कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय भवन अलपत्र

दैलेख — ठेकेदारको लापरवाहीका कारण गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । १२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठनपाठनमा समस्या भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरि भवन निर्माण सुरु गरिएको थियो ।

विद्यालय भवन अलपत्र

भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएको भवनको ढलानमात्र पुरा भएको छ । खानी निर्माण सेवा, बानेश्वर काठमाडौंले ठेक्का लिएको भवन अझै निर्माणाधीन अवस्थामा छ । ठेकेदार कम्पनीकै लापरवाहीले निर्माणमा ढिलाई भएको हो । ठेकेदार पक्षले भने जिल्ला समन्वय समितिले भुक्तानी नदिदा ढिलाई भएको दाबी गरेको छ । भवन निर्माणको प्राविधिक जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ ।


जिससका नायब सुब्बा पूर्णबहादुर योगीले ठेकेदारले निर्माणमा ढिलाइ र गुणस्तरहीन काम गरेकाले भारतीय दूतावासले रकम निकासामा ढिलाइ गरेको बताए । उनका अनुसार काम सम्पन्न गरेको कागतजात उपलब्ध भए मात्र दूतावासले रकम उपलब्ध गराउने जनाएको छ । भारतीय दूतावासको तीन करोड ८४ लाख सहयोगमा भवन निर्माण सुरु गरिएको थियो । भवन निर्माणमा ढिलाइ हुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए ।


उनका अनुसार भवन निर्माण अपूरो भएपछि दूताबासले केही रकम निकासा दिएको छैन । काम सम्पन्न भएपछि मात्र दुतावासले रकम निकासा हुने जनाएको उनको भनाइ छ । ‘ठेकेदार पक्षले रकम निकासा नभएकाले निर्माणमा ढिलाइ भएको जनाएको छ, दूतावासले पुरै सकेपछि मात्र रकम दिने जनाएकाले निर्माणमा समस्या भएको हो,’ उनले भने ।


विद्यालयका शिक्षक खगेन्द्र खत्रीका अनुसार पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि दूताबासलाई सहयोग मागिएको थियो । पठनपाठन भइरहेको भवनसमेत जीर्ण भएकाले समस्या भएको उनले जनाए । ‘पुरानो भवन जीर्ण भएकाले विद्यार्थी बस्नै मान्दैनन्,’ उनले भने, ‘त्यसैले कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई ९ वटा कोठामा कोचाकोच गरेर पठनपाठन गराइरहेका छौं ।’

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?