कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहज बन्दै उपचार

प्रहरी इकाई भवनविहीन

सल्यान — शारदा नगरपालिका–११, पेदीखोलामा इकाई स्वास्थ्यचौकी स्थापना गरिएको छ । नगरपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि शारदा नगरपालिकाका दुई वडा, त्रिवेणी गाउँपालिकाको अरिंगालेपेदी र कालीमाटी गाउँपालिकाको सातलखोलाका स्थानीयवासीलाई उपचारमा सजिलो भएको छ ।

सहज बन्दै उपचार

स्वास्थ्यचौकी तथा गाउँसम्म सडक पुगेकाले एम्बुलेन्स आउजाउ गर्नसमेत सजिलो छ । यसअघि स्वास्थ्यचौकी धेरै टाढा भएकाले बिरामीलाई उपचारका लागि लैजान सास्ती हुने गरेको थियो ।

स्थानीय आइती बुढाले यसअघि समयमै उपचार पाउन समस्या हुने गरेको बताइन् । उनले इकाई स्वास्थ्यचौकी स्थापना भएपछि बालबालिकालाई खोप लगाउन, गर्भवती जाँच गराउन अप्ठेरो नपरेको बताइन् । शारदा नगरपालिका ११ पेदीखोलाकी ६५ वर्षीया मेघु बुढाथोकीले अहिले उपचारमा सहजता आएको बताइन् ।

अहेव सुकलाल रोकाले स्वास्थ्यचौकी सञ्चालन गरेपछि सातामा एक सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । ‘स्वास्थ्यचौकीमा उपचार गराउन आएकालाई विभिन्न रोगबारे बच्ने उपाय र सरसफाइबारे समेत सल्लाह दिने गरेका छौं,’ उनले भने, ‘गर्मीका कारण बिरामीको संख्या बढ्दै गएको छ । यसअघि नजिकै स्वास्थ्यचौकी नहुँदा बालबालिका, महिला र वृद्धलाई उपचारमा सास्ती हुने गरेको थियो ।’ उनका अनुसार स्थानीयवासीलाई हिवल्चाको स्वास्थ्यचौकी तथा श्रीनगरका मेडिकलमा उपचारका लागि जानुपर्ने बाध्यता थियो ।

स्वास्थ्यसेवामा स्थानीयको पहुँच पुर्‍याउन इकाई स्वास्थ्यचौकी स्थापना गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनले नगरका पाँच स्थानमा इकाई स्वास्थ्यचौकी सञ्चालन गरेको जनाए ।

भाडामा वार्षिक १५ लाख खर्च
जाजरकोट– जिल्लाका २१ वटा प्रहरी इकाई कार्यालय भवनविहीन छन् । सम्बन्धित निकायले भवन निर्माणका लागि बजेट विनियोजन नगर्दा प्रहरी इकाई भवनविहीन बनेका हुन् । विगतको १० वर्षे द्वन्द्वमा क्षतिग्रस्त अधिकांश भवनको पुनस्निर्माण नहुँदा प्रहरी भवनविहीन बनेका हुन् । सरकारी भवन नहुँदा प्रहरी इकाईहरू लाखौं भाडा तिरेर स्थानीयको घरमा कामकाज सञ्चालन गर्न बाध्य छन् । भवन नहुँदा प्रहरीले कार्यालयको लागि वार्षिक करिब १५ लाख भाडा तिर्दै आएको छ । २६ प्रहरी इकाईमध्ये ७ वटाको मात्र आफ्नै भवन छ भने बाँकी २१ इकाइ भाडाको घरमा सञ्चालन हुँदै आएका छन् ।

प्रहरी चौकी अर्छानी, इलाका प्रहरी कार्यालय बारेकोट, इलाका प्रहरी कार्यालय रिम्ना, प्रहरी चौकी सीमा, प्रहरी चौकी सक्लालगायत इकाई भवन नभएको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । कार्यालय भवन नहँुदा नियमित काम काज तथा शान्ति सुरक्षामा समेत समस्या हुने गरेको जिल्ला प्रहरी प्रमुख सिंहले बताए । दुर्गम गाउँमा कार्यालय सञ्चालन गर्न मिल्ने अवस्थाका घर पाउन कठिनाइ हुने गरेको सिंहको भनाइ छ ।

माथिल्लो निकायबाट भवन निर्माणका लागि बजेट नआउनु र कति इकाईको जग्गा नहुँदा थप समस्या भएको प्रहरीले जनाएको छ । भवन निर्माणका लागि कम्ती तीन रोपनी जग्गाको खाँचो पर्ने सिंहले जनाए । द्वन्द्वमा क्षति भएका चार दर्जन सरकारी कार्यालयमध्ये आधा प्रहरी इकाई रहेको सिंहले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दल्ली, इलाका प्रहरी कार्यालय बडावन, इलाका प्रहरी कार्यालय पञ्चला दह, प्रहरी चौकी पाँचकटीयाको मात्र भवन कार्यालय छ । प्रहरी चौकी दशेरा पैंकको भवन कच्ची अवस्थामा रहेको सिंहले बताए । कार्यालय भवन, फर्निचर, सञ्चार सामग्रीलगायत अभावले जिल्लाको शान्ति सुरक्षामा बाधा पुग्ने गरेको छ ।

त्यस्तै, जिल्लामा दरबन्दीकै एक सय प्रहरी कम हुँदा सुरक्षा चुनौती बढेको उनले बताए । चार सय ९४ प्रहरी दरबन्दीमध्ये एक सय जनाभन्दा कम छन् । तालिम, बिदा, काजलगायत कारण प्रहरी संख्या घटेको हो । ६ प्रहरी निरीक्षक दरबन्दीमा आधामा पनि कार्यरत छैनन् । भौगोलिक विकटता, जनसंख्या लगायतले जाजरकोटमा प्रहरी जनशक्ति कम रहेको सिंहको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?