कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोट तुुइनमुक्त हुँदै

तुलाराम पाण्डे

थिर्पू कालिकाेट — खिया लागेर चुँडिन लागेको फलामे लठ्ठामा बीच–बीचमा झिक्रा हालेर कर्णाली नदी तर्नुपर्ने वर्षौको बाध्यताबाट पलाताबासी मुक्त भएका छन् ।

कालिकोट तुुइनमुक्त हुँदै

कर्णाली करिडोरले पलाताको घाटपारी चौरलाई नजिक्याए पनि गाउँ पुग्ने बेल्के ढुंगाको जीर्ण पुल विस्थापन नहुँदा ज्यान जोखिममा पारेर नदी तर्नुपर्ने बाध्यताबाट नयाँ पुल बनेपछि पलाताबासी मुक्त भएका हुन् । पुलको दायाँबायाँ साइडमा ग्यावीन जाली हाल्न र लठ्ठा कस्न बाँकी रहे पनि पुरानो जीर्णभन्दा सुरक्षित भएकाले स्थानीयले यहीँबाट आवतजावत गर्न थालिसकेका छन् ।

दुई वर्षअघि केपी ओली सरकारको तुइन व्यवस्थापन घोषणासँगै यहाको जीर्ण पुलको ठाउँमा फलामे पक्की पुल निर्माण प्रक्रिया अघि बढे पनि उपभोक्ताको ढिलाइले काम भएको थिएन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पुल बनाउन ताकेता गरेका थिए । कर्णाली नदीमा पुल बनेपछि पलाताका थिर्पू, धौलागोह र खीनका १६ हजार बासिन्दालाई आवागमनमा सहज भएको छ । ‘जीवन जोखिममा पारेर नदी तर्नुपर्ने बाध्यताको अन्त्य भयो,’ पलाता ९ का कमलराज बमले भने, ‘जीर्ण पुल कतिखेर चुँडिएर नदीमा खसिन्छ भन्ने डर हुन्थ्यो, अब त्यसको अन्त्य भयो ।’

सरकारको झोलुंगे पुल क्षेत्र विकास कार्यक्रमअन्तर्गत पलाता जोड्ने पुल बनेपछि स्थानीय खुसी भएका छन् । ‘नयाँ पुलबाट चामल बोकेर ल्याउन सजिलो भयो,’ स्थानीय कला न्यौपानेले खुसी हुँदै भनिन्, ‘पुल बनेपछि विहानबेलुकी, दिनरात जतिबेला पनि भारी बोकेर आउन जान सजिलो भयो ।’

कालिकोटको सबैभन्दा विकट पलाता क्षेत्रलाई जोड्ने झोलुंगे पुल बनेपछि स्थानीयलाई आवतजावत गर्नमात्र सहज भएको छैन, गाउँपालिकाका मोटरसाइकल पनि झोलुंगे पुलबाट थिर्पु पुर्‍याउन सहज भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले पुल नहुँदा सदरमुकाम आउजाउ गर्न स्थानीयलाई सास्ती हुने गरे पनि अब त्यसबाट मुक्ति पाएको सुनाए । ‘कर्णाली करिडोरले गाउँ नजिक्यायो,’ उनले भने, ‘गाउँ पुग्ने झोलुंगे पुलले सडकसँग जनता जोड्यो ।’

सरकारले दुई वर्षअघि तुइन विस्थापन घोषणा गरेर अभियान सञ्चालन भएपछि कालिकोटमा १६ वटा झालुंगे पुल निर्माण भएका छन् । यसले तुइनमा झुण्डिएर जोखिमपूर्ण नदी वारपार गर्नु पर्ने बाध्यताबाट कालिकोटबासी मुक्त भएका छन् । सशस्त्र द्वन्द्वमा क्षतिग्रत बनाइएका तिला र कर्णाली नदीका ६ वटा पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै २०६४ मै निर्माण भए पनि अन्य ठाउँमा हालिएका तुइन विस्थापन नहुँदा स्थानीयले जोखिमपूर्ण तरिकाले नदी वारपार गर्थे । जिल्ला समन्वय समितिका इन्जिनियर चक्रबहादुर शाहीले कालिकोट अब ‘तुइन मुक्त’ भएको बताए । ‘मुख्य नदी र ठूला खोलामा तुइन छैनन्,’ उनले भने, ‘केही ठाउँमा स्थानीयले नदी पारीको घाँसदाउरा ल्याउन लठ्ठा हालेको सुनेपछि जिल्ला समन्वय समितिको रेर्डमा कतै तुइन छैनन् ।’ कालिकोटमा पुराना र नयाँ गरी ६० वटा झोलुंगे पुल निर्माण भइसकेका छन् ।

पुलको विकल्पमा बनाइएका तुइनबाट नदी तर्दा स्थानीयलाई सास्ती थियो । २०५८ यता तुइनबाट खसेर कालिकोटमा मात्र ११ जनाले ज्यान गुमाएका थिए भने एक सय बढीका हातका औँला च्यापिएर काटिएका छन् । हाल कालिकोटको खुलालु, भात्तडी, लालीघाट, जीते, लाफा, पान्तडी, पिली, भिग्मलगायतका ठाउमा तिला र कर्णाली नदीका पुरै तुइन विस्थापन भइसकेका छन् भने रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायतका खोलामा पनि झोलुंगे पुल बनेका छन् । कालिकोटको सबैभन्दा बढी जनताले आवतजावत गर्ने खुलालु तुइन विस्थापन भएर झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका बासिन्दालाई आवागमनमा निकै सहज भएको छ । जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीले जिल्लाका सबै ठाउँमा पुल बनिसकेकाले केही समयभित्रै जिल्ला समन्वय समितिले तुइन मुक्त जिल्ला घोषणाको तयारी गरिरहेको बताए ।

पुल नहुँदा नदी तर्न सास्ती हुने गरेको सुनाउँदै नरहरिनाथ ८ का रमेश विष्टले पुल बनेपछि सदरमुकाम मान्मलगायत सुर्खेत नेपालगन्ज आउजाउ गर्न सहज भएको सुनाए । खुलालु तुइन बनेपछि लालु, माल्कोट, कुमालगाउ, कोटवाडा र रुप्साका २० हजार बढी बासिन्दालाई नदी तर्न सहज भएको छ । गाउँ पुग्ने झोलुंगे पुल बने पनि यहि ठाउँमा कर्णाली करिडोरको पक्की पुल सिलान्यास भएको पाँच वर्ष बित्दासमेत काम भएको छैन । तत्कालीन भौतिक योजनामन्त्री बिमलेन्द्र निधिसहित पाँजना मन्त्रीले सिलान्यास गरे पनि ठेकेदारको लापरवाहीले काम अघि नबढेपछि ठेक्का रद्द भएर पुन प्रक्रिया सुरु भएको छ ।

प्रकाशित : चैत्र १७, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?