कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नहुँदा लाप्सोबाट खोला वारपार

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिकाको कजेरी र सिद्धकुमाख गाउँपालिकाको ढोडचौर खोलामा पुल बनाउन स्थानीयले बारम्बार सम्बन्धित निकायमा माग गर्दै आएका छन् । तर, सुनुवाइ नहुँदा स्थानीय काठको लाप्सो राखेर खोला तर्न बाध्य छन् ।

पुल नहुँदा लाप्सोबाट खोला वारपार

त्यस्तै, कालीमाटी गाउँपालिका–२, सुनबासका स्थानीयले चिसेखोलीमा झोलुंगे पुल माग गरेको दुई दसक बित्यो । उनीहरूको पनि माग सुनुवाइ नहुँदा काठको लाप्सो राखेर जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । स्थानीय दलबहादुर खत्री वर्षातको समयमा साना बालबालिका विद्यालय जानबाट वञ्चित हुने र मेलापातका लागि जाने बेला पनि समस्या हुने भएपछि काठको लाप्सो राख्न बाध्य भएको बताउँछन् ।

चिसेखोलीका साथै सेतीखोला नजिकै शारदा खोलामा समेत पुल नभएपछि बारम्बार समस्या पर्ने गरेको उनले बताए । शिद्धकुमाखको त्रिवेणीमा पनि स्थानीयले यहि समस्या व्यहोर्दै आएका छन् । अहिलेसम्म झोलुंगे पुल नबनेपछि स्थानीयले धेरै कष्ट भोग्दै आएका छन् । त्रिवेणीखोलामा त काठको लाप्सो नभएपछि स्थानीय जोखिम उठाई खोला वारपार गर्न बाध्य छन् । सल्यानमा यी तीन मात्र होइनन्, स्थानीयको मागअनुसार पुल नबन्दा करिब तीन खोलामा लाप्सोको भरमा पुल वारपार गर्नुपर्ने बाध्यता छ । बर्खाको समयमा लाप्सो खोलाले बगाउँदा झन् सास्त हुन्छ ।

शारदा नगरपालिका–६ का दिलिपकुमार बुढाथोकी सम्बन्धित निकायले बेवास्ता गर्दा बर्खामा वर्षेनि दु:ख पाइने गरेको बताउँछन् । ‘लाप्सो हिउँदभरि प्रयोग गर्न सकिन्छ, बर्खा लागेपछि बगाइहाल्छ,’ उनले भने, ‘गाउँघरमा सरकार आयो भन्छन्, तर अहिलेसम्म समस्या जस्ताको तस्तै छ ।’ बस्ती खोला वारी र खेत पारी हुँदा थप समस्या हुने गरेको उनले बताए ।काठको लाप्सोमा दायाँबायाँ बार नहुँदा बालबालिकालाई थप जोखिम हुने गरेको छ । ‘बर्खामा पानी परेको समयमा खोला तर्न नसक्दा ढोडचौर बजार जान पाइँदैन, कोही बिरामी परेमा उपचार गर्न लैजान गाह्रो हुन्छ,’ सिद्धकुमाख गाउँपालिकाका स्थानीय कुलराज रेउलेले भने, ‘बालबच्चालाई केही भइहाल्छ कि भन्ने चिन्ता उत्तिकै हुन्छ ।’ झोलुंगे पुल निर्माण गर्ने संस्था शारदा नेपालले ६ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार जिल्लाभरिका विभिन्न खोलामा एक सय ८० स्थानमा पुलको आवश्यकता देखाइएको थियो । तीमध्ये अधिकांश स्थानमा पुल बने पनि केही ठाउँमा बजेट अभावले पुल बनेका छैनन् । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्री तत्काल ५/६ स्थानमा पुल बनाउनुपर्ने अवस्था रहेको बताउँछन् ।

बनगाडकुपिण्डे नगरपालिकाका मेयर गोबिन्द पुनले बाँमेको पल्नोपट्टि भेरी बगिरहेको र यता बनगाडखोलामा केही ठाउँमा पुल बने नगरपालिकाभित्रका सबैलाई आउजाउमा सहज हुने बताउँछन् । उनका अनुसार नगरपालिकाभित्र सातवटा झोलुंगे पुल बनेका छन् । त्यस्तै, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी गाउँपालिकामा दुईवटा झोलुंगे पुलको आवश्यकता रहेको बताउँछन् ।

प्रकाशित : वैशाख २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?