कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो भर्ना अभियान

‘मिहिनेत गरेर पढ्नुहोस् रोजगारीको चिन्ता छैन,’ मन्त्री बस्नेतले भने, ‘पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारेन्टी गर्ने काम सरकारको हो ।’
भीमबहादुर सिंह

जाजरकोट — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बालबालिकालाई विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियानको सुरुवात गरेका छन् । मन्त्री बस्नेतले शिव मावि कालेगाउँमा बुधबार एक बालक र एक बालिकालाई भर्ना गरेर अभियानको सुरुवात गरेका हुन् । 

सुरु भयो भर्ना अभियान

मन्त्री बस्नेतले भेरी नगरपालिका १ का प्रमोद रावतलाई १ कक्षा र शर्मिला विकलाई ७ कक्षामा भर्ना गरेर अभियानको सुरुवात गरे । उनले भर्नासँगै ती बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्रीसमेत उपलब्ध गराएका छन् । विद्यार्थी भर्ना अभियान कार्यक्रममा मन्त्री बस्नेतले प्रत्येक व्यक्तिले १ विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने सामाजिक दायित्व भएको बताएका छन् ।

गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा विद्यार्थीमा मिहिनेत तथा इच्छाशक्तिको खाँचो भएको औंल्याउँदै मन्त्री बस्नेतले हरेक दिन विद्यार्थीले एउटा नयाँ कुरा अनिवार्य सिक्नुपर्ने बताए । उनले एक/दुईजना विद्यार्थी भर्ना गर्नमा मात्र यो अभियान सीमित नभई गुणस्तरीय शिक्षा प्राप्तिका लागि कुनै पनि बालबालिका वञ्चित नहुने अवस्थाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए ।

‘कुनै पनि बालबालिका विद्यालय बाहिर रहने अवस्था सिर्जना नहोस्,’ मन्त्री बस्नेतले भने । बस्नेतले पढेर रोजगारी पाइँदैन भन्ने चिन्ता नलिन विद्यार्थीहरूलाई सुझाए । ‘मिहिनेत गरेर पढ्नुहोस् रोजगारीको चिन्ता छैन,’ उनले भने, ‘पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारेन्टी गर्ने काम सरकारको हो ।’

देशैभरि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेका बेला जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटले पनि जिल्लाका ४ सय ४८ विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । इकाइले ‘हामी सबैको इच्छा अनिवार्य नि:शुल्क आधारभूत शिक्षा, विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई नजिकको विद्यालयमा

भर्ना गरौं, बालबालिकाको शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न जिम्मेवार बनौं’ भन्ने मूल नाराका साथ जिल्लावासीमा विद्यार्थी भर्नाका लागि सार्वजनिक सूचनासमेत गरेको छ ।

विद्यालय जाने उमेर समूहका ८० हजार बालबालिकामध्ये ४ हजार ५ सय विद्यालयभन्दा बाहिर रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । यस्ता बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि सरोकारवाला सबैले प्रचारप्रसार गरेर सहयोग गरिदिन सम्पूर्णमा अनुरोध गरेको सिंहले बताए । जिल्लाभरका विद्यालयमा बुधबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको उनले बताए । शिक्षक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको कमी, अमर्यादित परीक्षा प्रणाली, पठनपाठनमा नियमितता नहुनुलगायत चुनौतीका कारण शैक्षिक गुणस्तर वृद्धिमा समस्या आएको सिंहले बताए । जिल्लामा ७ सय २ शिक्षक कम भएको र १ सय ५० विद्यालय शिक्षक दरबन्दीविहीन रहेको उनले बताए ।

परिवर्तनको अनुभूति हुनुपर्छ : मन्त्री बस्नेत

मन्त्री बस्नेतले राजनीतिक व्यवस्थाको परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन आउनुपर्ने बताएका छन् । जनतामा परिवर्तनको अनुभूति भएन भने वर्तमान राजनीतिक व्यवस्थाप्रति पनि अविश्वास बढ्ने उनले बताए । पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

राजनीतिक परिवर्तनसँगै जनताको सामाजिक तथा आर्थिक जीवनमा परिवर्तन जरुरी भएको बस्नेतले बताए । जनताको अवस्थामा परिवर्तन नगरेर समृद्धिको खोजी गर्न नमिल्ने मन्त्री बस्नेतले बताए । ४५ प्रतिशत वनजंगल रहेको नेपालमा ६० प्रतिशत काठ भारतबाट आपूर्ति गरेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

उनले वनको सदुपयोगका साथै वृद्धिमा पनि जोड दिने बताए । वनजंगलबाट देखिने गरेर रोजगारी सिर्जना गर्ने उनले बताए । वातावरण विकास बाधक नहुनुपर्ने बस्नेतले बताए । वनजंगलको सदुपयोगले वनक्षेत्र घट्छ भन्ने परम्परागत सोच मात्र भएको मन्त्री बस्नेतले बताए । जाजरकोटमा उपलब्ध प्राकृतिक स्रोत साधनबाट स्थानीय जनताले लाभ लिन नसकेको उनले बताए ।

वनक्षेत्र घट्न नदिएर उक्त क्षेत्रको कसरी बहुआयामिक उपयोग गर्ने भनेर मन्त्रालय लागि परेको उनले बताए । रोजगारी तथा जीविकोपार्जनका लागि वनक्षेत्रको सदुपयोग गर्नुपर्ने उनले औंल्याए । वन नीतिलाई गरिबमुखी बनाउन लागेको उनले बताए । अर्को प्रसंगमा मन्त्री बस्नेतले वर्तमान सरकार बलियो भएकाले आगामी ५ वर्षमा देखिने गरी जनताको विकास तथा समृद्धि हुने बताए ।

मन्त्री बस्नेतले जलाशययुक्त नलसिङगाड जलविद्युत् आयोजनाको निर्माण कार्यलाई ५ वर्षभित्रै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको बारेकोट गाउँपालिकामा रहेको फलाम खानी, नलगाड नगरपालिकामा रहेको सिसा खानी, भेरी नगरपालिकाको भुरमा रहेको ग्रेफाइटलाई आगामी आर्थिक वर्षमै उत्खनन गरी प्रशोधनमा लैजाने बताए ।

प्रकाशित : वैशाख ७, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?