन् । बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनका अनुसार नगरमा खानेपानी योजना सञ्चालनका लागि यस वर्ष १ करोड ५५ लाख रकम छुटयाइएको छ । त्यस्तै ढोडचौर गाउँपालिकाले १ करोड ७५ लाख, कुमाख गाउँपालिकाले १ करोड ८६ लाख, कालिमाटी गाउँपालिकाले १ करोड रकम खानेपानी योजनाका लागि विनियोजन गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रारामा घोडा व्यवसाय फस्टायो

राजबहादुर शाही

मुगु — पर्यटकीय गन्तव्य रारामा घोडा व्यावसाय फस्टाउँदै गएको छ । रारा घुम्न आएका पर्यटकहरू घोडा मार्फत रारा आसपासका क्षेत्रमा घुम्न जान थालेपछि व्यवसाय फस्टाएको हो । रारा आसपासका मुर्मा, झ्यारी, टोप्ला, माथितमलगायतका गाउँका बासिन्दाले घोडा व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका छन् । 

मुगुको पर्यटकीयस्थल रारामा पर्यटक घुमाउन गाउँबाट ल्याएका घोडाहरू । तस्बिर : राजबहादुर/कान्तिपुर

जुम्लाको सिंजा, हुम्ला र कालिकोट पुगेर स्थानीयले घोडा खरिद गर्ने गरेका छन् । घोडाबाट स्थानीयले दैनिक चार हजारसम्म कमाइ हुने गरेको जनाएका छन् । पर्यटकको आगमनले रारामा घोडा व्यवसाय फस्टाउँदै गएको मुर्मा गाउँका गोर्ख रोकायाले बताए । उनले अरू काम छोडेर घोडा मार्फत पर्यटकलाई घुमाउने प्रतिस्पर्धा हुन थालेको बताए । ‘पहिले रारा नजिकै भए पनि केही कमाइ हुने भएन भनेर चिन्तित थियौं,’ उनले भने, ‘घोडा व्यवसाय फस्टाएपछि राम्रो आम्दानी भैरहेको छ ।’

घोडा चढेर रारा तालमा फोटो खिचेको २ सय, वरपर घुमेको ५ सय र मुर्माटपसम्म पुगेको २ हजार लिने गरिएको व्यवसायीले बताए । उनीहरूका अनुसार रारा विमानस्थलदेखि रारासम्म घोडामा पुर्‍याएपछि व्यवसायीले २ हजार ५ सय लिने गरिएको छ । किसानहरू अन्य पशुपालन छोडेर घोडा व्यवसायतर्फ आकर्षित भएका छन् । एक घोडाको मूल्य ६० देखि ८५ हजारसम्म पर्ने गरेको छ । मुर्मा गाउँमा मात्र ६० वटा घोडा सञ्चालनमा छन् । त्यस्तै झयारी, पिना, टोप्ला गाउँमा करिबव डेढ सय घोडाहरू छन् । त्यहाँका घोडाहरू दैनिकजसो रारामा आउने गरेका छन् ।

सहरी क्षेत्रमा सवारी साधनको चाप बढेजस्तै रारामा घोडाको चाप बढ्दै गएको मुर्मा गाउँका शिक्षक बिर्खबहादुर रोकायाले बताए । पर्यटकहरू सवारी साधन छोडेर घोडा चढ्न थालेको उनको भनाइ छ । रारामा घोडा व्यवसाय फस्टाउँदै गएको र स्थानीयको आम्दानीमा वृद्धि भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चन्दशेखर चौधरीले बताए । रारामापर्यटकलाई घोडा चढाएर घुमाउन स्थानीयबीच प्रतिस्पर्धा हुन्छ ।

रारामा ठूलादेखि साना घोडाहरू छन् । जस्तो घोडा चढ्न मन लाग्यो, उस्तै घोडा चढ्न पाइने व्यवस्था रहेको व्यवसायीले जनाए । तर, रारामा सुविधासम्पन्न होटल, विद्युतलगायतका अन्य पूर्वाधारको अभाव छ । ताल नजिकका डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्टमा आन्तरिक पर्यटक भरिभराउ हुने गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT