कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करिडोरले जोडिए अनकन्टार गाउँ

तुलाराम पाण्डे

कालिकोट — सान्नी त्रिवेणी–५ का भरतबहादुर बमले तीनतिर चट्टानले घेरिएको सान्नीगाडमा ३० लाख लगानी गरेर पक्की घर निर्माण थालेको ३ महिना पुग्यो ।

करिडोरले जोडिए अनकन्टार गाउँ

५० लाखको इस्टिमेटमा एक सभाहलसहित ३० कोठे पक्की घर निर्माण थालेका बमले पिलरसहितको पक्की घरमा हुम्ला मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्न आधुनिक घर बनाउन थालेका हुन् । ‘सडक नहुँदासम्म त पक्की घर बनाउने कल्पनै गरेको थिइनँ,’ सान्नीगाडको तीरमा पिलरसहितको घर बनाइरहेका बमले भने, ‘मानसरोवर टार्गेट गरेर होटल सञ्चालन गर्ने सोच छ ।’

उनले कर्णाली करिडोर हुम्ला नपुगेसम्म निर्माण गरिएको हलमा दोहोरा चलाउने योजना रहेको सुनाए । वरिपरि चट्टान भए पनि धेरै गाउँको केन्द्र सान्नीगाड भएकाले तालिम गोष्ठी पनि सञ्चालन हुने उनको आशा छ । उनले पहिलो तला बनाउन मात्र २० लाख खर्चिसकेको सुनाए । उनी अचेल सान्नीगाडमा होटल चलाउँछन् ।

कर्णाली नदीको तिरैतिर कालिकोट, बाजुरा हुँदै हुम्ला पुग्ने कर्णाली करिडोरले यहाँका अनकन्टार गाउँबस्ती जोडिएका छन् । भीर, पहारा छिचोल्दै सदरमुकाम मान्मबाट दुई दिनको पैदल लाग्ने यहाँको पलाता र पचालझरना गाउँपालिकाका दर्जनभन्दा बढी गाउँबस्ती कर्णाली करिडोरसँग जोडिएपछि स्थानीयलाई आवागमन मात्र सहज भएको छैन, दुई दिनसम्म पिठ्युँमा बोकेर पुर्‍याउनुपर्ने दैनिक उपभोग्य सामान पनि सहजै गाउँ नजिकैका बजारमा पाइन थालेको छ ।

सडकसँगै विकास निर्माणका सामग्री पनि ढुवानी गर्न सहज भएको छ । स्थानीयले भीर पहराको खोचमा पिलरसहितका पक्की घर निर्माण थालेका छन् । कर्णाली करिडोरले कालिकोटका १७ वटा पहिलेका गाविसलाई नजिक्याएपछि यहाँका लालीघाट, रेगिंल, आम्ताडा, सान्नीगाड, भात्तडी, फुगाड, भुराबगर, जार्रकोट र घाटपारि चौरमाबजार बन्न थालेका छन् । कर्णाली नदीको तीरैतीर कर्णाली करिडोर खुलेपछि स्थानीय तहले करिडोरमाथिका गाउँ पुग्न धमाधम सडक निर्माण थालेका छन् ।

सडक नपुगेको कर्णालीको हुम्ला हुँदै हिल्सा जोड्ने कर्णाली करिडोर निर्माणले तीव्रता लिएसँगै सडकसँग जोडिएका गाउँमा आर्थिक गतिविधि पनि सुरु भएका छन् । सडक आएपछि रास्कोट नगरपालिकाका स्युना, सिप्खाना र फुकोटका केही अगुवा कृषकले व्यवसायी तरकारी खेती सुरु गरेको स्थानीय माधव न्यौपानेले बताए ।

कहिले बजेटको अभाव त कहिले योजनामा डुब्लिकेसनको समस्याले काम नभएको कर्णाली करिडोर तीन वर्षअघि विस्फोटनसहित निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि कालिकोटको जितेदेखि नानीकोट र थिर्पुको बीचमा पर्ने घाटपारी चौरसम्म मालबाहक साना ट्रक, १४ वटा यात्रुबाहक जिप र दुईवटा ट्याक्टर सञ्चालनमा छन् । सडकले गाउँ छोएपछि यहाँका स्थानीय तहले मोटरसाइकल खरिद गरेर आवतजावत गरिरहेका छन् । ‘पहिले त मान्म पुग्न थिर्पुबाट पूरै एक दिन लाग्थ्यो,’ पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘सडक बनेपछि ३ घण्टामा पुगिन्छ ।’ उनले गाडीमा एकै दिनमा मान्म पुगेर कार्यालयको काम गरेर फर्किन सकिने बताए ।

बहुचर्चित कर्णाली करिडोर खुलालु–हुम्ला सडकखण्डअन्तर्गत कालिकोटको जितेदेखि नानीकोटको घाटपारि चौरसम्म ३० किमि सडकको ट््याग ओपन भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म कुल १ सय ४५ किमि निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालिकोटखण्डअन्तर्गत घाटपारि चौरसम्म यात्रुबाहक जिप सञ्चालन गर्न दिएको जनाएको छ । कालिकोटको कडा भीर छिचोल्दै सेनाले ट्याग ओपन गरेपछि शनिबार रारा कर्णाली यातायात समितिले १४ वटा जिप सञ्चालन गरिरहेको समितिका अध्यक्ष हस्त बमले बताए । उनका अनुसार प्रतिकिलोमिटर ९ रुपैयाँ भाडा दर कायम भएको छ ।

सडकको अवस्था बुझ्न तीन सताअघि सदरमुकामबाट जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, प्रजिअ चन्द्रनाथ गौतम, गुल्मपति विज्ञान खनाल, कर्णाली करिडोर प्रमुख मिलन कार्की, समिति अध्यक्ष बमलगायतका सरोकारवाला जितेदेखि जिप चढेर नानीकोटको घाटपारि चौर पुगेर जिप सञ्चालनको अनुमति दिएका थिए ।

कालिकोटको विकट पलाता क्षेत्रका धौलागोह, खीन, थिर्पु, पचाल झरनाको नानीकोट, राम्नाकोटलगायतका विकट गाउँसँग जोडिने सडक निर्माणपछि गाडी सञ्चालन हुँदा स्थानीयका पिठ्युँबाट भारी छुटेको पलाता ८ का अध्यक्ष बज्रबहादुर बमले बताए । गाडी कालिकोटको अन्तिम गाउँ नानीकोट पुगेको देखेपछि कांग्रेसबाट वडाध्यक्ष निर्वाचित बमले अचम्मित हुँदै स्थानीय लवजमा भने, ‘यस्तो अनकन्टार ठाउँमा गाडी आउन्ना (आउलान्) सोचेकै थिइन‘ । उनले आफूले कैलालीको कटासे र बर्दियाको राजापुरबाट पिठ्युँमा नुन बोकेर ल्याएको सुनाउँदै भने, ‘अब छोरा नानीले सुविधा पाउने भए ।’

नेपाली सेनाले कालिकोटका कडा चट्टान फोरेर ट्याग ओपन गरेपछि यस खण्डको कडा चट्टान भएको लालीघाट, गोगनेपानी, लुसा, आमताडा, सान्नीगाड भीर छिचोल्दै जिते फुगाडसम्म ६ महिनाअघि सडक सञ्चालनमा आए पनि त्यसमाथि पैदलहिंड्नुपर्ने बाध्यता थियो । कालिकोटका विकट बस्तीका बासिन्दाको वर्षौंदेखिको गाडी चढ्ने सपना पूरा भएको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् । उनले आफ्नो गाउँपालिकामा कर्णाली करिडोर पुगेपछि भात्तडीबाट कर्णाली नदीबाट डोजर सिकु गाउँ जाने सडक निर्माण गर्न थालेको सुनाइन् । नेपाली सेनाले काम थालेको दुई वर्षमा कालिकोट खण्डको ९० प्रतिशत काम सकेको कर्णाली करिडोर सडक निर्माण कायदल प्रमुख मिलन कार्कीले बताए ।

अबको एक महिनामा करिडोरले बजुरा जोड्नेछ । बाजुराभन्दा अगाडि पनि काम भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको १ सय ४५ किमिमध्ये आधा काम सकिएको जनाउँदै आगामी दुई वर्षभित्र हुम्लाको सलिसल्ला गाडी पुर्‍याउने लक्ष्य पूरा गर्न काम गरिरहेको सडक निर्माण कार्यदलले जनाएको छ । सेनाका अनुसार बाजुराखण्डको पनि अधिकांश भागमा काम सकिएको छ । कालिकोटको सान्नीगाड र फुगाडमा खोला तर्न फलामे बेलिब्रिज निर्माण भइसकेको छ । छ । बाजुरामा दुईवटा बेलिबिज्र बनाउने तयारी भइरहेको छ । करिडोरअन्तर्गत कर्णाली नदीमा २३ वटा ठूला पुल र अन्य १२ वटा पुल बनाउनुपर्नेछ ।

नेपाली सेनाले कालिकोटको जितेस्थित कर्णाली नदीमा हिउँदे याममा गाडी तार्न फेरी हालिए पनि वर्षामा नदी बढेपछि गाडी तार्न कठिनाइ हुने जनाएको छ । ‘निर्माण सामग्री ढुवानी गर्न कठिनाइ हुन्छ,’ डक निर्माण कार्यदल प्रमुख कार्कीले भने ‘७ महिना सबै सामान हेलिकोप्टरमा ढुवानी गर्नुपर्ने बाध्यता छ । त्यही पनि समयमा पाइँदैन ।’ उनले १ सय ४५ किमि लामो सडक भएकाले धेरैजसो इक्विपमेन्ट ढुवानी गर्न हेलिकोप्टरकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाए । कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक केही साँघुरो भएकाले कर्णाली करिडोर सुरुमै ६ मिटर चट्टान फुटाएर फराकिलो बनाइएको सेनाले जनायो ।

हाल सेनाले सडक निर्माणमा होल खोप्न १७ वटा कम्प्रेसर मेसिन, ५ वटा स्काइभेटर, ३ सय ५० स्थानीय कामदार र २ सय २७ जना नेपाली सेना संलग्न रहेको जनाएको छ । सरकारले यस वर्ष कर्णाली करिडोर निर्माणका लागि सेनालाई ३० करोड बजेट विनियोजन गरेको छ ।

करिडोरकअन्तर्गत निर्माण बाँकी रहेको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म कुल २ सय ८१ किमिमध्ये कालिकोट र बाजुरा र हुम्लाको सल्लीसल्लासम्मको १ सय ४५ किमि सडक खण्डमा ३ वटा क्याम्प राखेर सेनाले सडक निर्माण गरिरहेको छ । सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएपछि अचेल कालिकोटको लालीघाट र नानीकोटको राताडाँडामा क्याम्प खडा गरेर विस्फोटनसहितको काम भइरहेको छ । कडा चट्टान भएको अप्ठयारो सडक निर्माणमा अनुभवी नेपाली सेनाले खुलालु सिमिकोट सडकको ३ वर्षभित्र ट्रयाग ओपन गर्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषित गरेको बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सडक निर्माणले गति लिन थालेपछि स्थानीय खुसी छन् ।

कहिले बजेटको अभाव त कहिले ठेकेदारले समयमा काम नगर्दा बजेट फ्रिज जाने समस्याले ग्रसित कर्णाली करिडोर (रुपैडिया हिल्सा सडकखण्ड) अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सिमिकोट सडकमा सडक विभागले आर्थिक वर्ष ०६५/०६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसारको प्रगति भएको थिएन । माटो भएको भाग मात्र कोट्याएर बजेट सके पनि गाडी चल्ने बाटो नबनेको काग्रेस युवा नेता नगेन्द्र विष्टले बताए । कर्णाली करिडोर सडक विभागका कर्मचारी, ठेकेदारलगायतको कमाइ खाने भाँडो मात्र बनेकाले निर्माण जिम्मा नेपाली सेनालाई दिनुपर्ने कालिकोटवासीले माग गरेका थिए ।

कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोटसम्म कुल १ सय ९६ दशमलव ३ सय ४७ किमि लामो कर्णाली करिडोर ०७६ भित्र सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मा लिएको हो । कालिकोटको खुलालुदेखि बाजुराको लैफुसम्म ४०, लैफुदेखि हुम्ला सिमानासम्म ४३ र हुम्ला खण्डमा १ सय १३ दशमलव ३ सय ४७ किमि सडक निर्माणका लागि सरदर प्रतिकिमि ७० लाख लागत पर्ने नेपाली सेनाले जनाएको छ । कर्णाली करिडोरका लागि सडक विभागको कुल २ अर्ब ८४ करोड ११ लाख १६ हजार लागत इस्टिमेट रहेको सडकमा हुम्लाको सिमकोटसम्म ५१ किमिमा सडक विभागले ठेक्का मार्फत काम गरिरेहको छ भने कालिकोट र बाजुरामा सेनाले काम गरिहेको छ ।

प्रकाशित : चैत्र १२, २०७४ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?