कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरनाको प्रवर्द्धन गर्न महोत्सव

प्रधानमन्त्री ओली, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, कर्णाली प्रदेशका मुख्यमन्त्री आउने भनिए पनि साँझसम्म नआएपछि स्थानीय निराश भएर फर्किए ।
तुलाराम पाण्डे

पणैछा (कालिकोट) — पचालझरनाको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पहिलोपल्ट महोत्सवको आयोजना गरिएको छ । ‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान पचालझरना हाम्रो पहिचान, सुशासन, विकास र समृद्धि हाम्रो अभियान’ नाराका साथ नयाँ वर्षसँगै वैशाख १ गते पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको हो । कालिकोटको पचालझरना गाउँपालिकाद्वारा आयोजित महोत्सव ५ गतेसम्म चल्नेछ ।

झरनाको प्रवर्द्धन गर्न महोत्सव

महोत्सवमा कालिकोटको परम्परागत हुडे नाच, देउडा खेल, मागल झोला, स्थानीय उत्पादनका परिकार, जडीबुटी मुख्य आकर्षक छन् । महोत्सवमा लोक तथा दोहोरीगायक कृष्ण कँडेल नेतृत्वको इन्द्रणी समूहसहित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति हुनेछ ।


महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि नआएपछि दुई दिन हिंडेर प्रधानमन्त्री हेर्न आएका सर्वसाधारण निराश छन् । महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले गरे । उनले पचालझरनालाई सूचीकृत गरेर पर्यटकीय स्थल बनाउनसके कालिकोट मात्र नभएर कर्णालीकै समृद्धिका लागि आधार खडा हुने बताए । पचालझरना पुग्ने पैदलमार्ग, होम स्टेलगायतका पूर्वाधार निर्माणमा जोड दिए ।


स्थानीय पचाल देवताको नामबाट पचालझरना नामकरण गरिएको झरना खाडाचक्र नगरपालिका र पलाता गाउँपलिकाको बीचमा पर्छ । समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना तेह्रथुमको ह्यातुङ झरनाभन्दा अग्लो भए पनि सरकारी रेर्कडमा नहँुदा ओझेलमा परेको जनता मावि खार्दुका प्रधानाध्यापक तुलाराज कठायतले बताए ।
ह्यातुङ झरना ३ सय ६५ मिटर अग्लो छ । त्यसभन्दा कालिकोटको पचालझरना १६ मिटर अग्लो रहेको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । पचलझरना पर्यटन बोर्डमा सूचीकृत छैन । पचालझरनाको प्रचारप्रसार गरी पर्यटन भित्र्याउने, आवश्यक भौतिक पूर्वाधारका लागि सरकारको ध्यानाकर्षण गर्ने र पचालझरनामार्फत रारा गन्तव्यको आधार तय गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।


‘एसियामै अग्लो भए पनि प्रचारप्रसार अभावले पचालझरना ओझेलमा छ,’ गाउँपालिका अध्यक्ष सेजुवालले भने, ‘महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनेछ ।’ विकट क्षेत्रमा पहिलो पटक सञ्चालन भएको महोत्सव हेर्न नयाँ वर्षको दिन मात्र ८ हजार स्थानीय सहभागी भएको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् । उनले महोत्सवमा २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको बताइन् ।


कर्णालीको ‘गेट वे’ का रूपमा रहेको कालिकोटस्थित पचालझरनालाई सूचीकृत गर्न पहल गर्ने महोत्सवमा सहभागी सभ्यता र जैविक विविधताको धनी क्षेत्र भएकाले आवश्यक प्रचारप्रचार र भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारमा पहल गर्ने बाचा गरे । पचालझरना पुग्न कालिकोटको खाडाचक्र २ जितेबाट कर्णाली नदी तरेर नदीको तीरैतीर नानीकोट र राम्नाकोटको लाफास्थित कर्णाली नदीमाथिको झोलुंगे पुल तरेपछि उकालो लाग्नुपर्छ । लाफागाड खोलाबाट ३ घण्टा उकालो हिंडेपछि आउने खार्दु गाउँबाट एक घण्टा सोझो बाटो पैदल हिंडेपछि पचालझरना पुग्न सकिन्छ । पुग्न बाटामा पसल र होटल नभएकाले तयारी खाना बोकेर जानुपर्ने अवस्था रहेको स्थानीय प्रसिद्ध कठायतले बताए । उनले पचालझरनामा पर्यटक आउन थालेपछि केही ठाउँमा होटल पसल सञ्चालन गर्न थालिएको जानकारी दिए ।


प्रधानमन्त्री नआउँदा स्थानीय निराश
वैशाख १ गते रारा कर्णाली महोत्सवको मुगुमा उद्घाटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली कालिकोट आउने प्रचार सुनेर नयाँ वर्षको दिन घरमा खानासमेत नखाएर टाढाटाढाका स्थानीय पचालझरना पुगे । प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत अतिथि महोत्सव उद्घाटन गर्न आउने भनिए पनि साँझसम्म नआएपछि स्थानीय निराश भएर फर्किए ।


प्रधानमन्त्री कालिकोट आउने कार्यक्रम भए पनि जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट उद्घाटन गर्नुपर्ने आकस्मिक कार्यक्रम बनेकाले आउन नसकेको प्रजिअ चन्द्रनाथ गौतमले जानकारी दिए ।


उनले जिल्ला स्तरका सरोकारवाला पनि दुई दिनदेखि महोत्सवस्थलको सुरक्षा र अन्य व्यवस्थापनमा खटिएको सुनाए । एउटै पनि प्रहरीचौकी नभएको पचालझरनामा सुरक्षार्थ थिर्पू, रास्कोट र सदरमुकाम मान्मबाट जनपद प्रहरी र सेना परिचालन गरिएको थियो ।

प्रकाशित : वैशाख ३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?