कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसमी तरकारी उत्पादन फस्टाउँदै

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ६, बरलाकी २७ वर्षीया ईश्वरी बुढाथोकीले १० प्लास्टिक टनेल निर्माण गरी तरकारी खेती गर्दै आइरहेकी छन् ।

बेमौसमी तरकारी उत्पादन फस्टाउँदै

उनी तरकारी उत्पादनमा लागेको ६ वर्ष भयो । गाउँकै ५५ वर्षीय लोकबहादुर भण्डारीले १६ टहरा निर्माण गरी बेमौसमी तरकारी खेती गरिरहेका छन् । उनीहरू मात्र होइन, यहाँका किसानहरू बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । उनीहरूले प्लास्टिक टनेल निर्माण गरी तरकारी उत्पादन गरिरहेका हुन् ।


बरलाका ५० बढी किसानले खाद्यबाली लगाउन छाडी बाह्रै महिना व्यावसायिक तरकारी खेती गरिरहेका हुन्् । बरालाका करिब २ सय रोपनी बढीमा तरकारी खेती भइरहेको छ । तरकारी खेतीका लागि झन्डै २ सय ५० टहरा बनाइएको छ । बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाइ छ ।


स्थानीय लोकबहादुर भण्डारीका अनुसार केही वर्षसम्म एक सिजन मात्र तरकारी खेती गरेको किसानले अहिले तीन सिजनसम्म तरकारी खेती गर्ने गरेका छन् । ‘एक रोपनीबाट ६/७ मुरी धान आउँछ । त्यसले ४ महिना खान पुग्दैन । तरकारी बेचेर २ लाख बढी कमाइ हुन्छ,’ उनले भने,‘ तरकारीमा लागेपछि सबैले खाद्यबाली लगाउन छाडेका छन् ।’ उनल १० रोपनीमा तरकारी खेतीबाट गतवर्ष २ लाख ५० हजार कमाएको बताए । उनले यस वर्ष ५ लाख कमाउने आशा राखेका छन् । अहिले उनको बारीमा २६ टनेल छन् । व्यावसायिक तरकारी खेतीबाट ३० रोपनी खेत जोडेको र बालबालिकालाई ढुक्कले पढाइरहेको उनको भनाइ छ । हिउँदमा शीतलहर तथा तुसारोबाट तरकारीलाई जोगाउन टनेल बनाइएको हो । त्यस्तै वर्षाको समयमा विभिन्न रोग कीराबाट बचाउन टनेलले सहयोग गरिरहेको किसानको भनाइ छ । स्थानीय सिर्जना केसीले तरकारी खेती गर्न थालेपछि आफूहरूको जीवनस्तरमा धेरै परिवर्तन आएको बताइन् ।


उनका अनुसार नजिकै खोला भएकाले सिँचाइको पनि समस्या छैन । बरला कृषि सहकारीका अध्यक्ष धनीराम खत्रीले सहकारीमा आबद्ध ५० बढी किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका बताए । आर्थिक अवस्था कमजोर भएकाहरू तरकारी खेती गरेर आत्मनिर्भर भएको उनको भनाइ छ । उनका अनुसार किसानहरूले प्लास्टिक बेमौसमी टमाटर लगाउँदै आएका छन् ।


गत वर्ष बरला क्षेत्रबाट मात्र ६० क्विन्टल टमाटर जिल्लाबाहिर गएको उनको भनाइ छ । प्रत्येक वर्ष काउली, बन्दा, करेला, सिमी, बोडीलगायत १० क्विन्टल बढी तरकारी जिल्लाबाहिर पठाइएको उनले जनाए । किसानलाई जिल्ला कृषि विकास कार्यालय र केयूबीके कार्यक्रमले सहयोग गरिरहेको छ । अघिल्लो वर्षदेखि जिल्ला कृषि विकास कार्यालयको सहयोगमा किसानले प्लास्टिक घर बनाई तरकारी खेती गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । उनले जिल्लाभरिका किसानले करिब तीन हजार प्लास्टिक घर बनाई तरकारी खेती गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?