कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनीचाँदेमा केन्द्र विवादले बखेडा

जनप्रतिनिधिका बीचमा लुहादह वा स्यानाखोलामध्ये कुनलाई प्रशासनिक केन्द्र तोक्ने भन्नेमा चर्काचर्की
दुवै पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि केन्द्र निर्धारणको निर्णयमा ढिलाइ
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगाउन सकेको छैन । जनप्रतिनिधिबीच लामो समयदेखि विवाद भएपछि केन्द्र तोक्न समस्या भएको हो ।

जुनीचाँदेमा केन्द्र विवादले बखेडा

जुनीचाँदेका जनप्रतिनिधिबीच लुहादह वा स्यानाखोलामध्ये कुनलाई प्रशासनिक केन्द्र तोक्ने भन्ने विवाद चर्किएको छ । गाउँपालिका अध्यक्षपक्षले लुहादहलाई र अन्य केही वडा अध्यक्षले स्यानाखोलालाई केन्द्र बनाउन लबिङ गर्दा विवाद भएको हो । दुवै पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि केन्द्र निर्धारणको निर्णय ढिलाइ भएको हो । निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना बितिसकेपछि दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।


‘सर्वसहमति नजुटे पनि ६ महिनाअघि सामान्य बहुमतले निर्णय गर्न सकिन्थ्यो । तर माथिल्ला तहका नेताले प्रदेश तथा संघको निर्वाचनका बेला मतदाता प्रभावित हुन्छन् भन्दै गर्न दिएनन्,’ गाउँपालिका अध्यक्ष कृष्ण केसीले भने, ‘अहिले गाउँसभाको दुई तिहाइ बहुमत जुटाउन कठिन भएको छ ।’


सरकारले जुनीचाँदे गाउँपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको थियो । ११ वडा रहेको गाउँपालिकामा चार/चार वडा तत्कालीन एमाले र माओवादी केन्द्रले र नेपाली कांग्रेसले ३ वटा वडामा जितेको छ । उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पनि दुवै तत्कालीन माओवादी केन्द्रले नै जितेको छ । जुनीचाँदेका वडाध्यक्ष केन्द्र तोक्ने विषयमा एकमत हुन नसकेपछि समस्या भएको केसीले बताए ।


गाउँपालिकाको केन्द्र नतोक्दा वडा कार्यालय समेत स्थापना हुन नसकी विषयगत कार्यालय समेत अन्योलमा छन् । गाउँपालिकाले पूर्वाधार विकासका लागि आवश्यक बजेटसमेत विनियोजन गर्न सकेको छैन । विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आएका छन् । विवादका कारण पुँजीगततर्फको बजेटसमेत खर्च हुन सकेको छैन । वैशाख मसान्तसम्म ४० प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले बताइन् ।


अबको १/२ दिनमै गाउँपालिकाको केन्द्र लुहादहलाई नै तोकिने उपाध्यक्ष आचार्यले बताइन् । लुहादह केन्द्र तोक्ने विषयमा अन्तिम सहमति जुटेको उनले बताइन् । २/३ जना वडाअध्यक्षबाहेकको एकमत भएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?