पानी भर्न रातदिनै कुवामा

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–१३, कुदुकी जयकला बस्नेत पिउने पानीका लागि रातभर कुवामा पालो कुर्छिन् । सोही ठाउँकी विश्वा गिरी र देवी खत्रीको पनि कुवामै बास हुन्छ । गाउँदेखि दुई किमिको दूरीमा रहेको कुवामा पानी सँगालेर बर्तन भर्न उनीहरू रातभर कुवामा जाग्राम बस्छन् ।

कुवामा पानी भर्दै जाजरकोटको भेरी नगरपालिका १३, कुदुकी महिला । तस्बिर : भीमबहादुर

गाउँभरको पानीको स्रोत एउटै कुवा । त्यही पनि सुक्न थालेपछि उनीहरू खानेपानीको जोहो गर्न रातदिनै कुवामा धाउन बाध्य छन् । बस्नेत, गिरी र खत्री मात्र हैन । उनीहरूजस्तै सयौं महिला कुवाको पानी संकलन गर्न पालो कुर्छन् । वर्षौंदेखि कुदुका आठ सय घरपरिवारलाई खानेपानीको संकट हुँदै आएको छ ।

गाउँ नजिक पानीको स्रोत नहुँदा कुदुका बासिन्दा शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । वर्षौंदेखि शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका बासिन्दा भेरी नदीको धमिलो तथा दूषित पानी पिउन बाध्य छन् । उनीहरूलाई आधा घण्टा टाढाको कुवा र एक घण्टा टाढाको भेरी नदीबाट पिउने पानी नबोकी सुखै छैन । गर्मी तथा सुक्खा मौसमसँगै कुवामा पानी सुकेपछि कुदुबवसी भेरी नदीको धमिलो पानी पिउन बाध्य भएका हुन् ।

कुवाबाट शुद्ध पानी संकलन गरेर ल्याउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको बस्नेतले बताइन् । ‘त्यो पनि पालोमा बसेर मात्र पानी पाउने अवसर मिल्छ,’ उनले भनिन्, ‘भेरी नदीको किनारामा समेत पानीका लागि स्थानीयको लस्कर लाग्ने गरेको छ ।’ कुवामा पानी घटेपछि पिउने पानी र सरसफाइका लागि भेरी नदीको किनारामा ध्याउनुको विकल्प नभएको उनले बताइन् ।

खडेरीले कुवाको मूल सुक्दा झन् समस्या भएको बस्नेतको भनाइ छ । ‘भाँडाबर्तन लिएर पानी संकलनका लागि कुवाको पिंधसम्मै पुग्नुपर्छ, रातदिनै कुवामा पानी संकलन गर्नेको भीडभाड हुन्छ,’ उनले भनिन्, ‘समय जति पानी ओसारपसारमै खेर जान्छ, अन्य काम कति बेला गर्ने ? जतिबेला पनि भेरी किनारामै जानुपर्छ ।’ भेरी नदीको धमिलो र दूषित पानीको प्रयोगले यहाँका स्थानीयमा झाडापखाला, आउँ, खटिरालगायत रोगको संक्रमण समेत देखा पर्ने गरेको छ ।

यस क्षेत्रमा रहेका स्वास्थ्य, कृषि, पशु, विद्यालयलगायत दर्जन संघसंस्थामा कार्यरत कर्मचारी र विद्यार्थीलाई पिउने तथा सरसफाइ गर्ने पानीको झनै समस्या छ । सडक निर्माण विस्तारसँगै बढदो जनघनत्व भएको कुदुगाउँमा खानेपानी आपूर्तिको उचित व्यवस्थापन हुन सकेको छैन । स्थानीयलगायत निर्वाचनमा नेताहरूले भोट माग्दा कुदुमा एक घर, एक धाराको व्यवस्था गर्ने भने पनि सो नभएको स्थानीय नीरज आचार्यले बताए ।

कुनै पनि संघसंस्था, सरकारी निकाय र राजनीतिक नेता कसैले पनि खानेपानी योजना नपारेको आचार्यको भनाइ छ । विभिन्न निकायमा पटकपटक माग गरे पनि कसैले सम्बोधन नगरेको आचार्यले बताए । राजमार्ग किनारमा रहेको यस बस्तीमा खानेपानीका लागि कसैको ध्यान पुग्न नसकेको उनले जनाए । स्रोत अभावमा कुदुका बासिन्दालाई पिउने पानीको समस्या भएको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन प्रमुख महेशी महतोको बताए ।

जनसंख्याको चापका कारण कम स्रोतबाट खानेपानी पुर्‍याउन नसकिने उनले बताए । कुदु क्षेत्रलाई खानेपानीको व्यवस्था गर्न पाँच करोड लागतको योजना स्वीकृत भएको तर कार्यान्वयनको प्रक्रियामा ढिलासुस्ती भएको प्रमुख महतोले बताए । आठ किलोमिटर टाढाको मुहानबाट उक्त योजनाको सर्भे डिजाइन कार्य पूरा भैसकेको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लिफ्ट प्रविधि मार्फत खानेपानी

हरि गौतम

रुकुम (पश्चिम) — चौरजहारी नगरपालिका–११, नेप्टेकाँडा गाउँमा ७ सय ८० मिटर तलको ठूलाखोला घारीटाकुरा मुहानबाट लिफ्ट प्रविधि मार्फत खानेपानी तानिएको छ । लिफ्टबाट २ सय ९१ भर्टिकलमा पानी तानिएको हो । नेप्टेकाँडाका ५२ घरधुरीमा चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ ।

६२ वर्षीया पवित्री ओलीलाई तीनदेखि घर छाड्नुपरेको छैन । त्यसअघिको बाध्यात्मक दैनिकीबाट ओली अलग्गिएकी छन् । दैनिक कार्य सूचीमध्येको हरेक दिन बिहान साढे २ घण्टा हिँडेर पिठ्युँमा खानेपानी पानी बोक्नुपर्ने काम टाढा भएपछि उनले घर छाड्नु नपरेको हो ।

सोही ठाउँका ६७ वर्षीय नन्दराम ओलीले पनि दैनिक पिठ्युँमा पानी बोक्नुपर्ने सूची हटाइसकेका छन् । घरदेखि झन्डै एक किमि ओरालो झरेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता टाढा भएपछि उनलाई सुखको महसुस भएको छ । नयाँ प्रविधिले नेप्टेकाँडामा खुसी ल्याइदिएको छ । ‘परापूर्वकालदेखि बोकेरै पानी खायौं, बोकेरै बस्तुभाउलाई खुवायौं,’ ओलीले भनिन्, ‘अब भने गाउँमै पानी आयो खुसीको सीमै छैन ।’

बाजेबराजुको पालादेखि नै तलबाट पानी बोकेरै ल्याउने गरेको उनको भनाइ छ । मान्छेले पिउनेदेखि गाईभैंसीका लागि पनि पिठ्युँमै बोकेर खुवाउने गरेका थिए नेप्टेकाँडावासीले । ‘हाम्रै पालामा यस्तो हुन्छ भन्ने सोचेकै थिएन, तलबाट माथितिर पानी आउने रै’छ,’ नन्दरामले भने, ‘हामी र हाम्रा छोरासम्मले पानीकै लागि ठूलो दु:ख पायौं, नातिपनातिका पालादेखि सजिलो हुने भयो ।’

हरेक वर्षका ८ महिना नेप्टेकाँडावासीका लागि आधा दिन पानी भर्नमै जान्थे । साउनदेखि असोजसम्म गाउँमै पानी पाइने भए पनि काक्तिकदेखि असार मसान्तसम्म भने उनीहरूले पिठ्युँमै पानी बोकेर आफू तथा बस्तुभाउलाई खुवाउने, लत्ताकपडा धुने, नुहाउने गर्नुपथ्र्यो । गाउँभन्दा माथि पानीको मुहान नभएकै कारण नेप्टेकाँडावासीले हरेक वर्ष दु:ख पाउँदै आए । पछिल्लो समय प्रयोग बढदै गएको लिफ्ट प्रविधिले अब नेप्टेकाँडामा बाह्रै महिना पानी आइरहने बनाएको छ ।

४० लाखभन्दा बढीमा गाउँमा पानी पुगेको ठूलाखोला घारीटाकुरा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष बिर्खबहादुर ओलीले बताए । उनका अनुसार ३५ लाखमा लिफ्टका लागि आवश्यक सामग्री मात्रै खरिद गरिएकाले श्रमदान, पानी ट्यांकी निर्माण, सामग्री तथा बालुवा, गिट्टी ढुवानी सबै गरेर ४० लाख रुपैयाँभन्दा बढी नै खच भएको छ । एक घण्टा ओरालो हिँडेर गाग्रीमा पानी भरी उकालोमा डेढ घण्टा हिँड्नुपर्ने बाध्यता हटेकामा धेरै खुसी मिलेको भनाइ उनको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT