कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

स्थानीय तहलाई प्रहरी अपुग

‘संघीय संरचनाअनुसार प्रहरी परिचालन हुन कम्तीमा दुई सय जनशक्ति आवश्यक’

सुर्खेत — जिल्ला प्रहरी कार्यालयले स्थानीय तहका लागि कम्तीमा दुई सय प्रहरी जनशक्ति आवश्यक पर्ने जनाएको छ ।

स्थानीय तहलाई प्रहरी अपुग

जिल्ला प्रहरीले गाउँपालिकामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ७५ तथा नगरपालिकामा प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा एक सय प्रहरी जनशक्ति माग गरेको छ । सुर्खेतमा ४ गाउँ र ५ नगरपालिका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चुतर्वेदीले २० वर्षअघिकै दरबन्दीबमोजिम शान्ति सुरक्षा कायम गर्नुपरेको बताए । ‘संघीय संरचनाअनुसार प्रहरी परिचालन हुन कम्तीमा दुई सय जनशक्ति आवश्यक पर्ने देखिन्छ,’ उनले भने, ‘प्रदेश प्रहरी कार्यालयलाई जनशक्ति थप गर्न माग गरिसकेका छौं ।’ सुर्खेतमा ०५४ सालदेखि जिल्ला प्रहरीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) ले गर्दै आएका छन् । एसपीको कमान्डमा ५ सय १४ प्रहरी खटाइने व्यवस्था छ । एसपी चतुर्वेदीले जनशक्ति अभावकै कारण बढ्दो सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए । विप्लव समूहले जनप्रतिनिधिलाई धम्की दिने गरेको सूचना प्राप्त भएको भन्दै प्रहरीले भरपर्दो सुरक्षाका लागि जनशक्ति र स्रोतसाधनको कमी रहेको बताएको छ । यद्यपि, कुनै जनप्रतिनिधिले व्यक्तिगत सुरक्षा मागेको खण्डमा उपलब्ध गराउन तयार रहेको जिल्ला प्रहरीको भनाइ छ ।

हालमा जिल्लामा ‘क’ श्रेणीका इप्रका ३, ‘ख’ श्रेणीका २, प्रहरी चौकी १५ र अस्थायी प्रहरी पोस्ट ९ स्थानमा छन् । कुल दरबन्दीमध्ये ३६ प्रहरी कर्मचारी रिक्त छन् । त्यस्तै, करिब ८० जना प्रहरी कर्मचारी तालिम, बिदामा बस्ने प्रचलन छ । ‘पुरानै दरबन्दीमा काम गर्दा अपराध नियन्त्रणमा समस्या आएको छ,’ एसपी चतुर्वेदीले कान्तिपुरसित भने, ‘संघीय संरचनामा गए पनि त्यही अनुसारको थप जनशक्तिको व्यवस्था नहुँदा चुनौती थपिएको छ ।’ वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले पनि यहाँ थप जनशक्ति आवश्यक पर्ने जिकिर गरे । कर्णाली प्रदेशमा प्रहरी उपरीक्षक (एसपी) को कमान्ड भएको सुर्खेत जिल्ला प्रहरी कार्यालय मात्र हो ।

यसैबीच, प्रहरीले सामाजिक विकृतिविरुद्ध विभिन्न अभियानहरू थालेको बताएको छ । अपराधमुक्त जिल्ला बनाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो । ‘प्रदेशको राजधानी भएकाले पनि यस जिल्लामा विशेष सुरक्षाको व्यवस्था गर्नुपर्छ’ चतुर्वेदीले भने । उनका अनुसार जिल्लामा सबैभन्दा बढी लागूऔषध दुव्र्यसनीको समस्या छ । ‘लागूऔषध सेवन तथा बिक्री वितरणलाई रोक्नको लागि सचेतनासँगै कारबाहीको प्रक्रिया पनि अघि बढाएका छौं,’ उनले भने, ‘घरेलु हिंसाको एउटा कारण लोकल मदिरा हो । यसको नियन्त्रणको लागि पनि प्रहरी गस्ती परिचालन गरेका छौं ।’

दुई सय ६६ मुद्दा दर्ता
जिल्ला प्रहरीले पछिल्लो ८ महिनाको अवधिमा विभिन्न प्रकृतिका दुई सय ६६ वटा मुद्दा दर्ता गरेको छ । ज्यान मार्ने उद्योगमा ६, भवितव्य ज्यानसम्बन्धी २३, चोरीका ५, मानव बेचबिखनसम्बन्धी २ वटा मुद्दा दर्ता गरेको हो । झुन्डिएर आत्महत्याका ३९, विषादी सेवन गरेका १४ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा एक सय ५४ जना महिला तथा बालवालिका हराएकोमा प्रहरीले एक सय जनालाई फेला पारेको छ । ५४ जना फेला पर्न बाँकी छन् । त्यस्तै, ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार ७ सय ११ जनालाई कारबाही भएको छ । उनीहरूबाट ५१ लाख ३५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । साउनयता लागूऔषधका १८ मुद्दा दर्ता भएकामध्ये २८ अभियुक्त पक्राउ गरिसकेको छ ।

प्रकाशित : चैत्र ४, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?