कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी एजेन्डा अलपत्र

विप्लव महर्जन

सल्यान — स्थानीय तह निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न आकर्षक चुनावी एजेन्डा बाँडेका उम्मेदवारले चुनाव जितेपछि भने ती एजेन्डा कार्यान्वयनमा बेवास्ता गरेका छन् । निर्वाचन सकिएको एक वर्ष बित्दासमेत अधिकांश एजेन्डा अलपत्र छन् ।

चुनावी एजेन्डा अलपत्र

जनप्रतिनिधिले उम्मेदवारीको क्रममा गाउँगाउँमा सडक सञ्जाल विस्तार, विद्युतीकरण, बैंकका शाखा स्थापना, इन्टरनेट सेवा विस्तार, शिक्षा र स्वास्थ्यको सहज पहुँचलगायतका एजेन्डा प्रस्तुत गरेका थिए । ‘सिंहदरबारको अधिकार’ गाउँमा पुर्‍याउने भन्दै मत मागेका जनप्रतिनिधिले अहिलेसम्म आफ्ना वाचा पूरा नगरेको स्थानीयवासीको आरोप छ ।


स्थानीयलाई अहिले पनि अधिकांश सरकारी कामकाजका लागि सदरमुकाम जानुपर्ने बाध्यता छ । अधिकांश पूर्वाधारको विकासमा जानप्रतिनिधिले बेवास्ता गरेको स्थानीयको भनाइ छ । १० स्थानीय तहमध्ये अहिलेसम्म दुई नगरपालिका र दुई गाउँपालिकामा मात्र बैंकको सुविधा छ ।


चार गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सुविधा छैन । सडक निर्माणलाई अधिकांश स्थानीय तहले प्राथमिकता दिए पनि अन्य पूर्वाधार विकासमा अझै समस्या भएको स्थानीयको भनाइ छ ।


कर्मचारी अभावले पूर्ण रूपमा कामकाज सञ्चालनमा समस्या भएको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘स्थानीयलाई दिएको वाचाअनुसार छिट्टै स्थानीय स्तरमै सेवा दिने प्रयत्नमा छौं,’ उनले भने ।


सरकारी बजेटको आर्थिक कारोबारलाई मितव्ययी र पारदर्शी बनाउन सबै स्थानीय तहले सार्वजनिक सुनुवाइको अवधारणालाई अगाडि बढाएको जनाएका छन् । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरभित्रका १५ वडामै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेर पारदर्शिता कायम गरिएको जनाए ।


७५ प्रतिशत बजेट खर्च
यहाँका १० स्थानीय तहले बजेटको ७५ प्रतिशत खर्च गरेका छन् । सबैभन्दा बढी शारदा नगरपालिकाले ८५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहमा एक अर्ब ६० करोड विकास बजेट विनियोजन गरिएको थियो । शारदा नगरपालिकाले नगरपालिकाले निर्माण तथा अन्य काममा ७० प्रतिशत भुक्तानी गरिसकेको जनाएको छ । यहाँका तीन नगरपालिका तथा सात गाउँपालिकाले अधिकांश विकास योजनाको काम अन्तिम चरणमा रहेको जनाएका छन् । ४२ करोड बजेट रहेको शारदा नगरपालिकामा तीन सयभन्दा बढी योजना सम्पन्न भइसकेको नगरप्रमुख सुरेश अधिकारीले बताए । ‘झन्डै चार सय योजना छनोट गरिएकामा ५० योजना मात्र निर्माण सम्पन्न हुन बाँकी छन्,’ उनले भने, ‘कामको तीव्रतालाई हेर्दा असार २५ सम्म ९५ प्रतिशत बढी काम सम्पन्न हुने देखिन्छ ।’ उनका अनुसार नगरपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छ ।


२२ करोड बजेट विनियोजन गरिएको बाग्चौर नगरपालिकाले ७० प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ । नगरपालिकाले तीन सय ५० वटा योजना पारित गरेको थियो । विनियोजन गरेको २५ करोडमध्ये ८० प्रतिशत काम सम्पन्न भएको बन्गाड कुपिन्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताए । उनका अनुसार सडकका ८८ योजना सम्पन्न भइसकेका छन् ।


दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले १४ करोड १९ लाख विकास बजेटमध्ये ७० प्रतिशत काम सम्पन्न भइसकेको बताए । चार सय आठ योजना गाउँसभाबाट पारित भएका थिए । २३ करोड ९१ लाख विनियोजन गरिएकोमा ७५ प्रतिशत काम सम्पन्न भैसकेको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले १२ करोड विकास बजेटमध्ये ६० प्रतिशत काम सम्पन्न भैसकेको बताए । उनका अनुसार ५० प्रतिशत रकम भुक्तानी भइसकेको छ ।


सडक, खानेपानी र तटबन्धलाई बढी प्राथमिकता दिइएको उनको भनाइ छ । ढोडचौर गाउँपालिका अध्यक्ष मानबहादुर चलाउनेले चालु आवमा १० करोड बजेट विनियोजन गरिएको र एक सय ७० योजना तर्जुमा गरिएको बताए । उनका अनुसार ८० प्रतिशत काम सम्पन्न भइसकेका छन् । उनले खानेपानी र विद्युत्बाहेक सबै योजना सम्पन्न हुने क्रममा छन् ।


१८ करोड रकम विनियोजन गरिएको कालिमाटी गाउँपालिकामा ४ सय योजना छनोट गरिएको थियो । त्यसमध्ये ८० प्रतिशत सम्पन्न भैसकेको र ६० प्रतिशतले भुक्तानी लगिसकेको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । छत्रेश्वरी गाउँपालिकाले पनि ७० प्रतिशत काम गरेको प्रमुख कार्यकारी अधिकृत डिल्ली खड्काले बताए । उक्त बजेटअन्तर्गत ४० प्रतिशत रकम भुक्तानी भैसकेको उनले बताए ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?