कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोटमा मदिरा विरुद्धको अभियान

गाउँमा विप्लव र सदरमुकाममा प्रशासन

कालिकोट — मदिराविरुद्ध गाउँ र सदरमुकाम एकसाथ फरक अभियान सञ्चालन भएको छ । सदरमुकाम मान्ममा जिल्ला प्रशासनको अगुवाइमा प्रहरीले अवैध घरेलु मदिरा जफत गरी नष्ट गर्ने अभियान सुरु गरेको छ ।

कालिकोटमा मदिरा विरुद्धको अभियान

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गाडीमा आएको पक्की मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

सदरमुकाम मान्म बजारका प्रत्येक होटल र व्यक्तिका कोठा शुक्रबार बिहान खानतलासी गरेर प्रहरीले १ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको प्रजिअ चन्द्रनाथ गौतमले बताए । उनले गृह मन्त्रालयको आदेशअनुसार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको दाबी गरे । यहाँको जिरो पोइन्ट, बीच बजार, तल्लो बजार, प्रतिमाचोक लगायतका बजार क्षेत्रबाट उत्पादन गरेको र मदिरा बनाउन राखिएको पास (कच्चा पदार्थ) नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहराले बताए । उनले मदिरा सेवन गरिरहेका १३ जनालाई नियन्त्रणमा लिएको पनि सुनाए ।

नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरूको सहभागितामा आयोजित मदिरा नियन्त्रणसम्बन्धी अन्तक्र्रियामा अवैध मदिरा नियन्त्रण गर्ने प्रतिबद्धताअनुसार प्रहरी प्रशासनले मान्म बजारका होटलमा छापा मारेको थियो । आयस्रोतको विकल्प नभएका विपन्न महिलाको घरेलुु मदिरा र भाँडाकुँडा नियन्त्रणमा लिएर दु:ख दिएको स्थानीयको गुनासो छ । ‘आम्दानीको अन्य स्रोत केही छैन,’ मान्म बजारकी गंगा शाहीले गुनासो पोखिन्, ‘प्रहरीले दु:ख दिन थाले, कसरी पेट पाल्ने ?’ उनले लुकाएको रक्सी पनि खोजेर लगेको गुनासो पोखिन् ।तीन महिनाअघि पत्रकार सम्मेलन गरेर मदिराविरुद्ध अभियान चलाउने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कर्णाली राजमार्ग हुँदै आउने गाडीमा छापा मारेर लाखौंको पक्की रक्सी नष्ट गरेका छन् । कर्णाली राजमार्गको दैखोलामा मान्मका व्यवसायी राना स्टोर्स र राप्ती स्टोरको १० लाख मूल्यको मदिरा नष्ट गरे ।

नेकपा नेता मनिलाल ऐडीका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा नियन्त्रण गर्ने घोषणा कालिकोटको प्रहरी प्रशासनले पूरा नगरेकाले आफूनिकट युवा स्वयंसेवक दलले नियन्त्रणमा लिएर नष्ट गरेको दाबी गरे । उनले लालीघाट, जिते, सान्नीघाट, भुराबगरलगायतका बजार क्षेत्रका व्यापारीबाट मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको सुनाए । मदिरा नियन्त्रण गर्ने राज्यको कामलाई सहयोग गर्दा पनि शुक्रबार भर्ता छातीका युवा भरत सुनारलाई प्रहरीले पक्राउ गरेको बताउँदै तत्काल रिहा नगरे त्यसको परिणाम प्रहरी प्रशासनले भोग्नुपर्ने चेतावनी दिए ।

अवैध घरेलु मदिरा नियन्त्रण गर्ने भए पनि राजस्व तिरेर ल्याएको वैध मदिरा नष्ट गरेर विप्लवका कार्यकर्ताले अराजकता मच्चाएको प्रशासनको भनाइ छ ।

राज्यले निषेध नगरेको पक्की मदिरा नियन्त्रणमा लिएर गैरकानुनी काम गरेकाले एक जना पक्राउ गरिएको प्रजिअ गौतमले बताए । कालिकोटको पलाता गाउँपालिकाको एक वर्षदेखि मदिरा निषेधित घोषणा गरेर कार्यान्वयन भएको छ । अन्य पालिकामा मदिराको बिक्रीवितरण खुला छ । पलातामा मदिरा निषेध गर्दा महिला हिंसामा कमी आएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?