कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी सवारी साधनको दुरुपयोग

राजबहादुर शाही

मुगु — यहाँका सरकारी कार्यालयका सवारी साधनको दुरुपयोग भएको छ । कार्यालय प्रमुख र कर्मचारीले यहाँका सरकारी कार्यालयका गाडी, मोटरसाइकल र स्कुटर बाहिर जिल्लामा राखेर प्रयोग गरिरहेका छन् ।

सरकारी सवारी साधनको दुरुपयोग

जिल्लाको सरकारी कामकाजलाई सहज बनाउन भन्दै विभिन्न मन्त्रालय र विभागले पठाएका सवारी साधनको दुरुपयोग भएको हो । प्रमुख तथा कर्मचारीले नेपालगन्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा राखेर प्रयोग गरिरहे पनि सम्बन्धित निकायले कारबाही गरेका छैनन् ।

महिला तथा बालबालिका मन्त्रालयले महिला विकास कार्यालयलाई उपलब्ध गराएको स्कुटर एक वर्षदेखि काठमाडौंमा छ । कार्यालयको स्कुटर सरुवा भएकी प्रमुख हसिना पराजुलीले काठमाडौंमै प्रयोग गरिरहेकी छन् । त्यस्तै, जिल्ला निर्वाचन कार्यालयको मोटरसाइकल सुर्खेतमा छ । कर्मचारी केही कामका लागि सुर्खेत गएका बेला चलाउने गरेका छन् । सुर्खेतबाट कर्मचारीले आसपासका जिल्लामा मोटरसाइकल प्रयोग गर्ने र फेरि सुर्खेतमै ल्याएर राख्ने गरेका छन् ।

सिँचाइ सब डिभिजन कार्यालयको मोटरसाइकल तीन वर्षदेखि कर्मचारीले काठमाडौंमै राखेर चलाउने गरेका छन् । त्यस्तै जिल्ला हुलाक कार्यालयको मोटरसाइकल नेपालगन्ज र कोहलपुरमा प्रयोग गर्ने गरिएको छ । मोटरसाइकल चलाउन जान्ने नभएकाले र कार्यालयमा राख्ने ठाउँको समस्याले सञ्चार मन्त्रालयले दिएको मोटरसाइकल कोहलपुर हुलाक कार्यालयमा राख्नुपर्ने बाध्यता भएको प्रमुख नागमल शाहीले बताए ।

जिल्लाका अधिकांश स्थानमा यातायात सुविधा भएपछि सरकारी कार्यालय प्रमुख र कर्मचारीले दुरुपयोग गर्दै आइरहेको नागरिक अगुवा बताउँछन् । २०६७ सालमा ड्रिलिपले ९७ लाखमा किनेको बा १ ग ५६३ नम्बरको निशाननोभेर गाडी दुई वर्षदेखि नेपालगन्जमै राखिएको छ । उक्त गाडीले जिल्ला समन्वय समितिका जनप्रतिनिधि, कर्मचारी तथा अन्य कार्यालय प्रमुखलाई नेपालगन्ज गएका बेला आसपासका जिल्लामा पुर्‍याउने गरेको छ ।

ड्रिलिपले उपलब्ध गराएका दुई वटा मोटरसाइकल पनि कर्मचारीले जथाभावी चलाउँदा बिग्रिएर थन्किएका छन् । ड्रिलिपको गाडी कच्ची सडकमा गुड्न नसक्ने भएकाले नेपालगन्ज विमानस्थलमा राखिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी बाबुराम भुसालले बताए । तर कर्मचारीले तराईका जिल्ला र सहरी क्षेत्रमा राखेका सवारीसाधनको इन्धनखर्च कार्यालयबाटै भुक्तानी गर्ने गरेको पाइएको छ ।

सरकारी कार्यालयलाई दिएको सवारी साधन कार्यालयको कामका लागि प्रयोग नहुनु दुरुपयोग भएको स्थानीयको भनाइ छ । कोही कार्यालय प्रमुखले मन्त्रालयले दिएको सवारी साधन आफ्नो घरमै राख्ने गरेका छन् । सरकारी सवारी साधन दुरुपयोग भएको देखिएमा पक्राउ गरि कारबाही गर्ने गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख कुशराज शाहीले बताए । उनका अनुसार दुरुपयोग भएका ८६ वटा सवारी साधन कारबाहीमा परिसकेका छन् । गाउापालिका, नगरपालिका र अन्य सरकारी कार्यालयका गाडी र मोटर साइकल कार्यालयको काम बाहेकको समयमा चलाउने क्रम बढ्दै गएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?