कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटनमा पाइनै छाड्यो यार्चा

‘जलवायु परिवर्तनको असर र फोहोरका कारण यार्चाले अनुकूल मौसम पाएन’

मुगु/रुकुम/जुम्ला — दशकअघिसम्म मुगुगाउँ वरपरका क्षेत्रमा सजिलै पाइने यार्चा अहिले सानोकोइकी, ठूलोकोइकी र रिमार टाँकेलगायत वन क्षेत्रमा मात्र पाइन्छ । मुगु, डोल्फु र महगाउँ आसपास पाइने यार्चा टिप्न अहिले दुई दिन हिंडेर जानुपर्ने बाध्यता छ ।

पाटनमा पाइनै छाड्यो यार्चा

‘केही वर्षअघिसम्म गाउँ वरपर चौंरी चराउँदै यार्चा टिप्ने गथ्र्यौं, अब हिमालकै चुचुरोमा पुग्नुपर्ने भयो,’ मुगुगाउँका छोर्तेन तामाङले भने, ‘हरेक वर्ष यार्चा माथि सर्दै जान थालेको छ, यही अवस्थाले यार्चा लोप हुन्छ कि भन्ने चिन्ता छ ।’

दशकअघिसम्म समुद्री सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा पाइने यार्चा अहिले ५ हजार ५ सयदेखि ५ हजार ६ सय मिटरको उचाइमा मात्र पाइन्छ । यार्चा जानकार रामकृष्ण बुडथापा हिमालतिर यार्चा सर्दै जान थालेको बताउँछन् ।

यही कारण जुम्लाका पाटन क्षेत्रमा पाइने यार्चा लोप भएको उनको भनाइ छ । जलवायु परिवर्तनको असर र पाटनमा बढ्दो फोहोरका कारण यार्चाले अनुकूल मौसम नपाएको उनले बताए ।जिल्ला वन कार्यालय मुगुका अनुसार पाँच वर्षअघि बर्सेनि ४० किलो बढी यार्चा संकलन हुने गरेको थियो । तीन वर्षयता १५ देखि २० किलोमात्र यार्चा संकलन हुने गरेको छ । मुगुका पाटनमा २०५६ देखि यार्चा संकलन सुरु भएको थियो । ‘यार्चाको प्रजनन प्रक्रिया माथि सर्दै जान थालेको छ,’ वन अधिकृत प्रेमशंकर चौधरीले भने, ‘यार्चा सर्दै जाँदा उत्पादनमा समेत कमी आएको छ ।’

संकलकलाई सास्ती
मुगुका उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातले स्थानीयलाई यार्चा संकलनमा कठिनाइ भएको छ । केही दिनयता मौसम परिवर्तनसँगै यार्चा उम्रिने उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा हुन थालेपछि बन्दोबस्तीका सामान बोकेर पाटन उक्लिएका स्थानीयलाई सास्ती भएको हो ।यार्चा पाइने क्षेत्र रिमार, टाके, सानोकोइकी, ठूलोकोइकी, हाङदाङ खोलालगायत ठाउँमा भारी हिमपात भएपछि यार्चा संकलक चिन्तित भएका छन् । हिमपात र वर्षा हुन थालेपछि यार्चा टिप्न मुस्किल हुने मुगमकार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा लामाले बताए । हिमपात र वर्षासँगै हावाहुरीले यार्चा टिप्न हिमालतिर उक्लिँदा जोखिम हुने उनको भनाइ छ ।

मुगमकार्मारोङ गाउँपालिकाले जेठ ५ देखि स्थानीयलाई यार्चा टिप्न पाटन प्रवेश अनुमति दिने भएको छ । हिमपात र वर्षाले जिल्ला बाहिरबाट भारी बोकेर यार्चा टिप्न आएका स्थानीयलाई थप सास्ती भएको छ । जुम्लाका हर्कबहादुर बुढाले हिमपात भएपछि यार्चा संकलनबारे अन्योल भएको बताए ।

जुम्ला सकेर मुगु–डोल्पातिर
जुम्लाको पाटनमा यार्चा संकलन गरिसकेपछि स्थानीय मुगु र डोल्पाका पाटनतर्फ लागेका छन् । मुगु र डोल्पामा निश्चित समयमात्रै पाटन खुल्ने भए पनि जुम्लामा समय तोकिएको छैन । यहाँ वैशाख पहिलो साता नै संकलन सुरु गरिन्छ । जेठको दोस्रो साताबाट स्थानीय मुगु तथा डोल्पामा यार्चा संकलन गर्न जाने गरेका छन् ।यहाँको साझा पाटन, तातोपानी गाउँपालिकाको माझपाटन, चन्दननाथ नगरपालिकाको कार्तिकस्वामी, वारा पाटन, तातोपानी गाउँपालिकाको ताम्तीमा यार्चा पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यहाँका पाटनमा ८० किलोसम्म यार्चा संकलन तथा निकासी जारी हुने गरेको सहायक वन अधिकृत भरत बुडथापाले बताए । ‘जुम्लाको पाटनमा यार्चा टिप्ने कुनै नियम र निश्चित समयावधि छैन,’ उनले भने, ‘यार्चा निकासी गर्दा संकलन पुर्जी र निकासी पुर्जी व्यापारीले लिने गरेका छन् ।’

सम्बन्धित गाउँपालिकाका स्थानीयले मात्रै आफ्नो पाटनमा यार्चा संकलन गर्ने गरेका छन् । यहाँ पहिला जाने संकलकले यार्चा संकलन गर्ने गरेका छन् । पातारासी गाउँपालिकाका सूर्य बुढाले अहिले जुम्लाका पाटनमा यार्चा संकलन सकिएको बताए । जुम्लाका पाटनमा प्रशस्त यार्चागुम्बा नपाइने भएकाले जुम्ली अन्य जिल्लाका पाटनमा जाने गरेका हुन् । जुम्लामा पाटन व्यवस्थित नभएकाले बर्सेनि कति संकलकले यार्चा टिप्छन् भन्नेबारे तथ्यांक छैन ।

जिल्ला वनले यार्चा निकासी तथा संकलन पुर्जीका लागि प्रतिकिलो १० हजार रुपैयाँ राजस्व संकलन गर्नेे गरेको छ । पाटनमा यार्चा धेरै नपाउँदा संकलनका लागि कुनै नियम नबनाएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनका अनुसार खुला पाटन क्षेत्र भएकाले निश्चित नियम र समय तोक्न समस्या छ ।

प्रकाशित : वैशाख २९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?