कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दशकदेखि सिँचाइ आयोजना अधुरै

ज्योति कटुवाल

दैलेख — गीताचौर–रावतकोट मझौला सिँचाइ आयोजनाको काम सुरु भएको तीन दशक बढी भइसक्यो तर अझैसम्म सम्पन्न हुन सकेको छैन ।

तीन दशकदेखि सिँचाइ आयोजना अधुरै

सिँचाइ आयोजनामा काम गरेका मजदुरले समेत अझै ज्याला पाएका छैनन् ।

२०२८ सालमा सर्भे गरिएको योजनाको काम २०४२ सालदेखि सुरु भएको थियो । भैरवी गाउँपालिका ३ की मनीषा न्यौपानेले लामो समयदेखि ज्याला नपाएपछि जीविकोपार्जनमा समेत समस्या भएको बताइन् । उनले आफूले काम गरेको ८० हजार रुपैयाँ आयोजनाले नदिएको सुनाइन् । ‘पहिले पहिले भुक्तानी छिटै दिन्छौं भन्दै काममा लगाए,’ उनले भनिन्, ‘तर पाँच वर्षसम्म ज्याला नै पाइएन । विभिन्न निकायहरूमा उजुरीसमेत दिइयो तर कसैले वास्ता गरेनन् ।’ उनले कर्जा लिएर घरखर्च चलाउनुपर्ने बाध्यता भएको बताइन् । भैरवीकै पदमकला रोकायले समेत ४० हजार बढी ज्याला लिन बाँकी छ ।

आफ्नै गाउँमा रोजगारी पाइयो भन्दै मजदुरी गरे पनि ज्यालामा बेवास्ता भएको उनको भनाइ छ । सिँचाइ योजना पूरा नहुँदा यहाँका हजारौं बिघा खेत बाँझै छन् । ‘घरबारीमा काम छोडेर सिँचाइ आयोजनामा काम गर्दै आयौं । अधिकांशले ऋण काढेर घरखर्च चलाउँदै काम गर्‍र्यौं तर, न ज्याला पाइयो न योजना सम्पन्न भयो,’ उनले भनिन्, ‘कतिपयले त्यसबेला लिएको कर्जाको ब्याजसमेत तिर्दै आइरहेका छौं ।’

२०४२ सालमा सुरु भएको योजना अझैसम्म लथालिंग भएपछि स्थानीयले लामो समयदेखि सिंँचाइ समस्या भोग्दै आएका छन् । सिँचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष योजनाको लागि टेन्डर खोल्दै आएको छ तर, अन्तिम समयमा हुने कामले गुणस्तरीय हुन सकेको छैन । सिँचाइ डिभिजन दैलेख र सुर्खेतमा योजनामा कति रकम खर्च भयो भन्ने तथ्यांक नै छैन । ३३ वर्षदेखि निर्माण सुरु गरिएको आयोजना क्षेत्रफलको हिसाबले पश्चिमका पहाडी जिल्लामा सबैभन्दा ठूलो हो । ६ करोड ३० लाखको लगानीमा योजनाको काम सम्पन्न हुने गरी डिजाइन गरिएको थियो ।

सिँचाई डिभिजन कार्यालय, दैलेखका प्रमुख मेघराज ज्ञवालीले कार्यालय ०७२ सालमा स्थापना भएकाले त्यसअघिको लगानीबारे जानकारी नभएको बताए । कार्यालयमा आर्थिक वर्ष २०६८/६९ सालमा ३८ लाख सम्झौता भएको तथ्यांक कार्यालयमा रहेको बताए । उनका अनुसार आर्थिक वर्षको अन्त्यमा ८ लाख मात्र भक्तानी भएकाले मजदुरले ज्याला नपाएका हुन् । उनका अनुसार डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियरले गरेको गलत इस्टमेटका कारण कामदारले ज्याला नपाएको बताए । धेरै किसानलाई लाखौंका दरमा रकम तिर्न नसक्दा आयोजनाको काम अलपत्र परेको छ ।

प्रकाशित : चैत्र २५, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?