कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्तश्रवण स्रोत कक्षा १२ वर्षदेखि दरबन्दीविहीन

शिक्षकले आफूले पाएको तलबबाटै पाँच हजार रुपैयाँ दिएर एकजना थप शिक्षक राखेका छन्

दैलेख — सुस्तश्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको भूर्तिस्थित रेडक्रस माविमा सांकेतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।

स्रोत कक्षाका लागि बाह्र वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा कक्षा ५ सम्म १५ विद्यार्थी अध्ययनरत छन् ।

सांकेतिक भाषाको दरबन्दी नहँुदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई बस्न छात्रावास निर्माण गरिए पनि पूर्वाधारविहीन भएको विद्यार्थीको गुनासो छ । स्रोत कक्षामा १० जना बराबर एक शिक्षक दरबन्दी हुनुपर्ने भए पनि जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म दरबन्दीको व्यवस्था गरेको छैन । स्रोत कक्षाका लागि रेडक्रस माविको खाताबाटै रकम निकासा हुँदै आएको छ । विद्यार्थीले चाहेका बेला खाद्यान्न, शैक्षिक सामग्री खरिद खर्च लगायतका सुविधा पाउन नसकेको शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताए । उनले स्रोत कक्षाको आफ्नै बैंक खाताको व्यवस्था नहुँदा खेलकुद र फर्निचर खरिद गर्न नसकेको गुनासो पोखे ।

शिक्षक रेग्मीले आफूले पाएको तलबबाट पाँच हजार रुपैयाँ दिएर एकजना थप शिक्षक राखेका छन् । एकजनाले मात्र पढाउँदा विद्यार्थीलाई बुझ्न समस्या हुने भएपछि आफ्नै तलबबाट शिक्षक राखिएको उनको भनाइ छ । विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । कक्षा ५ सम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रमसमेत बढेको छ ।

चामुन्डाविन्द्रासैनी नगरपालिकाका १३ वर्षीय टोपेन्द्र शाही कक्षा ४ मा अध्ययनरत छन् । कक्षा एकबाटै होस्टलमा बस्दै आएका उनले पर्याप्त पूर्वाधार नहुँदा पठनपाठनमा समस्या भएको बताए । ‘अन्य विद्यार्थीका लागि कम्प्युटर, खेलकुद, शैक्षिक सामग्रीलगायतका सामग्री छन्,’ उनले सांकेतिक भाषामार्फत भने, ‘हामीलाई पनि ती सुविधा भए शिक्षण क्रियाकलाप सजिलो हुन्थ्यो ।’

कक्षा ५ मा अध्ययनरत १२ वर्षीय खगिसरा थापामगरले माथिल्लो तह नहुँदा आफूहरूले बीचैमा पढाइ छाड्नुपर्ने समस्या रहेको बताइन् । उनले कक्षा ६ को अध्ययनका लागि सुर्खेत वा बाहिरका जिल्लामा जानुपर्ने समस्या भएको बताइन् । ‘घरको आर्थिक अवस्था राम्रो छैन,’ उनले भनिन्,‘कम्तीमा एसईईसम्म अध्ययन गर्ने धोको छ तर, जिल्लामा हाम्रा लागि त्यो सुविधा नहुँदा समस्या छ ।’

त्यस्तै दुल्लु नगरपालिकामा दृष्टिविहीनका लागि लागि सञ्चालन गरिएको स्रोत कक्षामा पनि पूर्वाधार नहुँदा समस्या भएको छ । शिक्षिका तुल्सी भण्डारीले जिल्लाभरका करिब १० प्रतिशत अपांगता भएका बालबालिकाले मात्र प्राथमिक शिक्षा पाएको बताइन् । उनका अनुसार स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भएको छ ।

जिल्लामा अपांग बालबालिकाको खोजी गरी उनीहरूका लागि पठनपाठनको व्यवस्था गर्नुपर्ने महिला तथा बालबालिका केन्द्रकी प्रमुख पवित्रा पुरीले बताइन् । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले शिक्षक दरबन्दी पूर्तिबारे आफूले माथिल्लो निकायमा पहल गर्ने जनाए ।

प्रकाशित : चैत्र ३, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?