कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिम्ना सडक कालोपत्रे

भीमबहादुर सिंह

जाजरकोट — खलंगा–रिम्ना सडक खण्डको ६ किलोमिटर दूरीमा कालोपत्रे सुरु भएको छ । सडक कालोपत्रे भएपछि स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै धूलोको सास्ती हट्ने भएको छ ।

रिम्ना सडक कालोपत्रे

खलंगादेखि कालेगाउँसम्मको सडक अबको तीन साताभित्र कालोपत्रे पूरा हुने भएको छ । गत आर्थिक वर्षको माघदेखि सडकको स्तरोन्नतिको काम सुरु भएको थियो ।

गत चैतसम्म सडक चौडा गर्ने, ग्याबिङ, नाली, मेसिनरी वाल, फिलिङ, ग्राभेललगायत कार्य पूरा गरेर शुक्रबारदेखि कालोपत्रे गर्न सुरु गरिएको हो । खलंगाको शान्तिचौताराबाट कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ ।

विगतमा सडकको दर्जनौं स्थानमा पहिरो खस्ने, हिलाम्मे तथा धुलाम्मे हुँदा यात्रुलाई आवतजावतमा समस्या हुने गरेको थियो । कच्ची सडक छेउछाउमा विभिन्न निर्माण सामग्री, गिट्टी, बालुवा, माटो, ढुंगालगायत सामग्री यत्रतत्र राख्दा, खाल्डाखुल्डी, पटकपटकको पहिरो र हिलोले आवजावतमा थप समस्या हुने गरेको स्थानीय कृष्ण शाहीले बताए ।

खलंगा सिरम्ना सडक खण्डमा आवतजावत गर्न एक घण्टा बढी समय लाग्ने गरेकामा कालोपत्र भएपछि बढीमा २०/२५ मिनेट समय लाग्ने र सहज यात्रा हुने शाहीले बताए । रोजेन्द्र/जलजला जेभी काठमाडौंले १२ करोड लागतमा सडकको स्तरोन्नति तथा कालोपत्रेको जिम्मा लिएको छ । कम्पनीले दुई वर्षमा सडकको ६ किलोमिटर दूरी कालोपत्रे गर्ने सर्तमा कार्य जिम्मा लिएको हो ।

सडक डिभिजन कार्यालयले खलंगा–रिम्ना बाँकी खण्ड, खलंगा पाँचकाटिया, छेडा थलह बाटुले, जाजरकोट–डोल्पा, मध्यपहाडी लेकमार्गलगायत सडकको स्तरोन्नतिमा बेवास्ता गरेको पाइएको छ । सडक विभाग र डिभिजन कार्यालय चौरजहारीलगायतले बेवास्ता गर्दै आएको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताए । दशकअघि ट्रयाक खुलेका उक्त सडक स्तरोन्नति हुन नसक्दा यात्रुलाई आवतजावतमा सास्ती भएको अध्यक्ष शाहले बताए । जाजरकोटमा रणनैतिक महत्त्वका आधा दर्जन सडकको स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको शाहको भनाइ छ ।

प्रकाशित : वैशाख २२, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?