कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षौंपछि सिँचाइ सुविधा

सिँचाइ समस्या भएकाले अधिकांश युवा रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको समेत अन्त्य
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाका–३ चौकीमा वर्षौंपछि सिँचाइ सुविधा पुगेको छ । पक्की संरचना सहितको सिँचाइकुलो निर्माण भएपछि चार सय बढी किसान परिवारलाई तरकारी र अन्नबाली खेतीमा सहयोग पुगेको छ ।

वर्षौंपछि सिँचाइ सुविधा

सिँचाइ कुलोबाट एक सय ७५ हेक्टर खेतमा सिँचाइ सुविधा पुगेको हो । चौकीका डम्बर रेउलेले यसअघि सिँचाइ समस्याले धान खेतीमा समस्या भएको बताए । उनले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि उत्पादन बढ्ने र जीविकोपार्जनमा सजिलो हुने बताए । व्यावसायिक तरकारी खेती गर्न समेत सहज भएको उनको भनाइ छ ।


सिँचाइ सुविधा पुगेपछि गहुँ लगाउन आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको बताइन् । ‘आकाशेपानी नपर्दा खेत बाँझै राख्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘अब वर्षमा तीन बालीसमेत लगाउन सजिलो भएको छ ।’ स्थानीय भीमबहादुर कुँवरले वर्षौंपछि सिँचाइ सुविधा पुगेको बताए । तीन दशकदेखि स्थानीयले विभिन्न निकायमा सिँचाइको माग गर्दै आएको उनको भनाइ छ । ‘गत वर्षसम्म हिउँदमा खेत बाँझै थिए । किसानले वर्षौंदेखि गहुँबाली लगाउन पाएका थिएनौं,’ उनले भने, ‘पक्की सिँचाइ कुलो बनेपछि बाह्रै महिना सुविधा हुनेछ ।
अन्न र तरकारी उत्पादनमा समेत वृद्धि हुने आशा छ ।’ सिँचाइ समस्या भएकाले अधिकांश युवा रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उनको भनाइ छ । उनले गाउँमै तरकारी खेती गरेर स्वरोजगार बन्न सकिने अवस्था आएको बताए । सिँचाइ डिभिजन कार्यालय सल्यानले एक करोड ६३ लाख लगानीमा सिँचाइ योजना सम्पन्न भएको जनाएको छ ।


डिभिजन प्रमुख अखलाक अहमद सिद्दिकीले योजनामा स्थानीयले श्रमदानसहित ४४ लाख खर्चिएको बताए । ‘योजनाको सुरुदेखि अन्त्यसम्मै स्थानीयवासीले श्रमदान गरे,’ उनले भने, ‘अब सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने समस्याको हल भएको छ ।’


कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले खेतीयोग्य जमिन पर्याप्त भए पनि यसअघि सिँचाइको अभावमा धेरै जग्गा बाँझो रहने गरेको बताए । ‘सिँचाइ सुविधासँगै उत्पादित भएको उत्पादनले किसानलाई मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानबाट रोक्नेछ,’ उनले भने, ‘तरकारी खेतीका लागि गाउँपालिकाबाट विभिन्न योजना ल्याएर स्थानीयको जीवनस्तर सुधार्न पहल गरिनेछ ।’

प्रकाशित : वैशाख २५, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?