कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कनिष्ठलाई प्रमुखको जिम्मेवारी

भीमबहादुर सिंह

जाजरकोट — शिक्षा मन्त्रालयले राजनीतिक दबाबमा कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकेर सरुवा गरेको छ ।

कनिष्ठलाई प्रमुखको जिम्मेवारी

मन्त्रालयले ज्येष्ठ, कार्य सम्पादन, दक्षतालगायत मापदण्ड लत्याउँदै नेताका आसेपासेलाई प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।

मन्त्रालयले शिक्षामन्त्री गिरिराजमणि पोख्रेल तथा पहुँचवाला नेताको नजिकका व्यक्तिलाई शिक्षा विकास समन्वय इकाई प्रमुख बनाएर पठाएको छ । मन्त्रालयले गत बुधबार उपसचिव, शाखा अधिकृत र विद्यालय निरीक्षक गरी एक सय ३९ कर्मचारीको सरुवा तथा काज सरुवा गरेको छ । उक्त सरुवाको क्रममा सिनियरलाई जुनियरको मातहतमा काम गर्ने गरी प्रमुख बनाएको पाइएको हो । राजनीतिक पहुँचका आधारमा यसै वर्ष विद्यालय निरीक्षकमा बढुवा भएका वर्षबहादुर फडेरालाई शिक्षा विकास तथा समन्वय इकाई हुम्लाको प्रमुख बनाइएको छ ।

त्यस्तै, शाखा अधिकृत मानबहादुर गिरीलाई पाखा लगाउँदै ३र४ वर्ष जुनियर विद्यालय निरीक्षक सुधिनराज बुढाथोकीलाई शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटमा प्रमुखको जिम्मेवारी दिएको छ । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । उनीहरू जस्तै मन्त्रालयले हचुवाको भरमा जाजरकोट, हुम्ला लगायत ३६ जिल्लाका शाखा अधिकृत तथा विद्यालय निरीक्षकलाई निजामती सेवा ऐन विपरित जुनियरलाई इकाई प्रमुखमा खटाएको छ ।

मन्त्रालयले पहुँचवाला उपसचिवलाई पनि समन्वय इकाईको प्रमुख बनाएको छ । राजनीतिक पहुँच नहुनेलाई शिक्षा विभाग, शैक्षिक तालिम केन्द्रलगायत कार्यालयमा सरुवा गरेको छ । सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी हुने जिल्लामा उपसचिव स्तरका इकाई प्रमुख र उपसचिव स्तरको प्रजिअ हुने जिल्लामा शाखा अधिकृत इकाई प्रमुख हुने प्रावधान छ । जिल्ला शिक्षा कार्यालय खारेज भएपछि यस्तो प्रावधान राखिएको शाखा अधिकृत गिरीले बताए ।

‘जाजरकोटमा शाखा अधिकृतका रूपमा कामकाज गर्दै आएको ५/६ वर्ष बित्यो । तर मन्त्रालयले प्रमुख जिम्मेवारी नदिएर जुनियरलाई प्रमुख बनाएर अन्याय गरेको छ,’ गिरीले भने, ‘जाजरकोट इकाईमा एक जना मात्र शाखा अधिकृतको मात्र दरबन्दी रहेको छ । मलाई अन्यत्र सरुवा पनि गरेको छैन, कुन ठाउँमा रहेर काम गर्ने भन्ने अन्योल भएको छ ।’ उनका अनुसार स्थानीय भएको नाताले पनि मैले प्रमुखको जिम्मेवारी पाउनुपर्ने हो ।

प्रकाशित : जेष्ठ १३, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?