कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमै छैन बैंकको भरपर्दो सेवा

सेवाग्राही घण्टौं लाइन लाग्न बाध्य
सुर्खेत शाखामा मात्रै ५० हजार ग्राहक
वीरेन्द्रनगरमा अर्को शाखा थप्न माग
प्रकाश अधिकारी

सुर्खेत — वीरेन्द्रनगर २ का कमल खड्का चेक साट्न बुधबार बिहान साढे ९ बजे राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखा पुगे । त्यहाँ उनीजस्तै सेवाग्राहीको लाइन बढ्न थालिसकेको थियो । कमल मंगलबार पनि बैंक पुगेका थिए ।

राजधानीमै छैन बैंकको भरपर्दो सेवा

लामो लाइन र चेक साट्ने समय सकिन थालेपछि उनी त्यत्तिकै फर्किए । ‘जसरी पनि चेक साट्नैपर्ने भएकाले बैंक खोल्नुअघि नै हतार–हतार आएँ,’ उनले भने, ‘यहाँ आइपुग्दा त २०–२५ जना सेवाग्राही लाइन लागिसकेका रहेछन्, धन्न समयमा नआएको भए आज (बुधबार) पनि चेक साट्न नपाइने रहेछ ।’

जुम्लारोडस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय चेक साट्न दैलेख आठबीस नगरपालिका डाबका चन्द्रबहादुर शाही पनि पुगेका थिए । लाइनको पुछारमा रहेका उनी भन्दै थिए, ‘१० नबज्दै त यस्तो चाप छ अलि ढिला आएको भए त बर्बादै हुने रहेछ ।’ उनी ११ बजेतिर आफ्नो पालो आउन सक्ने अनुमान सुनाउँदै थिए ।

वाणिज्य बैंकमा एक/दुई घण्टा लाइन लाग्नु त स्वभाविक भएको सेवाग्राहीको अनुभव छ । कार्यालय समयअगावै आएर लाइन नलाग्ने हो भने कामै बन्दैन । थोरै ढिला गर्नेहरू खाली हात फर्कनुपर्ने बाध्यता छ । ‘दुई बजेअघि आएर लामो लाइन लागेपनि गेट बन्द भइहाल्छ, भीडभाड छिचोलेर लाइन लाग्यो अन्तमा पैसा झिक्नै सकिन्न,’ अर्का एक सेवाग्राहीले भने ।

सटही काउन्टरमात्र होइन, वाणिज्य बैंकको एटीएमबाट रकम झिक्नसमेत सेवाग्राहीले उस्तै सास्ती भोग्नुपरेको छ । वीरेन्द्रनगरमा वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेडका अतिरिक्त दर्जन बढी निजी बैंकहरू छन् । मेगा, बैंक अफ काठमाडौं, कुमारी, सिटिजन्स, सिद्धार्थ, इन्भेस्टमेन्ट बैंक, लक्ष्मी, सानिमा, प्रभु विकास, ग्लोबल आईएमई, एभरेस्ट बैंक, एनआईसी एसिया, जनता बैंकका शाखाहरू छन् ।

बैंकिङ कारोबार गर्ने दर्जनौं सहकारी, लघुवित्त संस्थाहरू छन् । तैपनि, वाणिज्य बैंकमा सेवाग्राहीको चाप घटेको छैन । वाणिज्यमा सरकारी, संस्थागतसंगै व्यक्तिगत कारोबार पनि उत्तिकै हुने गरेको छ । संघीय संरचना निर्माण भएसंगै स्थानीय तहमा निजी बैंकहरू स्थापना हुने क्रममा छन् । जिल्लाका ९ वटै तहमध्ये अधिकांशमा बैंक सञ्चालनमा छन् ।

प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले वीरेन्द्रनगरमा प्रादेशिक संरचना निर्माण, बढ्दो जनघनत्वलाई मध्यनजर गरी तत्काल वाणिज्य बैंकले शाखा विस्तार गर्नुपर्ने बताए । ‘वीरेन्द्रनगर प्रदेशकै राजधानी हो, यहाँ सेवाग्राहीको चाप थेगिनसक्नु छ’ उनले भने, ‘सेवाग्राहीलाई सास्ती नभई सुविधा दिलाउनतर्फ बैंकको ध्यान पुग्नुपर्छ ।’ निजी क्षेत्रले वीरेन्द्रनगरमा वाणिज्य बैंकको शाखा विस्तार गर्न थुपै्रपटक आग्रह गरेको बताए ।

वाणिज्य बैंकमा संस्थागत/व्यक्तिगत गरी ५० हजार बढी ग्राहक छन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक होतराम योगीले कर्मचारी जनशक्ति न्यून र ग्राहकको चाप बढी हुँदा दैनिक कार्य सञ्चालनमा असर परेको बताए । ‘केन्द्रलाई वीरेन्द्रनगरमा शाखा चाहियो भनेको भन्यै छौं, हाम्रो माग सुनुवाइ नै हुँदैन,’ प्रबन्धक योगीले भने, ‘अब प्रदेश सरकार बनेको छ, सरकारले पहल गर्छ की ?’ उनले प्रदेश सरकार, उद्योगी/व्यवसायीले आग्रह गरे राजधानीमा थप शाखा विस्तार हुन सक्ने बताए ।

यसैबीच, वाणिज्य बैंकले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहेल्कुनामा शाखा विस्तार गरेको छ । प्रबन्धक योगीले सशस्त्र द्वन्द्वले पश्चिमको विद्यापुरबाट विस्थापित शाखालाई पुन:स्थापना गर्न पहल भइरहेको जानकारी दिए । ‘वैशाख मसान्तभित्रै शाखा पुन:स्थापना भइसक्छ, त्यसको तयारी भइरहेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १३, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?